

फिदिम, ७ जेठ
पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नं. ३ आरुबोटेमा दुई परिवारका नौ जनाको सामूहिक हत्याको एक वर्ष पूरा भएको छ ।
गत वर्ष जेठको ७ गते विहान स्थानीयवासीले यहाँका बमबहादुर फियाक र धनराज शेर्माको परिवारका नौ जनालाई धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा फेला पारेका थिए । करीब १५ मिनेट पैदल दूरीमा घर रहेका फियाक र शेर्मा ससुरा–ज्वाँइ हुन् ।
घटना भएको एक वर्ष पूरा हुँदा समेत गाउँलेहरुले यो घटनालाई निकै अन्यौल र चासोका साथ हेरिरहेका छन् । आरुबोटेका स्थानीयवासी दैनिक जसो उक्त घटना सम्झने गर्दछन् । एकै जना ब्यक्तिबाट उक्त घटना घटाइएको प्रहरी निश्कर्ष रहेपनि सोही कुरा गाउँलेमाँझ प्रभावकारी रुपमा नपुग्दा कतिपयले शंकाको दृष्टिले समेत हेर्ने गरेका छन् ।
यस्तो थियो घटना

०७६ जेठ ६ गते मध्यरात बमबहादुरकी छिमेकी कान्छीमाया फियाकको ढोकामा ‘बोजु, बोजु …’ (हजुरआमा) भन्ने आवाज आयो । बमबहादुरकी नातिनी सीता खजुमको आवाज कान्छीमायाले थाहा पाइहालिन् । उनले घरको ढोका खोलिन् । सीता घरमा छिरेर ढोका विस्तारै ढोका लगाइन् । उनी रगतमा लतपतिएकी र हातमा चोट लागेको अवस्थामा थिइन् ।
कान्छीमायाको घरमा त्यो दिन अर्की गाउँले दिदी पनि थिइन् । सीताले मखुण्डो लगाएका ब्यक्तिहरुले परिवारका अन्य सदस्यहरुलाई खुकुरी प्रहार गरिरहेको सुनाइन् । कान्छीमायाले चोट लागेको सीताको हात कपडाले बाँधिदिइन् ।
अत्यासलाग्दो अवस्थामा उनीहरुले रात विताए । गाउँमै रात विताएकी अर्की छिमेकी सुनकान्छी फियाक विहान घर आइन् । बमबहादुरको घरमा कोही नउठेपछि खोज्दै पुगिन् । बमबहादुरको घरको नजिकै कान्छीमाया र सुनकान्छीको घर छ ।
घरको सिकुवामा बमबहादुरको विभत्स हत्या भएको अवस्थामा शव भेटेपछि उनी अत्तालिइन् । घर माथिको डाँडोमा निस्किएर चिच्याइन् । गाउँहरु भेला भए । कान्छीमाया पनि गाउँलेहरुको आवाज सुनेपनि घर बाहिर निस्किइन् ।
यो घटना गाउँ, जिल्ला हुँदै देशभर फैलियो । विभत्स र अमानवीय उक्त सामूहिक हत्याकाण्डले सबैको ध्यान तानेको थियो । गत वर्षको जेठ ६ गते राती भएको घटनामा ७४ वर्षीय बमबहादुर फियाक सहित उनको घरमा उनकी पत्नी ७१ वर्षीय फुर्चीमाया फियाक, कान्छी छोरी २६ वर्षीया मनकुमारी फियाक र नातिनी (साइँली छोरीकी छोरी) १० वर्षीय आशिका खजुमको हत्या भएको थियो ।
आशिकाकी दिदी सीता भागेर बाँच्न सफल भइकी थिइन् । सीता अहिले प्रदेश सरकारको संरक्षणमा सुनसरीमा बसेर पढ्दैछन् । यस्तै बमबहादुरका ज्वाइँ ४१ वर्षीय धनराज शेर्माको घरमा उनीसहित उनकी पत्नी २६ वर्षीया जस्मिता फियाक (शेर्मा), उनीहरुका छोरीहरु १२ वर्षीय युहाना शेर्मा र १० वर्षीय मुना शेर्मा तथा भतिजी आठ वर्षीया इच्छा शेर्माको हत्या भएको थियो ।
दोषीले गरेका थिए आत्महत्या

