

फिदिम । कोभिड–१९ सङ्क्रमण तथा लकडाउनका कारण प्रभावित भई विदेशमा समस्यामा परेका प्रदेश नं. १ वासीलाई काठमाण्डौँमा राख्ने होल्डिङ एरिया तयार भएको छ ।
भक्तपुरमा तयार भएको होल्डिङ सेन्टरको भौतिक पूर्वाधार तथा यातायात एवम सहरी विकास मन्त्री बसन्तकुमार नेम्बाङले निरीक्षण गर्नु भएको छ । कोरोना रोकथाम तथा नियन्त्रण एवम् विदेशमा समस्यामा परेका प्रदेशवासीको उद्धार र ब्यवस्थापनका लागि प्रदेश नं. १ सरकारसँग समन्वय गर्ने जिम्मेवारीमा समेत रहनु भएका नेम्बाङले मंगलबार प्रदेश नं. १ र प्रदेश नं. २ का लागि भक्तपुरमा व्यवस्थापन गरिएका होल्डिङ सेन्टर निरीक्षण गर्नु भएको हो ।
होल्डिङ सेन्टर निरिक्षणपछि संकट ब्यवस्थापन केन्द्र भक्तपुरले आयोजना गरेको होल्डिङ सेन्टर क्षेत्र व्यवस्थापन बिफ्रिङ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री नेम्बाङले बनेका योजनाहरु सही रुपमा कार्यान्वयन भए महामारी न्यूनिकरण गर्न सकिने बताउनु भयो ।
उहाँले भन्नु “हामीले गरेका तयारीहरु ठीक छन् यसलाई सही ढंगले कार्यान्वयन गरियो भने कोरोना संक्रमण न्यूनिकरण गर्न सकिन्छ ।” मन्त्री नेम्बाङले होल्डिङ सेन्टरमा आवश्यक प्रक्रियाहरु पुरा गरि प्रदेश र स्थानीयतहसँगको समन्वयमा नागरिहरुलाई सहजता साथ सम्बन्धित क्वारेन्टिनसम्म पुर्याइने बताउनु भयो ।

मन्त्री नेम्वाङले महामारी विरुद्ध अग्रमोर्चामा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सम्बन्धित कर्मचारी र स्वयंसेवकहरुलाई उच्चमनोबलका साथ काम गर्न अग्रह गर्नु भयो । उहाँले अग्रमोर्चामा रहेर महामारी विरुद्धका लडाई लडिरहेका स्वाथ्यकर्मी, सुरक्षाकर्मी लगायतका भूमिका प्रशंसनीय रहेको समेत उल्लेख गर्नुभयो ।
जिल्ला सीसीएमसी भक्तपुर र नेपाली सेनाले प्रदेश नं. १ का लागि सूर्यविनायक नगरपालिका ५ स्थित इम्पेरिअल बैङ्क्वेट् र प्रदेश नं. २ का लागि मध्यपुरठिमी नगरपालिका ४ स्थित होटल हेरिटेज पार्टीप्यालेसलाई होल्डिङ सेन्टरको रुपमा व्यवस्थापन गरेका छन् । दुवै होल्डिङ सेन्टर एक/एक हजार क्षमता रहेको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताउनु भयो ।
कार्यक्रममा प्रमुख सेनानी शिबप्रसाद पौडेलले होल्डिङ सेन्टरको सञ्चालन, व्यवस्थापन तयारीका योजनाहरु बिफ्रिङ गर्नु भएको थियो ।कोरोना भाइरस (कोभिड–१९) विश्वव्यापी संक्रमणका कारण उत्पन्न असहज परिस्थितिका कारण स्वदेश आउनैपर्ने अवस्थामा रहेका नागरिकलाई होल्डिङ सेन्टरमा राखेर आवश्यक प्रक्रिया पुर्याई क्वारेन्टिन पठाउने सरकारको तयारी छ ।
विदेशबाट आएका नागरिकलाई नेपाली सेनाको व्यवस्थापनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थिलबाट सिधै विभिन्न स्थानमा तोकिएका होल्डिङ सेन्टरमा लगिने छ । त्यहाँ उनीहरुको स्थानीय तहगत विवरण, स्वास्थ्य स्थिति लगायतको व्यक्तिगत विवरण तयार पारिनेछ । ट्रेसिङ सहजताका लागि सरकारले निःशुल्क सिमकार्ड उपलब्ध गराउनेछ ।
होल्डिङ सेन्टरबाट होटल क्वारेन्टिनमा बस्न चाहानेलाई सिधै व्यवस्थापन गरिएको होटलमा र स्थानीय तहले व्यवस्थापन गरेको क्वारेन्टिनमा बस्नेलाई सम्बन्धीत जिल्ला सदरमुकामसम्म पुर्याइनेछ । यसरी आउने नागरिकलाई सम्बन्धित स्थानीय तहले जिम्मा लिई क्वारेन्टिनमा राख्नुपर्नेछ । स्थानीय तहको क्वारेन्टिनमा बस्नेलाई खाना लगायत आवश्यक व्यवस्था सोही स्थानीय तहले गर्नेछ ।