पाँचथरका एक तथा ताप्लेजुङका तीनमा कोरोना सङ्क्रमण पुष्टि, झापामा रहेका उनीहरु भारतबाट आएका



फिदिम, २० जेठ

पूर्वी पहाडका पाँचथर र ताप्लेजुङ घर भई भारतबाट आएका चार जनामा कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण देखिएको छ ।

झापाको बुद्धशान्ति गाउँपालिका स्थित बुद्ध आदर्श माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका पाँचथरका एक जना तथा ताप्लेजुङका तीन जनामा कोरोना सङ्क्रमण भेटिएको हो । यस्तै झापाको बुद्धशान्ति गाउँपालिकाका एक जनामा समेत सङ्क्रमण पुष्टि भएको छ ।

बुद्धशान्ति गाउँपालिकाको स्वास्थ्य इकाईका प्रमुख भोलानाथ अधिकारीका अनुसार जेठ १३ गतेदेखि क्वारेन्टाइनमा राखिएको उनीहरुको स्वाब सङ्कलन गरी जेठ १४ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । मंगलबार उनीहरुको स्वाबको रिपोर्ट पोजेटिभ आएको अधिकारीले जानकारी दिनुभयो ।

बुद्धशान्ति गाउँपालिका स्थित वुद्ध आदर्श माध्यमिक विद्यालयको क्वारेन्टाइनमा उत्तरी झापा सहित इलाम, पाँचथर र ताप्लेजुङ घर भई भारतबाट फर्केकाहरुलाई होल्डिङ एरियाको रुपमा प्रवन्ध गरिएको छ ।

सङ्क्रमितहरुमध्ये पाँचथरका हिलिहाङ गाउँपालिका घर भएका २० वर्षीय पुरुष, ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका घर भएका एक जना ४० वर्षीय तथा दुई जना १८ वर्षीय पुरुष छन् । झापाका भने ३० वर्षीय पुरुष छन् ।

उनीहरु सबै भारतको लखनउबाट स्वदेश फर्केका थिए । लखनउबाटै उनीहरुसँग आएका अन्य सात जनाको रिपोर्ट भने नेगेटिभ देखिएको छ ।

उनीहरु सबैलाई आजै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको स्वास्थ्य इकाईका प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

वुद्ध आदर्श माध्यमिक विद्यालयको क्वारेन्टाइनमा हाल १२८ जना रहेका छन् । उनीहरुमध्ये एक सय जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएकामा ७९ जनाको परीक्षण सम्पन्न भएको र पाँच जनाको रिपोर्ट पोजेटिभ आएको अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्