कोरोना त्रास र लकडाउनः आफ्ना बालबालिका कस्तो वनाउने अभिभावकको हातमा



लेखनाथ खतिवडा ‘शिकारु’

लेखनाथ खतिवडा ‘शिकारु’

“सकारात्मक संवाद – सकारात्मक सम्वन्ध
सकारात्मक व्यवहार – सकारात्मक प्रभाव
सकारात्मक कार्य –सकारात्मक उपलब्धि”

छोराछोरी जन्माउन के कठिन छ र असल बनाउन पो गाह्रो छ – मेक्सिम गोर्की

बालबालिकाहरुको लालनपालन र हेरचाह गरेर मात्र असल अभिभावक भइन्न । हरेक अभिभावकहरु आफ्ना नानी वावुहरु आफूले सोचे जस्तो भएन भनेर चिन्ता जाहेर गरिरहेका हुन्छन् यो चिन्ता र चिन्तन जरुरी पनि हो ।

बालबालिकाहरुलाई पढेन भनेर अभिभावकहरुले अलि वढी नै कचकच गरेकै हुन्छन् सुजवुझ भएका परिवारले नै पनि । यसको अर्थ हामी अभिभावकहरु चै कति पढ्छौ लेख्छौं अर्थात कति अध्ययनशील र चिन्तनशील छौँ यस तर्फ पनि ख्याल गर्नुपर्छ ।

अनि घर परिवारमा हाम्रो भूमिका हाम्रो संस्कार संस्कृति र सम्वन्ध कस्तो छ ती कुराहरुले पनि बालवालिकाहरुमा प्रभाव परिरहेको हुन्छ । हामी अभिभावकहरुको प्रतिछाया उनीहरुमा झल्किरहेको हुन्छ ।

अभिभावकहरुले बालबालिकाहरुसँग गर्ने गरेका झर्किने, फर्किने, रिसाउने, गाली गर्ने, पिट्ने जस्ता वानी र ब्यवहारले उनीहरुले पनि त्यही सिक्छन् । उनीहरु त खाली तथा उत्सुक दिमाग भएका काँचो माटो हुन्, जसलाई जस्तो आकार दिन पनि सकिन्छ । कस्तो आकार दिने भन्ने कुशल कुमालेको काम हो अभिभावकहरुको ।

बालबालिकाहरुलाई असल वनाउने वाहनामा कतै हामी अभिभावकहरुले कतै गल्ती त गरिरहेका छैनौँ ? यस तर्फ हामी ख्याल नै गरिरहेका हुन्नौ उनीहरुको मनोविज्ञान र मनोभावनालाई वुझिरहेका हुन्नौ ।

अभिभावकको स्थानवाट हामीले उनीहरुलाई कति समय खर्च गरेका छौँ ? पैसा मात्र खर्च गरेर अभिभावक भइन्छ भन्ने गलत धारणालाई परिवर्तन गरी असर संस्कार र संस्कृति दिनु आजको आवश्यकता हो ।

कोभिड–१९ को त्राससँगै बालबालिकाहरु स्कुल कलेज वाहिर छन् यस्तो वेलामा उनीहरुलाई अझ बढि माया, ममता, सद्भाव जरुरी हुन्छ । असल अभिभावकत्व प्रदान गर्नु हामी सवैको दायीत्व हो । यो भूमिका समाजका हामी सवै वर्ग र पक्षले हेक्का राख्नु जरुरी छ ।

प्रायसः बालबालिका र अभिभावकहरु विच एक प्रकारको दुरी छ हाम्रो समाजमा । बालबाालिकाहरु अभिभावकलाई आफ्ना सहयोगी अंगको रुपमा, आवश्यकता पूर्ति गर्ने निकायको रुपमा मात्र हेर्ने गर्छन् भने अभिभावकहरु पनि अनावश्यक शंका उपशंका गर्ने गर्छन् ।

बालवालिकाहरु अभिभावकहरु समय सापेक्ष हुन नसकेको आरोप लगाउछन् भने अभिभावकहरु भनेको मान्दैनन् सुन्दैनन् भनेर अनावश्यक गनगन र किचकिच पनि गर्ने गर्छौ । यति सम्मकि मोवाइल वा कम्प्युटर चलाउँदा, सामाजिक सञ्जालको प्रयोग गर्दा अनावश्यक शंका गर्ने र अलमल मात्र गरेको आरोप लगाइ राखेका हुन्छौँ । हामी यतिसम्म पनि सोच्दैनौ कि ऊ राम्रो काममा अर्थात आफूलाई उपयोगी कुनै सन्दर्भ सामग्रीको खोजी र अध्ययनमा भएको ।

