बुधबार २०१ सङ्क्रमित थपिए, संक्रमितको संख्या २३०० पुग्यो



फिदिम । नेपालमा बुधबार २०१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबार देशभरमा २०१ जना संक्रमित थपिएको जानकारी दिएका छन् । बुधबार थपिएकासँगै देशभर कोरोना संक्रमितको संख्या २३ सय पुगेको छ ।

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या पनि अब नौ पुगेको छ । मन्त्रालयका अनुसार कोशी अञ्चल अस्पतालमा गरिएको परीक्षण धनकुटाको सहिदभूमिका एकजना पुरुषमा संक्रमण देखिएको छ । बीपी प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीको त्रिभुजको एकजनामा पुष्टि भएको छ ।

त्यसैगरी ताप्लेजुङका ३ जना पुरुषमा पनि संक्रमण देखिएको छ । झापाका झापाका १ जना, पाँचथरका एकजनामा पनि संक्रमण देखिएको छ । सुनसरीको भोक्राहाका ७ जनामा कोरोना पुष्टि भएको छ। उनीहरु सबै क्वारेन्टाइनमा छन् ।

नारायणी अस्पताल पर्सामा गरिएको परीक्षणमा पर्साकै ७ जना संक्रमित भेटिएका छन् । सुर्खेतमा गरिएको परीक्षणमा ३ जना संक्रमित भेटिएका छन् । कोशी अस्पतालमा गरिएको परीक्षणमा ५ जना संक्रमित भेटिएका छन् ।

उनीहरुमा झापाको कमल गाउँपालिकाको क्वारेन्टाइनमा रहेका १ जना, तेह्रथुम आठराईका १ जना, सुनसरीको बराहक्षेत्रको क्वारेन्टाइनमा रहेका १ जनामा संक्रमण देखिएको छ ।

सेती अस्पताल धनगढीमा ५ जा पोजेटिभ भेटिएका छन् । जसमा कैलालीको गौरीगंगा र धनगढीका रहेका छन् । डोटीका पनि दुईजना पुरुषहरु संक्रमित रहेका छन् । उनीहरु २२ र २५ वर्षीय रहेका छन् ।

रुपन्देहीमा गरिएको परीक्षणमा ९५ जना संक्रमित भेटिएका छन्। कपिलवस्तुको मायादेवी र शुद्धोदनका ६७ जना रहेका छन् । जसमा ११ देखि ३७ वर्षीयसम्म रहेका छन् । उनीहरुमा १० जना महिला रहेका छन् ।

१ वर्षीय बालकदेखि ८० वर्षीयसम्मका छन् । रुपन्देहीमै पाल्पाका २ जना संक्रमित भेटिएका छन् । रुपन्देहीको रोहिणी र मर्चवारका २६ जनामा पनि संक्रमण भेटिएको छ ।

जनकपुरमा गरिएको परीक्षणमा ९ जनाको पाजेटिभ आएको छ । उनीहरु महोत्तरी मटियानीका रहेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १३ जनामा संक्रमण पुष्टि भएको छ । जसमा दैलेखको दुल्लु र नारायणा नगरपालिकाका ६ रहेका छन् । त्यसैगरी कालिकोटका महाबैका ७ जना रहेका छन् ।

राप्तीमा प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङसहितका ८ जनामा पुष्टि भएको छ । दाङका २ जना, प्युठानका १ जना, सल्यानका १ जनामा संक्रमण देखिएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ४२ जनामा संक्रमण देखिएको छ । धनुषाका १ जना, कपिलवस्तुका २, काठमाडौं मेडिकल कलेज र टोखाका ३ जना रहेका छन् ।

त्यसैगरी नवलपरासीको पहलीनन्दन र बर्दघाटका ८ जना रहेका छन् । रौतहटका ११ जनामा पनि पुष्टि भएको छ । रुपन्देहीको मायादेवीका १ जनामा पनि संक्रमण देखिएको छ ।

सर्लाहीको रामविलाश प्रावि र जनता मावि हर्कटवका १५ जनामा संक्रमित भएका छन् । त्यसैगरी सिन्धुपाल्चोकको इन्द्रावतीका २३ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्