

फिदिम । लकडाउनका कारण गाउँ फर्केका सहित अन्य पाँचथरको फिदिम नगरपालिका वडा नं. ७ का २० जना युवाहरुले रक्तदान गरेका छन् ।
जागरण फाउण्डेसनको आयोजना तथा ब्यवस्थापनमा नेपाल रेडक्रस सोसाइटी पाँचथर शाखाले उक्त स्थानमा शनिवार रक्तदान शिविर आयोजना गरी युवाहरुबाट रगत सङ्कलन गरेको हो ।
फिदिम नगरपालिका वडा नं. ७ नाङ्लपाका युवाहरुले रक्तदान गरेका हुन् । उनीहरुमध्ये केही सदरमुकाम फिदिम सहित गाउँ बाहिर बस्दै आएका थिए । लकडाउनका कारण गाउँ गएकाहरु तथा गाउँमै बसेका युवाहरु रक्तदानमा सहभागी भएका हुन् ।
जनमानसमा रहेको रक्तदानसम्बन्धी भ्रम चिर्न सदरमुकाम बाहिर रक्तदान शिविर आयोजना गरिएको हो । रगत सङ्कलनले कोभिड–१९ सङ्क्रमणको त्रास तथा लकडाउनका कारण रगत अभावका कारण समस्यामा परेका विरामीहरुलाई मद्दत मिल्ने अपेक्षा गरिएको रक्तदान शिविर आयोजना गरेको जागरण फाउण्डेसनका अध्यक्ष प्रदीप बाँस्कोटाले वताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटी पाँचथर शाखाका सभापति कृष्णप्रसाद बाँस्कोटाका अनुसार लकडाउन र सङ्क्रमणको त्रासका कारण रगतको अभाव हुनसक्छ । सबै मानिस गाउँमा रहने भएकाले रगत तत्कालै प्राप्त गर्नसक्ने अवस्था समेत हुँदैन् ।
यसबेला गम्भीर प्रकारका विरामी, दुर्घटनाका घाइते लगायतलाई आवश्यक पर्ने रगत अभाव हुनसक्छ । यस्तै जिल्ला उपचाररत जिल्लाका विरामीलाई समेत रगतको अभाव हुनसक्छ । त्यसैले यस प्रकार रगत मौज्दात राख्नुपर्ने आवश्यकता थियो । उक्त आवश्यकतालाई फाउण्डेसनको समन्वयमा रानीटारका युवाहरु पूरा गरेको भन्दै बाँस्कोटाले रक्तदाताहरुलाई धन्यवाद दिनुभयो ।
रक्तदान कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश कमिटीका सदस्य हर्क नेम्वाङ ‘मिक्सो’ले ग्रामीण क्षेत्रमा रक्तदानको आवश्यकताबारे प्रकाश पार्न, युवाहरुको रगत पहिचान तथा रेकर्ड राख्न र अत्यावाश्यक अवस्थाका विरामीलाई रगत दिन रक्तदान शिविर सहयोगीसिद्ध हुने वताउनुभयो । उहाँले यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता समेत औँल्याउनुभयो ।
पाँचथरमा सङ्कलन हुने रगत २० दिनसम्म नेपाल रेडक्रस सोसाइटीमा राखी यहाँ प्रयोग नभए जिल्ला बाहिर पठाउने गरिन्छ । सामान्यतया रगत ३५ दिनसम्म दिनसम्म राख्न मिल्छ । पाँचथरबाट विर्तामोड, विराटनगर, धरान लगायत स्थानमा पठाउने गरिएको रेडक्रसका सभापति बाँस्कोटाले जानकारी दिनुभयो ।