

फिदिम । कोरोनाभाइरसबाट सङ्क्रमित गुल्मीका ४१ वर्षीय पुरुषको बिहीवार बिहान उपचारको क्रममा मृत्यु भएको छ ।
प्रदेश नं ५ को प्रादेशिक सामाजिक विकास मन्त्रालयले एक विज्ञप्तिमा उनको बिहीवार बिहान निधन भएको पुष्टि गरेको हो ।
सामाजिक विकासमन्त्री सुदर्शन बरालले हस्ताक्षर गरेको वक्तव्यमा भनिएको छः “उहाँलाई बचाउन अनेकौँ प्रयास गर्दा पनि बचाउन नसकिएकोमा निकै दुःखी छौँ ।”
नेपालमा कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या तीन पुगेको छ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या पनि बढिरहेको छ ।
जेठ १ गते ज्वरो र टाउको दुखाइको समस्या लिएर रुपन्देहीको क्रिमसन अस्पतालमा पुगेको उनको सघन उपचार कक्षमा उपचार भइरहेको थियो ।
अस्पतालका अनुसार उनको स्वाब प्रादेशिक प्रयोगशालामा परिक्षण गर्दा जेठ ५ गते कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो ।
प्रदेश स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर प्रसाद चौधरीले भने, “भेन्टीलेटरमा उपचार गरिएका उनको बिहीवार बिहान ७ बजेर १० मिनेट जाँदा निधन भएको छ । अब हामी उनको दाहसंस्कारको प्रक्रियामा छौँ ।”
गुल्मी जिल्लाको मदाने गाउँपालिका वडा नं ६ बस्ने शिक्षक पेशामा संलग्न उनलाई कसरी सङ्क्रमण भयो भन्ने बारेमा अनुमान नै गर्न नसकेको गाउँपालिका अध्यक्ष दानबहादुर केसीले बताए ।
“निमोनियाले गर्दा स्वास्थ्य स्थिति कमजोर भएको उनलाई गाउँमा अरुसँग सम्पर्क भएर सङ्क्रमण भएको स्थिति देखिन्न” अध्यक्ष केसीले भने ।
उपचारको लागि बुटवल आउनु पहिले स्थानीय क्लीनिक र अर्घाखांचीको एक पोलिक्लीनिकमा उनी पुगेको बताइएको छ । अध्यक्ष केसीका अनुसार उनीसँग सम्पर्कमा भएका र उनका परिवारका सदस्यहरुको स्वाब सङ्कलन गरिएको छ । (बीबीसी नेपालीबाट)