आफैँलाई विश्वास नलागेको त्यो ‘ब्रेकिङ’



रवीन्द्र काफ्ले

पत्रिकाको कामले विहान ५ः४५ बजे कार्यालय पुगेको थिएँ । ६ः३० मा काम सकियो । निस्कन लाग्दा लेखनाथ दाइबाट फोनमा सन्देश आयो– ‘आरुबोटेमा दुईका सबै मान्छे मारिएका छन् भन्ने कुरा आयो । फलो गर्ने माध्यम बहादुरसिंह नेम्वाङ हुनुहुन्छ । म नांगीन छु, अब फिदिम हिँडेको ।’ बहादुरसिंह नेम्वाङ, फाल्गुनन्द गाउँपालिका वडा नं. २ को अध्यक्ष, उहाँ अध्यक्ष भएको गैरसरकारी संस्था मिलन केन्द्रले उद्यमशिलता विकाससम्बन्धी तालिम चलाएको र केही दिनअघि आरुबोटेमै नुनमा सिसा मिसाइएको वारे म अपडेट नै थिएँ ।

लगत्तै बहादुरसिंह दाइलाई फोन गरेँ । उहाँले ‘त्यहाँ अर्चना गुरुङ हुनुहुन्छ । उहाँबाट थप विवरण लिनुहोला । मारिएको निश्चित हो । प्रहरी पुगेको छैन्’ भन्नुभो । फोन काटियो, तत्कालै अर्चना गुरुङको नम्बर आयो । अर्चना गुरुङले एकै कलमा फोन उठाउनुभो । हल्ला सुनिँदै थियो । “म रवीन्द्र काफ्ले बोलेँ । तपाईँ आरुबोटेमा हुनुहुन्छ रे नि …” यति भन्न नपाई उहाँले दुई घरमा नौ जनाको धारिलो हतियार प्रहार गरी हत्या भएको वताउनुभयो ।

“अहिले प्रहरीले सिल गर्दैछ । अघि त खुल्लै थियो । हेर्नै नसकिने विभत्स छ । मान्छे त्राहिमाम छन् । भागेर बाँचेकी बच्चीको हातको सामान्य उपचार गर्दैछौँ … अरु के–के विवरण चाहिन्छ ?” मैले सोचेभन्दा मजाले उहाँले हतारमा तर परिपक्व हिसाबले विवरण खोज्दिनुभो । मृतकहरुको नाम, सम्बन्ध र उमेर तथा हत्याकाण्डमा बाँचेकी सीता खजुमले मखुण्डो लगाएका मानिसहरुको समूह आएको र आफू भाग्दा आक्रमणकारी लडेकाले आफू बाँचेको कुरा पनि त्यहि विवरण आयो ।

तत्कालै डिएसपी नरेन्द्र कुँवरलाई फोन गरेँ । फोन ब्यस्त थियो । अनि प्रहरी निरीक्षक अनिलकुमार पौडेललाई । फोन उठ्दा आवाज आयो “आरुबोटे घटना थाहा भो होला नि काफ्ले जी ?” मैले भनेँ “सुनेर फोन गरेको हुँ सर ।” “नौ जनालाई अघि राती धारिलो हतियार प्रहार गरी मारिएको सत्य हो । प्रहरी पुगेर सिल ग¥यो । कसले, कतिबेला, किन र कसरी हत्या ग¥योभन्ने खुल्न सकेको छैन् । बाँकी विवरण गाउँबाट लिने प्रयास गर्नुहोला । पुगेर केही वताउँला । …”


निकै सहयोगी पौडेलको यो भनाई नै समाचारका लागि प¥याप्त थियो । तर म रोकिइन । वडाध्यक्ष हस्तराज फियाकलाई फोन गरेँ । फिदिम नगरपालिकाले प्रकाशन गरेको जनप्रतिनिधिहरुको नम्बर रहेको बुकलेट सधैँ साथै हुनाले ठूलो फाइदा भयो । उहाँले भन्नुभयो “म घटनास्थल पुग्न लागेँ । हत्या भएको स्पष्ट हो । नौ जना नै हो । बमबहादुर फियाकको कान्छो ज्वाईँले मारेको हुनसक्ने आशंका छ । अहिलेलाई त्यो पनि नखुलाइदिनु होला ।”


घटनास्थलमा इलाका प्रहरी कार्यालयका निरीक्षक आइपुगेको वडाध्यक्ष फियाकबाट थाहा पाएँ । तत्कालै उहाँलाई फोन गरेँ । म पत्रकार हुँ भन्ने सुन्नेवित्तिकै उहाँले “हत्या भएको सत्य हो । घटनास्थललाई सिल गरिएको छ । अरु कुरा पछि मात्र पत्ता लाग्छ” भनेर फोन राख्नुभो । मसँग प¥याप्त स्रोत भए । अनि समाचार लेखेँ ।

