कोरोनाका २२६ जना सङ्क्रमित थपिए, कूल सङ्क्रमित १७९८



फिदिम । नेपालमा पछिल्लो २४ घण्टामा २२६ जना कोरोना भाइरस (कोभिड–१९) का नयाँ सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत पछिल्लो २४ घण्टामा २२६ जना नयाँ संक्रमित थपिएको जनाएको छ । आज वृद्धि भएको संख्या हालसम्मको सबैभन्दा उच्च हो । यस अघिसम्म संक्रमितको संख्यामा एक दिनमा २०० भन्दा बढीले वृद्धि भएको थियो ।

नयाँ संक्रमितमध्ये २१३ जना पुरुष तथा १६ जना महिला छन् । संक्रमितहरुमध्ये प्रदेश नं. १ का १६८ जना, प्रदेश नं. २ का ६९४ जना, बागमती प्रदेशका ४६ जना, गण्डकी प्रदेशका २६ जना, प्रदेश नं. ५ का ६२१ जना, कर्णाली प्रदेशका १९८ जना र सुदूरपश्चिम प्रदेशका ४५ जना छन् ।

पछिल्लो पटक प्रदेश नं. १ मा उदयपुरका एक जना र झापाको बाह्रदशीका दुई जना नयाँ संक्रमित थपिएका छन् । हालसम्म कोरोना भाइरसको संक्रमण देशभरका ५९ जिल्लामा फैलिएको छ । प्रदेश नं. २ र सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा संक्रमण फैलिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।

हालसम्म कूल २२२ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सबैभन्दा धेरै प्रदेश नं. २ का १०४ जना छन् । हाल देशभरमा एक लाख ३३ हजार जना क्वारेन्टाइनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्