एकैदिन १८९ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको संख्या १,४०१ पुग्यो



फिदिम । नेपालमा शनिवार थप १८९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कुल सङ्क्रमितको संख्या १,४०१ पुगेको छ । शनिवार एकै दिन हालसम्मकै सबैभन्दा बढी सङ्क्रमण पुष्टि भएको हो ।

शुक्रवार एकै दिन १७० जनामा नयाँ सङ्क्रमण पुष्टि भएको थियो । बिहीवार १५६ जना र बुधवार ११४ जनामा नयाँ सङ्क्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार अहिलेसम्म निको हुनेको संख्या २१९ छ । मन्त्रालयको तथ्याङ्कअनुसार अहिले देशभरि १ लाख १० हजार ७८ जना व्यक्ति क्वारन्टाइन र १,१७६ जना आइसोलेशन अर्थात् चिकित्सकीय निगरानीमा अलग्गै छन् ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ६६ हजार ७ सय २९ नमुना परीक्षण भइसकेको छ । गएको २४ घण्टामा मात्र २ हजार ५ सय ७५ नमुनाको पीसीआर परीक्षण भएको छ ।

हाल देशभर १ लाख १० हजार ७८ जना क्वारन्टीनमा रहेका छन् । अहिले नेपालमा १ हजार १ सय ७६ जना आइसोलेशनमा रहेका छन् भने हालसम्म २ सय १९ जना निको भएर घर फर्केका छन् । त्यसमध्ये १ सय ७२ जना पुरुष र ४७ जना महिला रहेका छन् ।

हालसम्म देशका ५३ जिल्लामा सङ्क्रमण फैलिइसकेको छ । कोभिड–१९ बाट प्रदेश नम्बर २ र ५ सबभन्दा प्रभावित भएका छन् ।

प्रदेश नम्वर २ मा शनिवार मात्रै ५७ ब्यक्तिहरुमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । प्रदेश नम्बर २ को सामाजिक विकास मन्त्रालयका अनुसार ती मध्ये सप्तरीमा ९ जना, सिरहामा ११ जना, धनुषामा ७ जना, महोतरी ४ जना, सर्लाहीमा १७ जना, रौतहटमा ६ जना, बारामा १ जना र पर्सामा २ जना रहेका छन् ।

यस्तै प्रदेश नम्बर ५ मा शनिवार ३४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । कपिलबस्तु जिल्ला यशोधराका २६ र विजयनगरका ३ जना, दाङमा ५ जना प्रदेश ५ का ९ जिल्लाका ५४७ जना संक्रमित, हाल सम्म निकोभएर घर फर्किएका ४८ जना छन् ।

त्यस्तै कर्णाली प्रदेशमा भारतबाट आएर क्वारन्टाइनमा बसेका दैलेखका १४ जना व्यक्तिमा पीसीआर प्रविधिबाट गरिएको परीक्षणमा पोजिटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

प्रदेश नम्बर १ मा संखुवासभामा पहिलो पटक संक्रमण पुष्टि भएको छ । अनुसार प्रदेश १ को हिमाली जिल्ला संखुवासभामा पहिलो पटक कोरोना सङ्क्रक्रमित भेटिएका छन् ।

विराटनगरको कोशी अस्पतालमा गरिएको स्वाब परीक्षणमा दुइ जना पुरुषमा कोभिड १९ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।

संखुवासभामा भेटिएका कोरोनाभाइरस सङ्क्रमित गत जेठ १३ गते भारतको सुनौली नाका हुदै आएको जिल्ला स्वास्थ्य कार्यालय संखुवासभाका प्रमुख रमेश बाह्रकोटीले बताए । उनीहरूलाइ तुम्लिङटारस्थित क्वारन्टाइनमा राखिएको थियो ।

सङ्क्रमितहरु एकजना खाँदबारी नगरपालिका–७ का २३ वर्षीय र पाँचखपन नगरपालिका–१ का २२ वर्षीय पुरुष भएको बताए । संखुवासभामा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश १ का १४ जिल्ला मध्ये ९ जिल्लामा संक्रमण देखिएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १६० पुगेको छ । संक्रमितहरुको विराटनगरको कोशी अस्पताल र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ । (बीबीसी नेपालीबाट)

प्रतिक्रिया दिनुहोस्