हजारौँ सङ्क्रमित भए के गर्ने ? मन्त्रालयका सल्लाहकार भन्छन्ः सबैलाई अस्पतालमा राख्नु पर्दैन्



फिदिम । मुलुकका विभिन्न सहरमा सङ्क्रमण बढेसँगै नेपालमा पनि अस्पताल तथा विभिन्न पूर्वाधार अपुग रहेको बताइएको छ । तर स्वास्थ्यमन्त्रीका विज्ञ सल्लाहकार डा. खेम कार्कीका अनुसार नेपालमा अहिलेका सङ्क्रमितहरूमा सामान्य सङ्केत मात्रै देखिएको छ र उनीहरूलाई अस्पतालमा विशेष उपचारको आवश्यकता थिएन ।

“तर सङ्क्रमण नफैलियोस् भन्ने उद्देश्यले उनीहरूलाई अस्पताल ल्याउन खोजिएको हो” उनले भने “तर सङ्क्रमितहरूको संख्या बढ्दै गयो भने तीमध्ये पनि अस्पताल नै भर्ना गर्नुपर्ने आवश्यकता रहेकाहरूलाई मात्रै हामी भर्ना गर्नेछौँ ।” केही स्थानबाहेक अन्यत्र शय्या उपलब्ध भएको उनको दाबी छ ।

पछिल्लो छ महिनाको विश्वव्यापी तथ्याङ्क हेर्दा दुईदेखि तीन प्रतिशत मानिस मात्रै अस्पताल नै बस्नुपर्ने गरी बिरामी हुने देखिएको डा. कार्की बताउँछन् ।

“अहिलेसम्म स्वास्थ्य मन्त्रालयअन्तर्गत झन्डै २५,००० देखि २६,००० बेड (शय्या) हामीसँग छ । त्यसमा कति बेड आइसोलेसनका लागि अर्थात् सङ्क्रमितको उपचारका लागि अलग्गै राख्न सक्छौँ भनेर हेर्दा झन्डै ३,००० हुनेरहेछ” उनले भने ।

सङ्क्रमण व्यापक रूपमा फैलिएको अवस्थामा सबै अस्पतालमा आफैँ कोभिड–१९ को उपचार गर्ने अस्पतालमा परिणत हुने उनको भनाइ छ ।

“तर हाम्रो अहिलेसम्मको अनुमान भनेको त्यो अवस्था आउँदैन भन्ने हो । उदाहरणका लागि गम्भीर रूपमा बिरामी भएकालाई मात्रै अस्पताल लाने हो भने पनि ९०,००० देखि एक लाख सङ्क्रमित हुँदा अस्पताल पुग्ने करिब ३,००० हो” उनले थपे ।

उनका अनुसार नेपाल अहिलेसम्म सङ्क्रमण रोकथाम गर्न सक्ने अवस्थामा छ । पछि गएर विभिन्न सामग्री तथा उपकरण चाहिन सक्ने र त्यसका लागि हाल तयारी भइरहेको अधिकारीहरूको भनाइ छ ।

“विभिन्न देशबाट त्यस्ता सामाग्री ल्याउन पहल गरिरहेका छौँ । सरकार सरकारबीच सहमति गरेर खरिद गर्ने हाम्रो योजना छ” कार्कीले भने । नेपालका लागि अर्को समस्या सङ्क्रमितहरूले उठबस गरेकाहरूको कन्ट्याक्ट ट्रेसिङ पनि रहेको अधिकारीहरू स्वीकार्छन् ।

“यसमा सङ्क्रमित व्यक्ति इमान्दार हुनुपर्छ। नागरिकको यसमा ठूलो दायित्व छ” उनले भने । डा. कार्कीका अनुसार अस्पतालमा भर्ना भएकाहरूलाई अलग्गै राखिन्छ र उनीहरूको नियमित जाँच गरिन्छ ।

सबैभन्दा बढी ज्वरो नाप्ने गरिन्छ । त्यसबाहेक श्वासप्रश्वासको समस्या हुनेहरूलाई भेन्टिलेटरमा राखेर उपचार गरिन्छ । शरीरको अवस्था हेरेर नियमित समयमा खाना खुवाइन्छ । “तर अहिलेसम्म भेन्टिलेटर चाहिने बिरामी हामीकहाँ छैनन्” उनले भने ।

जनशक्तिको अवस्था के छ ?

चिकित्सकहरूका अनुसार कोरोनाभाइरस सङ्क्रमण श्वासप्रश्वास सम्बन्धी रोग भएकाले सङ्क्रमितमध्ये पाँचदेखि १० प्रतिशतलाई सघन उपचार कक्षमा राख्नुपर्ने हुनसक्छ ।

केहीलाई भेन्टिलेटरमा राख्नुपर्ने हुनसक्छ । आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गर्नका लागि तालिमप्राप्त जनशक्तिको आवश्यकता पर्ने नेपलिज सोसाइटी अफ क्रिटिकल केअर मेडिसिनका महासचिव डा. हेमराज पनेरुको भनाइ छ ।

बीबीसीसँग गत महिना कुराकानीका क्रममा उनले सङ्क्रमणको दर बढे हाल उपलब्ध जनशक्तिले थेग्न नसक्ने अवस्था आउने बताएका थिए । स्वास्थ्य मन्त्रालयको तथ्याङ्कका अनुसार देशभरि १,४४३ जना स्वास्थ्यकर्मीहरू सघन उपचार सेवामा कार्यरत छन् ।

क्रिटिकल केअर नर्सेज् असोसिएशन अफ नेपालले गत चार वर्षमा १५० नर्सलाई सघन उपचारसम्बन्धी तालिम दिइएको बताएको छ । सरकारले हालै मात्र एक हजार थप स्वास्थ्यकर्मीलाई त्यस्तो तालिम दिने तयारी गरे पनि त्यो सम्भव नभएको अधिकारीहरूले बीबीसीलाई बताएका थिए । (बीबीसी नेपालीबाट साभार)

प्रतिक्रिया दिनुहोस्