कोरोना सङ्क्रमितको संख्या छ सय नाघ्यो



फिदिम । स्वास्थ्य मन्त्रालयले आइतवार थप १९ जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको उल्लेख गरेसँगै नेपालमा कुल सङ्क्रमितको संख्या ६०३ जना पुगेको छ ।

सङ्क्रमितमध्ये ५२४ पुरुष र ७९ महिला रहेका छन् । आइतवार नयाँ जिल्ला नुवाकोट थपिएपछि नेपालभर गरी ४२ जिल्लामा कोरोनाभाइरस सङ्क्रमित भेटिएका छन् । आइतवार थपिएका सङ्क्रमितहरू केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला, विराटनगर र भैरहवास्थित प्रयोगशालाको परीक्षणमा पुष्टि भएको बताइएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा अनुसार आइतवार अपरान्हसम्म ४८ हजार ८ सय १५ जनाको पीसीआर विधिबाट नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा २,८५६ नमुनाको पीसीआर र ३,७९१ नमुनाको आरडीटी विधिबाट परीक्षण गरिएको जानकारी डा. देवकोटाले दिए ।

सङ्क्रमण देखिएका मध्ये ८७ निको भएर घर फर्किएका छन् । आइतवारसम्म ९० हजार २६ को आरडीटी विधिबाट परीक्षण गरिएको छ । प्रवक्ता देवकोटाले सबै प्रदेशमा गरी ३९ हजार भन्दा बढी व्यक्ति क्वारन्टीनमा रहेका बताएका छन् ।

त्यसरी क्वारन्टीनमा रहनेमध्ये सबैभन्दा बढी प्रदेश नम्बर ५ मा १९ हजार ५२५ जना रहेका छन् । त्यस्तै उनले हाल आइसोलेशनमा रहेका मध्ये ५१३ जना सङ्क्रमित रहेको बताए । नेपालमा पछिल्लो समय सङ्क्रमितको संख्या बढेको देखिन्छ।

कतिपय विज्ञले परीक्षणको दायरा फराकिलो बनाइएकाले संख्या बढेको उल्लेख गरिरहेका छन् । कतिपयले भने कोरोनाभाइरस अब समुदायमा पुगेकाले परीक्षणको संख्या अहिलेको भन्दा धेरै बढाउनुपर्ने बताइरहेका छन् ।

सरकारी अधिकारीहरूले भने कोरोनाभाइरस समुदायमा पुगेको भन्ने कुरा अस्वीकार गर्दै आएका छन् । लकडाउनका कारण भारतमा अड्किएका नेपालीहरू ठूलो संख्यामा देश भित्रिएसँगै क्वारन्टाइनहरूमा बस्नेको संख्या दिनदिनै बढ्दै गएको छ । (बीबीसी नेपालीबाट)

प्रतिक्रिया दिनुहोस्