अमेरिकामा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या एक लाख नाघ्यो



फिदिम । अमेरिकामा कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु हुने मानिसहरूको संख्या एक लाख नाघेको जोन्स हप्किन्स युनिभर्सिटीको विवरणले जनाएको छ ।

तीन महिनाभन्दा केही बढी समयमा कोभिड-१९ बाट ज्यान गुमाउने अमेरिकीको संख्या कोरियाली युद्ध, भियतनाम युद्ध र इराकको द्वन्द्वमा ज्यान गुमाएका कुल अमेरिकीभन्दा धेरै छ ।

अमेरिकामा २१ ज्यानुअरीमा पहिलोपटक वासिङ्टन राज्यमा देखिएको यस भाइरसको विश्वभरि रहेका सङ्क्रमितमध्ये झण्डै ३० प्रतिशत अमेरिकामा पुष्टि भएका छन् । विश्वभर ५६ लाखभन्दा बढी सङ्क्रमण पुष्टि हुँदा अहिलेसम्म अमेरिकामा झण्डै १७ लाख पाइएका छन् ।

अमेरिकामा नयाँ सङ्क्रमणका घटना देखिने दर कम भइरहँदा र राज्यहरूले लकडाउनका उपायहरू खुकुलो बनाइरहँदा पछिल्लो संख्या सार्वजनिक भएको हो ।

अमेरिकामा कोरोनाभाइरसको पहिलो सङ्क्रमण पाइएको दुई दिनपछि राष्ट्रपति डोनल्ड ट्रम्पले अवस्थालाई उनकै शब्दमा ‘पूणर् रूपमा नियन्त्रणमा रहेको’ भन्दै नागरिकहरूलाई सबै ठिक हुने भनेर आश्वास्त पारेका थिए । चार महिनाभित्रै हेर्ने हो भने भाइरस सबै ५० राज्यमा फैलिएन मात्र सङ्क्रमण र मृत्युको संख्यामा विश्वमै पहिलो नम्बरमा आएको थियो ।

ट्रम्पले सुरुमा महामारीबाट ‘५० देखि ६० हजार’ बीचमा मानिसहरूको मृत्यु हुनसक्ने बताएका थिए । मे महिनामा पुग्दा भने उनले त्यस्तो संख्या १ लाखभन्दा कम नै हुने आशा आफूले गरेको बताएका थिए ।

मृत्यु संख्या एक लाख नाघिसक्दा अझै अमेरिकामा दैनिक रूपमा औसत एक हजार मानिसहरूले ज्यान गुमाइरहेका छन् । अहिलेको संख्या भनेको अमेरिकी जनसंख्याको अनुपातमा प्रति एक लाखमा ३० जना अमेरिकीको मृत्यु हुनु सरह हो ।

बेल्जियममा कुल झण्डै नौ हजार मानिसहरूले सङ्क्रमणबाट ज्यान गुमाए पनि त्यहाँको मृत्युदर भने सबैभन्दा उच्च प्रतिलाख ८२ छ । त्यस्तो संख्या प्रतिलाख ब्रिटेनमा ५६, इटलीमा ५५ र स्पेनमा ५८ छ । अमेरिकामा उच्च प्रभावित न्यूयोर्क राज्यमा मात्र मृत्युदर केलाउने हो भने त्यो प्रतिलाख १५० छ ।

पछिल्लो विवरण अनुसार अमेरिकामा एक करोड ५० लाख भन्दा धेरैको भाइरस परिक्षण गरिएको छ जुन अमेरिकी जनसंख्याको झण्डै ४.५ प्रतिशत हो । एक समय अमेरिकामा ९० प्रतिशतभन्दा बढी मानिसहरू अनिवार्य लकडाउनमा थिए । तर अहिले धेरै राज्यहरूले घरमै बस्नुपर्ने नियम खुकुलो पारिरहेका छन् ।

राज्यहरूले लकडाउन खोल्नुअघिका लागि पूरा गर्नुपर्ने मापदण्ड ह्वाइटहाउसले बनाएको जनाएको छ । जसमा लगातार दुई साता वृद्धिदर घट्नुपर्ने उल्लेख भएपनि केही सीमित राज्यले मात्र त्यसको पालना गरेको विज्ञहरूले बताउँदै आएका छन् ।

ह्वाइटहाउसका एकजना सल्लाहकार एन्थोनी फाउचीले भाइरस नियन्त्रणमा नआउँदै लकडाउन खुकुलो पारिँदा ‘थोरै बढ्ने देखिएको संख्या नै महामारी बन्ने’ भन्दै एउटा चेतावनी दिएका थिए ।

तर उनको भनाइ ट्रम्पसँगै बाझिएको छ जो राष्ट्रपतिमा पुनर्निर्वाचित हुने आशा बोकेको चुनावी अभियान अगाडी नै अमेरिकी अर्थतन्त्र खुलाउन व्यग्र देखिन्छन् । अमेरिकामा यस महामारीसँगै उत्पन्न सङ्कटबाट अहिलेसम्म तीन करोड ९० लाख भन्दा बढीले रोजगारी गुमाएका विवरण सार्वजनिक भएका छन् । (बीबीसी नेपालीबाट)

प्रतिक्रिया दिनुहोस्