अनिश्चितताले चुनौति निम्त्याउँदै गर्दा…



मञ्जु आचार्य

आजभोली त कोरोना संक्रमितको अपडेट पनि चुनावी मतगणनाको अपडेट झैँ लाग्छ । घण्टा घण्टामा यति र उति भन्दै अपडेट गराइरहन्छन् । तर फरक यति हो, चुनावी अपडेटले जानकारी मात्रै दिन्थ्यो, कोरोना अपडेटले डर र त्रास थपिरहेको छ । यति भनिरहँदा म चुनावी अपडेट निरन्तर फलो गर्ने मान्छे चाहिँ पक्कै होइन ।

कोरोनाले (विश्वब्यापी महामारी) विश्वलाई नै आक्रान्त पारिरहेका बेला नेपाल पनि अछुतो रहन सकेन । सावधानीका विधिहरु अपनाइरहदा पनि यसको रोकथाम हुन नसकनु एकदमै दुर्लभ पक्ष हो । अपनाइएका विधिहरु पो प्रभावकारी हुन सकेनन् कि ! कारण जे भएता पनि नेपाल आमा पिरोलोमा छट्पटाइरहदा उनका सन्तानहरुमा केवल प्रश्नहरुका लहर भन्दा केही पनि देखिएका छैनन् ।

सानो सुक्ष्म किटाणु, मानव जीवनको अस्तित्वलाई नै जोखिममा ढाल्ने गरि उदाउनु सबैका लागि अकल्पनीय नै थियो । घामको किरणलाई मडारिदै आएको बादलले सर्लक्क ढाकेझैँ डर, त्रास, भय, निराशा इत्यादिको केन्द्रबिन्दु बनेर प्रकट भइदियो जसको सामना गर्ने सामथ्र्य कसैमा रहेन ।

अब जोडाँै नेपालको परिप्रेक्ष, मुलुकले सामान्य गतिशिलता हासिल गर्दैगर्दा वीचमा ठूला–साना चुनौतीको सामाना गर्दै आइरहेको छ । धेरै अघिको इतिहास त मलाई थाहा छैन तर राणा शासनको निरङ्कुश शासनदेखि पछिका पञ्चायत, प्रजातन्त्र, २०४५ को भूकम्प, २०४६ को आन्दोलन, अनिपछि २०६२/०६३ को आन्दोलन, २०७२ को विनाशकारी भूकम्प, भारतले नेपालमाथि लगाएको नाकाबन्दी इत्यादि सबैलाई चुनौतिका रूपमा लिन सकिन्छ । त्यसैगरी वर्तमान समयमा राष्ट्रको गतिशीलतामा प्रमुख बाधकका रूपमा कोभिड–१९ को महामारी र लकडाउन देखिएका छन् ।

कोभिड–१९ का संक्रमित बढेसँगै यसले मृत्युको रुप लिइरहदा यो अझै भयानक डरलाग्दो बनेको छ । र यसको नियन्त्रणका लागि गरिएको लकडाउनको प्रत्यक्ष असर हरेक ब्यक्तिको दैनिकीमा देखिन्छ । सामाजिक, आर्थिक, राजनीतिक, भौतिक, भौगोलिक, साँस्कृतिक विकासमा यो तगारोको रुपमा तेर्सिएको छ ।

शिक्षा, स्वास्थ्य, यातायात, कृषि, सञ्चार, पर्यटन आदी क्षेत्रमा जटिल प्रभाव परेसँगै आफ्नो दैनिकी अनुरुप जीवनयापन गर्न नपाउँदा मानिसले यातनाकै शिकार भएझैँ महशुस गरेका छन् । सबै मानिस सामान्य जीवनशैलीमा फर्कन आतुर भएका छन्, तर कहिलेबाट नियमित दैनिकीमा फर्कन त सकिन्छ ? यस्तै अनेकौं अनुत्तरित प्रश्नहरुको लहरले हरेक ब्यक्तिको मनको दैलो खटखटाइरहेको छ ।

लकडाउनको प्रत्यक्ष असर शिक्षा क्षेत्रमा परिरहँदा, सफलताका सिंढी चढ्न अनि झुपडीलाई घरमा परिणत गर्नका निम्ति निरन्तर मेहनतसँगै संघर्ष गरिरहेका हामी जस्ता विद्यार्थीको भविश्यमाथि प्रश्नचिन्ह खडा भएको छ । चन्द्रमा छुने उद्देश्य बोकेका हरेक निर्मल मानवको सपना सपनानै रहने पो हो कि भन्ने पिरले विद्यार्थीहरुलाई पिरोलिरहेको अवस्था छ ।