झण्डै तीन सय शब्दको समाचार बन्यो । टाइपिङ छिट्टो भएकाले तत्कालै लेखेँ र राससमा पठाएँ । अनि कल गरेँ । समाचार टिपाउने ठाउँमा आश्चार्य ब्यक्त हुँदा नहुँदा समाचार सम्पादन गर्ने सर को हुनुहुन्थ्यो ? उताबाट फोन आयो । सबै स्रोत हेरेपछि कुनै शंकाले होइन्, कस्तो अचम्म हो भनेर सोध्न मात्रै थियो त्यो फोन । तत्कालै राससमा प्रकाशन भयो, राससपछि अनलाइनहरुमा ।

यति गर्दा म्यासेन्जर र फोन ब्यस्त भइसकेको थियो । मेरो समाचारपूर्व एक अनलाइनमा हत्या भएको हुनसक्ने भन्ने समाचार आएछ । तर मैले आधिकारिक रुपमा मृतकहरुको पहिचान सहितको समाचार ‘ब्रेकिङ’ गराएँ । ०७६ जेठ ०७ गतेको त्यहि समाचार देशकै ध्यान खिच्ने ब्रेकिङ बन्यो ।

तर त्यहि कुरा आफूलाई भने विश्वास लागेन् । मोवाइलमा कल रेकर्ड पनि थियो । सुन्ने फुर्सद थिएन्, तर विश्वास लाग्नै गाह्रो पर्ने । कान्तिपुर सहित धेरै अनलाइनले राससको समाचारकै आधारमा ब्रेकिङ गरे, स्रोत उल्लेख गरेरै । यति समाचार शेयर हुँदा मेरो आसपासका सबैलाई थाहा भइहाल्यो । मैले अनुषालाई फोन गरेरै जानकारी गराएँ, खाना बनाउन भनेँ । अनि २०० मिटर परको कोठा पुग्न डेढ घण्टा लाग्यो । सबैले सोध्ने, जवाफ दिनैपर्ने भयो ।

बाटोमै तुलसी ‘क्षितिज’ दाइ भेटिनुभो । आरुबोटे जाने निश्चय भएपनि मोटरसाइकल थिएन् । लक्ष्मी गौतम भेनालाई फोन गरेँ । उहाँ राकेँ कटिसक्नु भएछ । जसतसो तुलसी दाइले मोटरसाइकल खोज्नुभो । हतारमै खाना खाइयो, हिँडियो । तारन्तार फोन आए । सम्भव हुने जतिलाई जानकारी दिइयो । धेरैलाई रासस उल्लेखित समाचारमा प्राप्त भएजति विवरण उल्लेख रहेको बताएँ । धेरैको जिज्ञासा चाँहि कसले किन यस्तो नृशंस हत्या ग¥यो भन्ने नै थियो ।

गत वर्षको जेठ ६ गते राती भएको घटनामा बमबहादुर फियाक सहित उनको घरमा उनकी पत्नी पुर्चीमाया, कान्छी छोरी मनकुमारी र नातिनी (साइँली छोरीकी छोरी) १० वर्षीय आशिका खजुमको हत्या भएको थियो । यस्तै ज्वाइँ धनराज शेर्माको घरमा उनीसहित पत्नी जस्मिता, १२ वर्षीय छोरी युहाना, १० वर्षीय मुना र भतिजी आठ वर्षीया इच्छाको हत्या भएको थियो ।

हतारमै आरुबोटे पुगियो । घटनास्थल सिल गरिएको थियो । घटना भएका दुई घर करीब १५ मिनेट पैदल दुरीमा थिए । घटनास्थल नपुगी घटनाका दोषी ठानिएका बमबहादुर फियाकका कान्छा ज्वाई मिक्लाजुङ–८ का मानबहादुर माखिमले आत्महत्या गरेको थाहा पाइयो । प्रहरी पुगिसकेको थियो । त्यहाँ जाने बाटो कठीन रहेकाले आरुबोटमै बसेर थप विवरण लिएँ । मृतकका आफन्त र छरछिमेकीहरुसँग केही पृष्ठभूमिहरु खोजियो, धेरै कुरा पाइयो । तस्वीरहरु लियौँ ।

ल्यापटपको ब्याट्री बिग्रेकाले बोकेको थिइन् । नजिकै रहेको वडा कार्यालय गएँ । आधा समाचार त्यहाँको कम्प्युटरमा तयार पार्दा झ्याप्पै लाइन गयो । किनकी त्यहाँ लघु जलविद्युतबाट काम हुन्थ्यो । वडा सचिव सञ्जय राईले भन्नुभयो “सधैँ ४ बजे जान्थ्यो । आज ३ बजे नै गयो । यत्रो दुर्घटना, जिल्लाबाट तपाईँहरु आउनुभएको । के गर्ने हाम्रो वसमा यी कुरा छैनन् ।” मोवाइलमा राम्रोसँग इन्टरनेट नचल्ने । साथीहरुका ल्यापटपमा पनि समस्या भयो ।