बालबालिकालाई सानै उमेरदेखि उनीहरुले सक्ने काम सिकाउन थाल्नुपर्छ । सानै छ उसले सक्दैन भनेर भन्दै गइयो भने ठूलो होउञ्जेलसम्म उसले केही गर्दैन । ठूलो भइसकेपछि सिकाउन खोजियो भने पहिले त उसले टेर्दै टेर्दैन । दवावमा काम लगाउन खोजियो भने पनि उसको सिक्ने वानी नै नभएर समस्यामा पर्छ । उसलाइ सिक्न ज्यादै गाह्रो हुन्छ ।

हामी अभिभावकहरुले नै सानोमा सक्दैन, जान्दैन भनेर पन्छाएपछि उनीहरुले ठूलो भएपछि त्यो काम सिक्दै सिक्दैनन् । यसकारण सानै उमेर भएदेखि नै उसले बुझ्ने र सक्ने कुरा सिकाउँदै जानुपर्छ, सिक्ने अवसर दिनुपर्छ ।

सामान्य काम पनि सिकाउँदै गर्नुपर्छ कतिपय छोेराछोरीहरु ठूलो भइसक्दा पनि चिया समेत पकाउन नजान्ने हुन्छन् यसमा उनिहरुको मात्र दोष हुँदैन हामी अभिभावकहरुले पनि उनीहरुलाई कति अवसर दियौ अर्थात सिक्न अभिप्रेरित गर्यौ यो पनि महत्वपूर्ण कुरा हो ।

जीवनलाई बुझ्दै जाने सन्दर्भमा उनीहरुलाई दुःख र संघर्षको कुरा पनि थोरै थोरै सिकाउँदै जानोस् । घरको आफ्नो आर्थिक अवस्था पनि सिकाउनुपर्छ । मैले यसरी कमाई गरेर, दुःख गरेर पढाएको छु भन्ने कुरा नानीहरुलाई बुझाउन सक्नुपर्छ । सँगै इमान्दारिताको पाठ सिकाउनु त आजको झनै टड्कारो आवश्यकता हो ।

स्कूलबाट फर्केपछि उनीहरुलाई तत्काल कपडा फेर्न लगाउने र फेरेको कपडा मिलाएर एक ठाउँमा राख्न, आफ्नो व्यक्तिगत सरसफाई गर्न जस्ता सामान्य कामवाट सिकाउँदै लैजानु पर्छ जसले जथाभावी काम गर्ने तथा कुनै कुरामा वेपरवाह गर्ने वानी हट्छ ।

केटाकेटीसँग नराम्रा शब्द प्रयोग गर्दै नगर्नुहोस् । गाली गरेर र कुटेर उसलाई नकारात्मक असर पर्छ र तपाईलाई उस्ले कहिल्यै पनि सकारात्मक रुपमा लिँदैन ।

हरेक बालबालिकहरुले आफ्ना साथी संगी र समाजसँग आफू कमजोर भएको मन पराउँदैनन् । यो थाहा हँुदा हुँदै पनि मेरो वच्चा फटाहा वदमास छ, काम नलाग्ने भयो, नालायक, अज्ञानी अटेरी भयो भन्दै उस्का कमी कम्जोरीहरु ओकलिरहेका हुन्छौँ ।

यसले उनीहरुको मनोविज्ञानमा कति नकारात्मक असर र प्रभाव पर्छ किनचित हेक्का र प्रवाह नराखी । यसले उनीहरुको मनोविज्ञानमा जति राम्रो गरेपनि मलाई हेर्ने दृष्टिकोण यस्तै हो भनि हिनतावोधको भाव सृजना हुन सक्छ ।

