एकसाथ ७२ जनामा कोरोना सङ्क्रमण पुष्टि



फिदिम । नेपालमा थप ७२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
यो वृद्धिसँगै नेपालमा कुल सङ्क्रमितको संख्या ६७५ जना पुगेको छ । सोमवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक वक्तव्य जारी गर्दै थप सङ्क्रमणको पुष्टि गरेको हो ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार सोमवार पुष्टि भएका सङ्क्रमितहरू विभिन्न जिल्लाका हुन् । उनीहरूबाट सङ्कलित नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, भेरी अस्पताल, प्रदेश अस्पताल सुर्खेतमा परीक्षण गरिएको थियो ।

प्रदेश नं २ का जिल्लामा कुल ५४ जनामा कोभिड–१९ देखिएको हो । नेपालमा पछिल्लो समय सङ्क्रमितको संख्या बढेको देखिन्छ । कतिपय विज्ञले परीक्षणको दायरा फराकिलो बनाइएकाले संख्या बढेको उल्लेख गरिरहेका छन् ।

कतिपयले भने कोरोनाभाइरस अब समुदायमा पुगेकाले परीक्षणको संख्या अहिलेको भन्दा धेरै बढाउनुपर्ने बताइरहेका छन् । सरकारी अधिकारीहरूले भने कोरोनाभाइरस समुदायमा पुगेको भन्ने कुरा अस्वीकार गर्दै आएका छन् ।

लकडाउनका कारण भारतमा अड्किएका नेपालीहरू ठूलो संख्यामा देश भित्रिएसँगै क्वारन्टाइनहरूमा बस्नेको संख्या दिनदिनै बढ्दै गएको छ । मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये दैलेखमा फेला परेका सात जनामध्ये एक महिलाबाहेक अरू सबै पुरुष हुन् ।

रौतहटका २६, बाराका २१, बाँकेका चार तथा धनुषा, कपिलवस्तु र काठमाण्डूका तीन–तीन जनामा पनि कोभिड–१९ पुष्टि भएको छ । काठमाण्डूमा फेला परेका सङ्क्रमित टोखा र बूढानीलकण्ठ नगरपालिकाका हुन् ।

त्यसैगरी बारा र सप्तरीमा दुई–दुई जना तथा बर्दियामा एक जनामा पनि सङ्क्रमण देखिएको छ । उनीहरू १६ देखि ५३ वर्ष उमेरका भएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । अहिले प्रदेश नं ५ र २ मा सर्वाधिक सङ्क्रमित छन् ।

जार ८ सय १५ जनाको पीसीआर विधिबाट नमुना परीक्षण गरिएको छ । आइतवार अपराह्णसम्म देशभरि ३९,८०४ जना क्वारन्टाइनमा थिए । अहिलेसम्म तीन जनाको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएको सरकारी तथ्याङ्कले देखाउँछ । (बीबीसी नेपालीबाट)

प्रतिक्रिया दिनुहोस्