विश्वभरिमा कोरोना भाइरस सङ्क्रमण हुनेको संख्या ५० लाख नाघ्यो



फिदिम । संसारभरि कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको संख्या ५० लाख पुगेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कले देखाएको छ ।

कोरोनाभाइरसका कारण मृत्यु हुने व्यक्तिको संख्या ३,२८,००० भन्दा बढी छ । विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले बुधवार संसारभरि १,०६,००० जनामा सङ्क्रमण पुष्टि भएको बताएको थियो ।

यो एकै दिन पुष्टि भएको सबैभन्दा ठूलो संख्या हो । अहिलेसम्म अमेरिका, रुस, ब्राजिल र यूकेमा सर्वाधिक सङ्क्रमित छन् । एशियामा भारत सबैभन्दा बढी प्रभावित देखिएको छ ।

एक लाखभन्दा बढी सङ्क्रमण भएका देशहरू
अमेरिकाः १,५५१,८५३
रुसः ३०८,७०५
ब्राजिलः २९१,५७९
यूकेः २४९,६१९
स्पेनः २३२,५५५
इटलीः २२७,३६४
फ्रान्सः १८१,७००
जर्मनीः १७८,४७३
टर्कीः १५२,५८७
इरानः १२६,९४९
भारतः ११२,४४२
पेरुः १०४,०२०
(सन् २०२० मे २१ तारिखमा अद्यावधिक गरिएको । स्रोतः जोन्स हप्किन्स विश्वविद्यालय अमेरिका)

डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले कम र मध्यम आय भएका देशहरूमा सङ्क्रमण बढिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

पछिल्लो दश लाख सङ्क्रमण दुई हप्ताभन्दा कम समयमा भएको तथ्याङ्कले देखाउँछ । विज्ञहरूले सङ्क्रमितको कुल संख्या परीक्षणको अभावमा कम देखिएको हुन सक्ने बताउँदै आएका छन् ।

बुधवार डा. टेड्रोसले भने, “विगत २४ घण्टामा १,०६,००० वटा सङ्क्रमण पुष्टि भएका छन् जुन एकै दिनमा देखिएको सर्वाधिक संख्या हो । यीमध्ये झन्डै दुईतिहाइ सङ्क्रमण चारवटा देशमा छन् ।” उनले यो महामारी अझै लामो समय चल्न सक्ने पनि बताए । (बीबीसी नेपालीबाट)

प्रतिक्रिया दिनुहोस्