देशमा जस्तोसुकै चुनौति र परिस्थिति आएपनि अग्रसर भएर छाति थाप्ने दायित्व सरकारको रहन्छ । तर यहाँ त हानथाप, लुछाचुडी, खुट्टा तानातान भन्दा केही पनि देखिँदैन । कोरोनाको चपेटामा देश परिरहदा यसको रोकथामका नाममा गरिने वेइमानी, भ्रष्टाचार कम भएका छैनन् । परिवारमा चरम किठनाई आउँदा पनि कसैले आफ्नो स्वार्थका निम्ति मात्रै कदम चाल्छ भने त्यो भन्दा लाचार, बेइमानी र जिम्मेवारहिन कोही पनि हुन सक्दैन ।

निम्जोलाई हेप्नु त नेपालीको रिति नै हो तर निम्जोलाई कुल्चेर अघि बढने भन्दा पनि काधमा सहरा दिएर सँगै अघि बढाउनेलाई माथिल्लो दर्जामा राखिन्छ । भ्रष्टाचारमा लिप्त परिरहेको नेपाली समाजमा अहिले पनि अवस्था मथ्थर भएको छैन । रुपैयाँको आम्दानीले जीवनयापन गर्ने जनता भएको मेरो देशमा करोडौंको भ्रष्टाचार हुन्छ अनि त्यो भ्रष्टाचारलाई ढाकछोप गर्न अर्को भ्रष्टाचार गरिन्छ ।

अर्थतन्त्रमा ठूलो धक्का लागिरहेका बेला सबै क्षेत्र समेट्ने त समय पनि नहोला । यद्यपि स्वास्थ्य क्षेत्रलाई जोड दिने समय यहि हो । तर क्वारेन्टाइनमा बसेका पत्रकारले चाउचाउको खाजा उपलब्ध भएको पत्र लेखिरहँदा देशको स्वास्थ्य स्थिति के कस्तो छ भनेर अड्कल काट्न सकिन्छ । आत्मबलले मात्रै कोरोना माथिको जित प्राप्त हुदैन । त्यो सँगसँगै पौष्टिक खाना अनि ब्यक्तिको मानसिक अवस्था पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।

यस्तो बिकराल परिस्थितिमा पनि सरकारले स्वास्थ क्षेत्रमा जोड नदिइरहदा नेपाल दोस्रो अमेरिका बनोस् भन्ने पर्खाइमा बसेको हो कि के हो ? बुझ्न सकिएको छैन् । त्यति सम्पन्न मुलुक अमेरिकाले त त्यो बिकराल परिस्थितिलाई न्यून गर्न सकेन् भने नेपालमा बढ्दो संक्रमित अनि मृत्युको सुरुवात भइरहदा महामारीले कुन रुप लिने हो ? भन्ने सोचले जनतालाई हतोत्साहित पारिरहेको छ । यदि यस्तै स्वास्थ्य स्थितिलाई अवलम्बन गर्ने हो भने त्यो दिन पनि टाढा छैन । तसर्थ स्वास्थ्य सेवाको सुधार आजको प्रमुख प्राथमिकता हुनुपर्ने देखिन्छ ।

यस्ता जति पनि समस्या छन् सबै गएर राजनीति अस्थिरतासँग ठोकिन्छन् । विगतका लामो समयदेखि राष्ट्रले शान्ति र सु–शासनमा ठूलो सफलता हात नपारिरहेका बेला देश र जनताका निम्ति, शान्ति व्यवस्ताका निम्ति, स्वतन्त्रताका निम्ति, कानूनी राज्यका निम्ति, जिम्मेवार समाज निर्माणका निम्ति कुशल नेतृत्वको खडेरी परेकै हो त ?

