दुलाल हत्या प्रकरणः श्रीमतीले ढोका खोलिन, प्रेमीले श्रीमानको घाँटी कसे, साथीले खुट्टा समाए



विराटनगर । श्रीमतीकै योजनामा विराटनगरका औषधि व्यवसायी देवीप्रसाद दुलालको हत्या भएको प्रहरीले निष्कर्ष निकालेको छ । दुलाल पाँचथर पुख्र्यौली घर भई सुनसरीको खनारमा बसोबास गर्दै आएका थिए ।

श्रीमानसँग सम्बन्ध बिग्रिएपछि मीना श्रेष्ठ दुलालले ब्रम्हदेव साह र सोनु साहको सहयोगमा हत्या गरेको प्रहरीले बताएको हो ।

हत्यामा संलग्न भएको आरोपमा प्रहरीले श्रीमानको किरिया बसेकी मीना सहित उनका प्रेमी भनिएका ब्रम्हदेव साह र ब्रम्हदेवका साथी सोनु साहलाई पक्राउ गरेको छ ।

ब्रम्हदेव पछिल्लो समय विराटनगर बरगाछीको बुढाथोकी फार्मेसीमा काम गर्छन् । सोनु भने विद्यार्थी हुन ।

हत्याको पूर्व योजनासहित मीनाले बोलाएपछि शनिबार राति ब्रम्हदेव र सोनु डोरी र हत्याका लागि प्रयोग गर्न सर्जिकल ग्लोब्स लिएर दुलालको घर पुगेका थिए । हत्याका क्रममा फिङ्गर प्रिन्ट देखिने डरले उनीहरूले ग्लोब्स लगाएका थिए ।

पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा श्रीमतीको योजनामा हत्या भएको बताए ।

घाँटी कस्दा डोरी चुँडियो, तर पनि पग्लिएन योजनाकार श्रीमतीको मन

शनिबार राति दुलालको घरमा औषधि व्यवसायी हरिमोहन श्रेष्ठ र धनबहादुर काफ्ले पुगेका थिए । साथी पुगेपछि दुलालले खानापानको व्यवस्थापन गरे । दुईजना राति करिब नौ बजे दुलालको डेराबाट निस्किएका थिए ।

मदिरा सेवन गरेका दुलाल कोठामा सुत्न गए । मीना र दुलाल एउटै कोठाको छुट्टा छुट्टै खाटमा सुत्छन् ।

श्रीमान सुत्न गएपछि ब्रम्हदेवलाई बोलाउँछिन् । न्यूरो अस्पतालको फेसबुक फार्मेसी अगाडि मोटरसाइकल राखेर पैदल दुलालको डेरा पुगेका ब्रम्हदेवलाई सिँढीमा लुक्न लगाउँछिन् ।
आधा घण्टापछि मीनाले इसारा गर्दै बोलाएर ढोका खोल्छिन् । भित्र कोठामा दुलाल सुतिरहेका थिए । मदिराको नसामा सुतेका दुलालको घाँटीमा ब्रम्हदेवले डोरीले कस्छन् ।

सोनुले उनको खुट्टा समात्छन् । यो बीचमा दुलालले प्रतीकार गर्न खाजेका छन् । प्रतीकार गर्दा उनको निधार झ्यालमा ठोक्किएर चोट लागेको थियो भने घाँटीमा कस्सिएको डोरी चुँडिएको प्रहरी अनुसन्धानले देखाएको छ ।

दुईजनाले हत्या गरिरहँदा श्रीमती मीनाले पनि सघाइन् । शास चल्न बन्द भए पनि उनीहरूले ब्रम्हदेव र सोनुले छाड्दैनन् । पेट र शरीरका अन्य भागमा लात्तीले हान्छन् ।

हत्याका क्रममा संघर्ष चल्दा दुलालको घाँटीमा गहिरो डाम बसेको थियो । डाम देखिएपछि छोप्न भन्दै मीनाले एक बट्टा पोन्ड्स पाउडर लगाइदिइन् । ११ बजेदेखि करिब आधा घण्टाको प्रयासमा दुलालको ज्यान गयो । तर हत्यापछि तीनजना दुई बजेसम्मसँगै बसे ।

२ बजेपछि सोनु र ब्रम्हदेव निस्किएपछि मीनाले छिमेकी र देवीप्रसादका साथीलाई फोन गरी श्रीमान अचेत छन् भन्दै बोलाइन् । एम्बुलेन्समा हालेर गोल्डेन अस्पताल ल्याएका थिए । अस्पतालले मृत घोषणा गरेपछि मीना रुन थालेकी थिइन् ।

सबक सिकाउने योजना पुरानै

प्रहरीका अनुसार चार वर्षअघिदेखि पाँच महिनाअघिसम्म ब्रम्हदेव दुलालको माँ देवी पाथिभरा फर्मामा काम गरे । यो बीचमा दुलालकी श्रीमतीसँग ब्रम्हदेवको हिमचिम बढेको थियो ।

श्रीमतीसँगको सम्बन्ध थाहा पाएका कारण श्रीमान–श्रीमतीमा बेमेल थियो । आफ्नो श्रीमानले गरेको व्यवहार मीनाले ब्रम्हदेवलाई सुनाउँथिन् । उनले श्रीमानलाई सबक सिकाउने योजना रहेको बताउँथिन् । ब्रम्हदेवले गत माघमा विवाह गरेको थिए । तर मीनासँगको संवाद निरन्तर चलिरहेको थियो ।

शनिबार राति एउटा बेडमा श्रीमती मीना र ८ वर्षीय छोरा सुतेका थिए । दुलाल छुट्टै बेडमा सुतेका थिए ।

दुलालको घर सुनसरी खनार हो । तर करिब ६ वर्षयता उनी विराटनगरमा बसेर माँ देवी पाथिभरा फर्मा सञ्चालन गरिरहेका थिए ।

मीना श्रेष्ठसँग उनले १० वर्षअघि प्रेम विवाह गरेका थिए । उनका ८ वर्षीय छोरा छन् । उनीहरू वैदेशिक रोजगारीका लागि डेनमार्क पनि पुगेका थिए । (कोशी अनलाइनबाट)

प्रतिक्रिया दिनुहोस्