शुक्रवार एकैदिन ५९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५१६ पुग्यो



फिदिम । नेपालमा कोरोना संक्रमितको संख्या पाँच सय १६ पुगेको छ ।

शुक्रबार साँझ थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार साँझ हेटौडामा १ जना, भक्तपुरमा १ जना, सप्तरीमा १ जना र बारामा ६ जनामा संक्रमण भएको पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणबाट मकवानपुर हेटौंडा–३ की ५४ वर्षीय महिला र भक्तपुर नगरपालिका–९ की ४२ वर्षीय महिलामा कोरोनाको संक्रमण भएको पुष्टि भएको छ ।

यस्तै, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको परीक्षणमा सप्तरी बलान बिहुल गाउँपालिकाका ३५ वर्षीय पुरुषमा तथा हेटौडा किटजन्य रोग अनुसन्धान केन्द्रको प्रयोगशालामा भएको परीक्षणमा बाराको सिम्रौनगढ नगरपालिकाका २२, २७, ३०, ३४, ३८ र ४५ वर्षीय पुरुषहरुमा संक्रमण पुष्टि भएको छ ।

यो सँगै शुक्रबारमात्रै ५९ जनामा कोरोनाको संक्रमण भएको पुष्टि भएको छ । यो नेपालमा अहिलेसम्म एकैदिन थपिएको सबैभन्दा धेरै हो । कोरोनाका कारण नेपालमा तीन जनाको ज्यान गएको छ भने ७० जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्