रुकुम पश्चिम घटनाका मृतकको सम्झनामा श्रद्धाञ्जली तथा खवरदारीसभा



फिदिम । पाँचथरको फिदिममा रुकुम पश्चिममा गत जेठ १० गते भएको घटनाका मृतकहरुप्रति श्रद्धाञ्जली ब्यक्त गर्न तथा दोषीहरुमाथि कारबाहीको माग गर्दै खवरदारीसभा सम्पन्न गरिएको छ ।

संयुक्त दलित संघर्ष समिति पाँचथरको आयोजनामा बुधवार १४औँ जातीय भेदभाव तथा छुवाछुतमुक्त राष्ट्र घोषणा दिवसको अवसरमा फिदिममा र्‍याली र श्रद्धाञ्जली तथा खवरदारी सभा सम्पन्न गरिएको हो ।

श्रद्धाञ्जली तथा खवरदारीका वक्ताहरुले रुकुम पश्चिममा गत जेठ १० गते अन्तरजातीय विवाहका नाममा भएको सामूहिक हत्याको घटनाको निश्पक्ष छानविन तथा दोषीमाथि कारबाही गर्न माग गरे ।

वक्ताहरुले संविधान तथा कानूनमा जातीय भेदभाव तथा छुवाछुतलाई गैरकानूनी र अमानवीय ठहर्‍याइएपनि भेदभाव तथा छुवाछुतका घटनाका दोषीहरुलाई कारबाही गर्न सरकार पछि हट्ने गरेको वताए ।

उनीहरुले भेदभाव तथा छुवाछुत अन्त्य गर्ने कानूनी प्रवन्धहरुको कार्यान्वयन, दलित समुदायको समुदायगत विकास तथा अन्य समुदायको पहलले मात्रै जातीय भेदभाव अन्त्य हुनेमा जोड दिए ।

वक्ताहरुले रुकुम पश्चिमको घटना भेदभाव र छुवाछुतको कुरा मात्रै नभई मानवताविरोधी अपराध रहेको भन्दै दोषीमाथि कारबाही र पीडितहरुलाई न्याय दिलाउन सबै पक्षको सहयोग रहनुपर्नेमा जोड दिए ।

बुधवार आयोजित र्‍यालीले फिदिम बजार परिक्रमा गरी गणतन्त्र चौकमा कोणसभा सम्पन्न भएको थियो । कोणसभालाई दलित समुदायका अगुवाहरु सहमान बिश्वकर्मा, उमेश हिङमाङ, टेकराज सिवा, सन्तोष सिञ्चेउरी, शेर बहादुर लोहार लगायतले सम्बोधन गरेका थिए ।

यस्तै उक्त कार्यक्रमलाई जिल्ला वार इकाईका अध्यक्ष सन्तकुमार राई, नेपाल आदिवासी जनजनति महासंघका अध्यक्ष रिन्जी शेर्पा, गैरसरकारी संस्था महासंघका अध्यक्ष नन्दकुमार नेम्वाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि पदम शंकर, नेकपा (माले)का नेता लयप्रसाद बाँस्कोटा, समाजवादी पार्टीका अध्यक्ष लक्ष्मण लावती, नेपाली काँग्रेसका सभापति नरेन्द्रकुमार केरुङ र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यालय सचिव पृथ्वी लावतीले सम्बोधन गर्दै ऐक्यवद्धता ब्यक्त गरेका थिए ।

जाजरकोटका नवराज बिकको रुकुम पश्चिमकी युवतीसँग प्रेम विवाहका लागि गएकाहरुमाथि रुकुम पश्चिमको चौरजहारीमा स्थानीयवासीबाट आक्रमण हुँदा नवराज बिक सहित गणेश बुढामगर, सन्दीप बिक, लोकेन्द्र सुनार, टीकाराम सुनार र गोबिन्द शाहीको ज्यान गएको थियो । उक्त घटनामा केटी पक्षका एक वडाध्यक्ष सहित १८ जना थुनामा छन् ।

यस्तै १४औँ जातीय भेदभाव तथा छुवाछुतमुक्त राष्ट्र घोषणा दिवसको अवसरमा विहीबार फिदिम बजारको शनिवारे स्थित ट्याङ्की धाराको सरसफाई समेत सम्पन्न गरिएको नेपाल सुनचाँदी ब्यवसायी संघका अध्यक्ष निरबहादुर धमलाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्