उनीहरुको उमेर मात्रै सानो हो तर स्वाभिमान र इच्छा सानो हुँदैन । पढाई र व्यवहार भन्ने कुरा उस्तै होइनन्, धेरै फरक कुरा हुन् । यसकारण पढाई भनेको ज्ञान मात्र हुनसक्ला । तर जीवनमा ज्ञान, शीप, संस्कार र जिम्मेवारी व्यवहारले सिकाउँछ, अभिभावकले सिकाउँछन् अनि समाजले सिकाउँछ ।

बालबालिकाहरुलाई अनावश्यक दवाव दिनु, सजाय दिनु (शारीरिक र मानसिक) भन्दा उत्प्रेरणा जगाउनु पर्छ । असल अभिभावकको दायित्व भनेकै लगानी गरेर मात्र नभई राम्रो आनिवानी आदत, संस्कार, संस्कृति र अभिभावन प्रदान गर्नु हो ।

बालबालिकाहरुलाई तपाई कस्तो हेर्न र वनाउन चाहनुहुन्छ त्यही अनुसार अभिभावकहरुका आनिवानीमा पनि परिवर्तन गर्नु जरुरी छ । माया सद्भाव मित्रतासँगै आवश्यक समय पनि दिनु जरुरी छ । नत्र कुसंस्कार, कुसंगत, कुलतको वाटो अवलम्वन गर्न पनि के वेर ?

बालबालिकाहरुले भनिहाले, मागीहाले भन्दैमा अनावश्यक सामग्रीहरु र नकारात्मक परिणाम दिने गरी पुलपुल्याउनु पनि घातक हुन सक्छ । वरु उनीहरुलाई स्वाबलम्बी परिश्रमी बन्न प्रेरित गर्नु पर्छ । ध्यान, योग, साधना, असल संस्कार र संगतमा सहभागी गराउनु पर्छ ।

वास्तवमा भन्ने हो भने बालवालिकाहरुको मन कहिल्यै पनि नराम्रो तर्फ जान्न अर्थात हुन्न वरु हामी अभिभावकहरुकै आग्रह पूर्वाग्रह, द्वेस, इश्र्याका कारण उनीहरुलाई प्रभाव पर्न जाने रहेछ । उनीहरुका कमजोरीहरुलाई वारम्वार उठान गरी वालविज्याईमा स्वयम् हामी अभिभावकहरु पो सम्लग्न हुँदा रहेछाँै ।

आफ्ना बालवालिकालाई असल हुनुपर्छ भन्ने स्वयम् अभिभावक कति सांस्कारीक, असल, इमान्दार, अध्ययनशिल, चिन्तनशिल र उर्जाशिल छौँ र हुने भन्ने कुरा स्वयम्ले हेक्का राख्नु पर्ने जरुरत छ । अहिलेको पछिल्लो पुस्ता प्रविधियुक्त समयले हामीभन्दा कैयौं गुणा जानकार हुन्छन् । तर त्यो जानकारी अहमतामा परिणत भयो भने त्यो प्रत्युत्पादक हुन सक्दछ ।

अभिभावकहरु र सरोकारवालाहरुले बालअधिकारका आधारभूत सवालहरुको न्यूनतम शर्तहरु मात्र अपनाएमा वा जानकार भएमा पनि उमेर अनुसार उनीहरुको ज्ञान, शीप धारणा र व्यवहारलाई परिवर्तनसँग जोड्न सकेमा, उनीहरुसँग फलामे अनुशासन नभई जिम्मेवारयुक्त र बालमैत्री व्यवहार गर्न सक्नु आवश्यक छ ।

बालबालिकाप्रति सकारात्मक व्यवहार, उचित वातावरण, उपर्युक्त पोषण तथा उत्प्रेरणा आवश्यक हुन्छ । जसले उनीहरुलाई भविश्यमा सिर्जनशिल र उत्पादनशिल व्यक्तिका रुपमा विकास गर्नका लागि महत्वपूर्ण भूमिका खेल्दछ ।

हामीले उनीहरुसँग जानेर नजानेर कतिपय गर्नु हुने तथा गर्न नहुने व्यवहार गरिरहेका हुन्छौं । त्यस तर्फ अभिभावक, परिवारका सदस्य, समुदायका व्यक्ति, शिक्षक लगायतका सबै सम्बद्ध पक्षहरु चनाखो हुनु पर्दछ ।

(अधिकारकर्मी तथा सञ्चारकर्मी खतिवडा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान पाँचथरका संयोजक हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्