राजनीतिको खुट्टा तान्ने परिपाटी, सकारात्मक विषय उठाए पनि बिपक्षीले बिरोध जनाउनै पर्ने, अनि कुर्सीको होडबाजीका शिकार जनता हुँदै आइरहेका छन् । र यहि होडबाजीको शिकार जनता नहुन र जुन जोगी आए पनि कानै चिरेको भन्ने उखान नेपाली राजनीतिमा सार्थक नबनोस् भन्ने आम नेपालीको चाहना मात्रै हो ।

कृषि प्रधान देश भन्नु अनि सँगसँगै खाद्यान्नमा आत्मनिर्भर नहुनु आफैँमा एउटा लाजस्पद कुरा हो । अर्थतन्त्रमै ठूलो प्रभाव परिरहदा खाद्यान्न आपूर्ति आगामी दिनको ठूलो चुनौति हुने देखिन्छ । विज्ञान र प्रविधि क्षेत्रमा आएको क्रान्ति जस्तै कृषि क्रान्ति भएर आत्मनिर्भर भएको भए आगामी दिन केही सहज हुन सक्थ्यो ।

भारतले पूर्वको पाँचथर अनि पश्चिम्मको लिम्पियाधुराबाट लुछ्न खोजिरहँदा पनि मौन बसेको सरकारको चौतर्फी आलोचना भइरहेको छ । अग्रजरुको बलिदानले एकीकृत गराएको मुलुकलाई आगामी दिनमा पनि सरकारले समेट्दै जाने हो भने मात्र त्यो बलिदानले मुर्त रुप पाउने छ । एउटै क्षेत्रको नक्सा दुई देशमा समावेश गर्दा यस्ले भाबी दिनमा झन् ठूलो विवाद निम्त्याउन सक्छ । तसर्थ सीमा विवादको दीर्घकालीन उपाय खोज्नुपर्ने समय आएको छ ।

स्वदेश भित्रिएका नेपाली अनि भारतीय नागरिकबाट महामारी पनि भित्रियो । तर विदेशी भूमिमा पनि आकाशमा बादल फैलिएझै संक्रमण फैलिरहदा बाध्यताले कमाउनका निम्ति अनि उच्च शिक्षाका निम्ति विदेश पलायन भएकाहरु फर्किएर आउने हुन कि होइनन भन्ने मानसिक चिन्ता अभिभावकलाई परेको छ । सरकारले विदेशी भूमीबाट फर्किन रोक लगाएसँगै एकातर्फ उनिहरुको आक्रोश छ त अर्को तर्फ अभिभावकको चिन्ता । तसर्थ छोराछोरीले अभिभावत्व नपाइरहदा अनि अभिभावकले छोराछोरी फर्कने आश गुमाइरहदा निकै तनावपूर्ण स्थिति सिर्जना भएको छ ।

नेपालको राजनीति अस्थिरता र यसले निम्त्याएका विकराल परिस्थितिहरु आजका लागि परिचर्चा गर्न नौला विषयहरु होइनन् । यो त परापूर्व कालदेखि चल्दै आएको छ र चलिरहने छ । तर वर्तमान जटिल समस्या बनेको कोरोनालाई गम्भीरतापूर्वक लिइयोस, जसले मुलुक मात्र होइन विश्वलाई नै अनिश्चिततातर्फ धकेलिरहेको छ ।

देशको नेतृत्व गर्नेहरुले गोजि भरेको भन्दा पनि घाउ भरेको हेर्न पाइयोस, कानमा तेल हालेको भन्दा पनि अरुका दुःखमा मलम लगाएको हेर्न पाइयोस् । बरु बिकासका कामलाई थाती राख्न सकिन्छ, मानिसको जीवन रहे विकास अवस्य हुनेछ ।

कोरोनाबाट बच्ने क्रममा यसले निम्त्याएको विषम परिस्थितिको शिकार कोहि पनि नबनुन् र विश्वब्यापि महामारीको चपेटालाई पन्छाउदै मानव जीवन आफ्नो नियमित दैनिकी तर्फ लम्बिन चाडैं सफल बनोस् । वर्तमान समयमा कोरोनामाथिको जित नै सबै भन्दा ठूलो उपलब्धि हुनेछ । विभिन्न भयावह परिस्थितिको सामना गरेर नेपालले जित हात पारी सकेको छ, कोरोनामाथिको बिजय पनि अवश्य हासिल हुनेछ । बस् समाजिक दुरी कायम गर्दै जतिसक्दो सावधानी अपनाउन नचुकौँ । आफू पनि बचौँ र अरुलाइ पनि बचाऔँ ।

प्रतिक्रिया दिनुहोस्