बुधबार थपिए २५ जना कोरोना संक्रमित



फिदिम । नेपालमा बुधबार २५ कोरोनाभाइरसका संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारी अनुसार थपिएका संक्रमितमध्ये १८ पुरूष र ७ महिला छन् ।

बाँकेमा ६, धनकुटामा ५, कपिलवस्तुमा १३ र नवलपरासी पश्चिममा १ जना संक्रमित थपिएका छन् । उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य छ ।

योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ४२७ पुगेको छ । आजै कोसी अस्पतालमा रहेका उदयपुरका ८ जना कोरोना संक्रमित डिस्चार्ड भएका छन् ।

यसअघि मंगलबार काठमाडौं उपत्यकाका तीन जिल्लामा ५ जनासहित देशभर जम्मा ३२ जना कोरोना संक्रमित थपिएका छन् । हिजो संक्रमितको संख्या ४ सय ७ पुगेको थियो ।

यीबाहेक मंगलबार थपिएका संक्रमितहरूमा काठमाडौंका ३, झापाका ९, कपिलवस्तुका ४ र सर्लाहीका २ जना थिए । यस्तै सुनसरी, मोरङ, सिन्धुली, रामेछाप, ललितपुर, भक्तपुर, मकवानपुर, लमजुङ र नवलपरासीका एक–एक जना थिए ।

गत सोमबार एकै दिन ८० जना संक्रमित थपिएका थिए । अहिलेसम्म संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ भने ४५ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्