आज एकैदिन ६८ जना सङ्क्रमित थपिए



फिदिम । नेपालमा शनिवार अपराह्ण थप ३६ मा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । यसअघि शनिवार बिहान मन्त्रालयले थप ३२ जनामा सङ्क्रमण पुष्टि गरेको थियो ।

शनिवार थपिएका ६८ जनापछि नेपालमा जम्मा सङ्क्रमितको संख्या ५८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले शनिवार सङ्क्रमण पुष्टि भएकामा बाँकेका २७ जना, बैतडीका ४ जना, सुर्खेतका ३ जना र झापा तथा बर्दियाका एक–एक जना रहेको बताए ।

सङ्क्रमितहरूको नमुना कोशी अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, सेती प्रादेशिक अस्पताल र सुर्खेतमा परीक्षण गरिएको थियो । सेती अस्पतालमा नमुना परीक्षण गरिएका चारजनामध्ये २० वर्षका दुईजना तथा २२ र २७ वर्षका पुरुषहरू छन् ।

मन्त्रालयका अनुसार सबै बैतडी शिवनाथ गाउँपालिकाका हुन् र उनीहरू सबैमा आरडीटी परीक्षणमा सङ्क्रमण देखिएपछि आइसोलेशनमा राखिएको थियो । त्यस्तै कोशी अस्पतालमा परीक्षण गरिएका झापाका ३३ वर्षका पुरुषमा सङ्क्रमण देखिएको हो । उनी झापामै क्वारन्टाइनमा बसिरहेका थिए ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा नरैनापुर मदरसा बाँकेका १७ देखि ३२ वर्षसम्मका ६ जना पुरुषहरूमा पनि सङ्क्रमण पुष्टि भएको छ । बाँकेकै नरैनापुर–३ स्थित राष्ट्रिय प्राविको क्वारन्टीनमा रहेका १५ जनामा पनि सङ्क्रमण देखिएको देवकोटाले बताए । उनका अनुसार ती सङ्क्रमितहरू १६ देखि ३२ वर्षका रहेका छन् ।

नरैनापुर–१ स्थित राष्ट्रिय प्रावीको क्वारेन्टीनमा रहेका ६ जना मा पनि सङ्क्रमण पुष्टि भएको छ । उनीहरू २२ वर्षदेखि ५० वर्षका पुरुषहरू हुन् । बर्दियाको बढैया तालका ७ का एकजना १९ वर्षे पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको छ ।

त्यस्तै सुर्खेतमा पनि २ जना पुरुष र १ जना महिलामा सङ्क्रमण देखिएको छ । सङ्क्रमितहरूमा ५०५ जना पुरुष र ७९ जना महिला रहेका छन् । नेपालका ४० जिल्लामा सङ्क्रमण फैलिसकेको छ ।

प्रदेश नम्बर ५ मा सबैभन्दा बढी सङ्क्रमित देखिएका छन् । त्यहाँ सङ्क्रमितको संख्या २७१ पुगेको छ । त्यसपछि प्रदेश नम्बर २ मा धेरै सङ्क्रमित देखिएका छन् । त्यहाँ १७२ जना सङ्क्रमित छन् ।

प्रदेश नम्बर १ मा ८६ वाग्मति प्रदेशमा ३२ सुदूरपश्चिम प्रदेशमा १४, गण्डकी प्रदेशमा ५ र कर्णाली प्रदेशमा ४ जना रहेका छन् । हाल देशभरि गरी ३२ हजार ५ सय ८७ जना क्वारेन्टीनमा रहेका छन् । आइसोलेशनमा ५ सय ८ जना रहेका र ७० जना निको भइसकेको मन्त्रालयले जनाएको छ । (बीबीसी नेपालीबाट)

प्रतिक्रिया दिनुहोस्