मिक्लाजुङ गाउँपालिकाकी उपाध्यक्ष उर्मिला राईले खाजा खाने प्रवन्ध गर्नुभयो । ३ बजे संघीय प्रहरी इकाईको टोली र मानबहादुरले आत्महत्या गरेको स्थानमा पुगेको टोली आइपुग्यो । थोरै सम्वाद भएपछि समाचारका लागि धेरै विवरण उपलब्ध भए । दर्जनौँ गाउँबाट आएका हजारौँ मान्छेका कुरा सुन्यौँ । अनि फिदिम फर्कियौँ ।

क्यामेराको काम मोवाइलले गर्नु, त्यहि बेला ल्यापटप नहुनु र ग्रामीण क्षेत्रमा राम्रोसँग चल्ने इन्टरनेट नहुँदा हुने दुःख शायद त्यो दिन सबैभन्दा बढी अनुभूत भयो । त्यो भन्दा बढि त घण्टा–घण्टामा फलो गर्ने मिडिया हाउसमा थिइन् मसँग । केही विवरण रातोपाटीलाई दिएँ । किनकी विगतमा म त्यहाँ समाचार पठाउँथे । एक तिहाई समाचार प्रकाशन पनि हुन्थे । फिदिम आइपुग्दा देखेँ, दिउँसो मसँग भएकाभन्दा धेरै कमजोर सूचनाले मिडियामा समाचारको स्वरुप पाए । म जस्तो एउटा फिल्डमा पुग्ने पत्रकारका कुरा आम पाठकमाँझ लैजाने उपयुक्त माध्यम छैन् वा कसैले त्यो आवश्यकता ठान्दैन् भन्ने लाग्यो ।

८ः३० बजे फिदिम आई एक थान समाचार र पाँच थान तस्वीर राससमा पठाएँ । त्यसले धेरै भ्रम त चिर्यो तर ढिला भइसकेको थियो । त्यस दिन डेक्सबाट हरि लामिछाने सरले गर्नुभएको रेस्पोन्स मैले मेरो संस्था र अरु सञ्चार माध्यममा पनि खोजेँ । हत्या गरिएका बमबहादुर फियाक र धनराज शेर्माको शव देखेपछि मान्छेको पशुवत रुपबारे धेरै दिन मथिङ्गल हल्लिरह्यो । यस्तो दुःखद् दृश्य जीवन फेरी नदेखियोस् भन्ने कामना गरेँ ।

यो घटनामा धेरै तथ्यहरुले मानबहादुर माखिमले आफ्नी श्रीमती मनकुमारी फियाकको भिनाजु धनराजसँग नाजायज सम्बन्ध रहेको आशंकाले हत्या भएको पुष्टि हुन्छ । यद्यपि मानबहादुरले किन भाग्ने प्रयास गरेनन् ? उनी एक्लैले नौ जनाकै हत्या गरेका हुन् त ? एकै ब्यक्तिले आक्रमण गर्दा दुवै परिवारका कोही पनि किन चिच्याएनन् वा कसरी गाउँलेले सुनेनन् ? धनराजको घरको ढोका कसरी फोरियो ? यसअघि नुनमा सिसा मिसाइएको घटनापछि के दुवै परिवार ढोका खुल्लै छोडेर सुत्थे ? कि मानबहादुरले दुवै घरमा गए, गफगाफ गरे अनि हत्या गरे कि ? पाको उमेरका ससुरासँग उनी किन अत्यन्तै रुष्ट थिए ? यी र यस्ता सयौँ प्रश्नहरु मानबहादुरको आत्महत्यासँगै वेउत्तर भए ।

बमबहादुर फियाकको परिवार अहिले यहाँका ग्रामीण भेगका धेरै परिवारसँग मिल्ने अवस्थाको थियो । जो दुःखी, विपन्न र अँध्यारो भविश्यसँग जुधिरहेछन् । फेरी धनराज शेर्माको परिवार चाँहि एउटा नमूना । धनराजको वृद्ध सासू ससुराप्रतिको समर्पण भाव र उनको मेहनत देख्दा सबैका आँखा रसाउँथे । तर यो चकित पार्ने नृशंस हत्याकाण्डको रहस्य एक ब्यक्तिको आत्महत्याको गर्भमा हरायो ।

सबै मृतकहरु प्रति हार्दिक श्रद्धाञ्जली !

प्रतिक्रिया दिनुहोस्