
फिदिम । पाँचथरसँग सीमा जोडिएको तथा फिदिम हुँदै यात्रा हुने तेह्रथुमको आठराई गाउँपालिकामा दुई जना कोरोना भाइरस (कोभिड–१९)का सङ्क्रमित भेटिएका छन् ।
प्रदेश नं. १ को सामाजिक विकास मन्त्रालयले प्रदेश भित्र पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना सङ्क्रमण देखिएको पुष्टि गरेको छ । मन्त्रालयका अनुसार पाँच जिल्लामा एक महिला र १२ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार मोरङको रंगेली नगरपालिकामा २ जना पुरुष, झापामा एक जना पुरुष, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा ७ जना पुरुष, धनकुटाको शहीदभूमि गाउँपालिकामा एक जना पुरुष र तेह्रथुमको आठराईमा एक महिला र एक पुरुषमा संक्रमण पुष्टि भएको हो ।
विराटनगर र धरानको प्रयोगशालमा परीक्षण गर्दा १३ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहेताले जानकारी दिए ।
बुधबार थप १३ जनामा संक्रमण पुष्टि भएसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या एक सय ८५ पुगेको छ । तीमध्ये ४८ जना उपचारपछि निको भएका छन् ।