नेपालमा ६८२ जनामा कोरोना सङ्क्रमण, ११२ जना निको, चार जनाको मृत्यु



फिदिम । नेपालमा हालसम्म ६८२ जनामा कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ११२ जना निको भएका छन् भने चार जनाको मृत्यु भएको छ ।

आज ६ जना सङ्क्रमित थपिएका छन् । सेती अस्पतालमा अछामका एक जना, भेरी अस्पतालमा बर्दियाका तीन जनाको रिपोर्ट पोजेटिभ आएको छ । नारायणी अस्पतालमा गरिएको परीक्षणमा पर्साका दुई जनामा सङ्क्रमण देखिएको छ, जसमध्ये एक जनाको घर काठमाण्डौँ छ ।

पछिल्लो पटक २५ जना डिस्चार्ज भएका छन् । हालसम्म देशभरि कुल ११२ जना डिस्चार्ज भएका हुन् । जसमा पुरुष ८३ र महिला २८ जना छन् । डिस्चार्ज हुनेमा प्रदेश नं. १ मा ३६ जना छन् ।

तौलिहवाका सङ्क्रमित स्वास्थ्यकर्मी स्वस्थ भई डिस्चार्ज भएको छन् । यस्तै डिस्चार्ज हुनेमा नारायणी अस्पतालबाट पर्साका सङ्क्रमितहरु र पाटन अस्पतालका विभिन्न जिल्लाका पाँच जना र टेकु अस्पतालबाट सर्लाहीका एक जना छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार नेपालमा अहिले ४६ हजार २९ क्वारेन्टाइन रहेका छन् । स्वमूल्याङ्कन ४९ हजारले भरेका छन् । रेडजोनमा थप चार जना परेका छन् । पूर्वमा ओखलढुङ्गाका एक जना रेडजोनमा परेका छन् ।

नमूना परीक्षण प्रयोगशाला २० स्थान पुगेको छ । जहाँ पीसीआर प्रविधिबाट भइरहेको छ । पछिल्लो पटक त्रिवी शिक्षण अस्पताल काठमाण्डौँमा परीक्षण सुरु भएको हो ।

प्रदेश १ मा सात जिल्लामा सङ्क्रमित संख्या ८६ छ । प्रदेश नं. २ मा २३५ जना, प्रदेश नं. ३ मा ३८ जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश नं. ५ मा २९२, कर्णाली प्रदेशमा ११ जना, सुदूरपश्चिम प्रदेशमा १५ जना सङ्क्रमित छन् ।

कोभिड–१९ बाट थप एक जनाको मृत्यु भएको छ । नेशनल मेडिकल कलेज वीरगञ्जमा गत चार गते कलैयाका ७० वर्षीय पुरुषको मृत्यु भएको थियो । उनको पीसीआर विधिबाट गरिएको परीक्षणमा पोजेटिभ देखिएको छ ।

श्वासप्रश्वासमा समस्या भएकाले गत दुई गते अस्पताल भर्ना भएका थिए । नारायणी अस्पतालमा शंकास्पद देखिएपछि नमूना परीक्षण टेकूमा गरिएको थियो । जेठ ५ गते नै सबैको स्वाब संकलन भइसकेको थियो । जसमध्ये केहीमा संक्रमण देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्