प्रहरीले घटनाको अनुसन्धान थाल्दै गर्दा बमबहादुरका कान्छा ज्वाइँ मिक्लाजुङ–८ लिम्बाका मानबहादुर माखिम घर नजिकैको जंगलमा झुण्डिएको अवस्थामा मृत फेला परे । यसपछि उक्त हत्याकाण्डको सम्पूर्ण अनुसन्धान मानबहादुरमा केन्द्रीत भयो । घटनाको अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोली समेत यहाँ ल्याइयो ।
मानबहादुरको साथबाट फेला परेका खुकुरी, डोरी तथा लत्ताकपडा, उनको मोवाइलको नेटवर्कको लोकेसन र घटनापछि उनले गरेको फोन सम्पर्कका आधारमा मानबहादुरलाई प्रहरीले हत्यामा सम्लग्न एकमात्रै अभियुक्त ठह¥याएको छ ।
यद्यपी उक्त घटनाको फाइल अझै पनि बन्द भएको छैन् । “सबै प्रमाणहरुले आत्महत्या गर्ने ब्यक्ति नै दोषी हो भन्ने निश्कर्षमा प्रहरी पुगेको छ”, जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले भन्नुभयो ।
उक्त घटनापछि आरुबोटेमै प्रहरीको अस्थायी चौकी बसेको छ । “स्थानीयको त्रास न्यूनिकरण गर्न प्रहरी राख्नैपर्ने भयो । घटनास्थलको नजिकै वडा कार्यालय र केही पर विद्यालय रहेकाले प्रहरी चौकी स्थापना गरिएको हो”, प्रनाउ न्यौपानेले भन्नुभयो ।
सधैँ सम्झन्छन् गाउँले

वडाध्यक्ष हस्तराज फियाकका अनुसार गाउँलेहरुले उक्त घटनाबारे दैनिक कुराकानी गरिरहेका हुन्छन् । “गाउँको केन्द्र भाग जस्तो स्थानमा यो हृदयविदारक घटना भयो । गाउँलेहरु धेरै समय त त्रासमै बसे । अहिले जनजीवन सामान्य भएपनि दैनिक कुराकानी गर्छन्”, वडाध्यक्ष फियाकले भन्नुभयो ।
“एक त यस्तो सोच्नै नसकिने घटना भयो । एकै ब्यक्तिबाट नौ जनाको हत्या भयो । दोश्रो बमबहादुर र धनराजका परिवार आफैँमा अलग र गाउँलेको आँखामा नबिझाउने थिए । यसैले गाउँलेहरु सधैँ सम्झन्छन्” वडाध्यक्ष फियाकले थप्नुभयो । धनराजको घर वडा कार्यालय तथा आरुबोटे बजारकै छेउमा भएकाले पनि सबैले देख्ने र सम्झने गरेको स्थानीयको भनाई छ ।
अहिले गाउँमै प्रहरी बसेकाले गाउँलेहरु असुरक्षित महशुस भने गर्दैनन् । तर मानबहादुर एक्लैले सबैको हत्या गरे वा गरेनन् भन्ने कुरामा गाउँलेहरुवीच एकमत छैन् । “धेरै कुराहरु आउँछन् । प्रहरीले आश्वस्त पार्न पनि सकेको छैन्”, वडाध्यक्ष फियाकले भन्नुभयो ।
उक्त घटनाको फाइल बन्द नभएकाले घटनाबारे प्रहरीले सार्वजनिक रुपमा केही भन्न नसक्ने प्रनाउ न्यौपानेको भनाई छ । “घटनाका थप प्रमाण प्राप्त हुन सक्छन् । यसैले सार्वजनिक रुपमा केही भन्न त सकिएन् । तर हाम्रो निचोड भनेको त्यहि झुण्डिएर मर्ने ब्यक्तिले घटना घटाएको हो”, प्रनाउ न्यौपानेले भन्नुभयो, “थप केही कुरा आए सार्वजनिक गरिहाल्छौँ । त्रास नहोस् भनेरै प्रहरी चौकी स्थापना गरिएको हो ।”
रित्तै छन् दुवै घर
बमबहादुर फियाकका छोरा नभएकाले माइला ज्वाइँ धनराज शेर्मा वृद्ध सासूससुराको हेरचाह गर्न पुख्र्यौली थलो सराङडाँडाबाट ससुराली गाउँ आरुबोटे बसाई सरेर गएका थिए । हत्याकाण्डपछि दुवै घर रित्तै भएका छन् । घटनाको केही दिनसम्म घरहरु सिल गरिएका थिए ।
पछि यहीँ आफन्तले काजकिरिया गरे । त्यसपछि दुवै घर रित्तै रहेको वडाध्यक्ष फियाकले वताउनुभयो । “यहाँ कोही बस्न सक्ने कुरा भएन् । नजिकका आफन्त जग्गा जमिन भोगचलन गर्न समेत डर मानिरहेका छन्”, वडाध्यक्ष फियाकले भन्नुभयो ।
(तस्वीरहरुः
पहिलो – सामूहिक हत्याकाण्डमा मारिएका नौ जनाका विगतमा खिचिएका सामूहिक तस्वीरहरु ।
दोश्रो – बमबहादुर फियाकको घर ।
तेश्रो – धनराज शेर्माको घर र
चौथो – घटनापछि भेला भएका विभिन्न स्थानका सर्वसाधारण ।
सबै तस्वीरहरुः रवीन्द्र काफ्ले ।)