भारतमा कोरोना संक्रमित १ लाख नजिक, प्रत्यक्ष प्रभावले नेपालमा उच्च जोखिम



फिदिम । भारतमा कोरोना भाइरस संक्रमण बढ्दै गएको छ । आइतबार बिहानसम्म भारतमा ९० हजार भन्दा बढीमा कोरोना संक्रमण भएको छ । कोरोनाका कारण भारतमा २ हजार ८ सय ७१ जनाको मृत्यु भएको छ ।

शनिबार मात्र भारतमा ४ हजार ८६४ जनामा नयाँ संक्रमण पुष्टि भएको छ । यो सँगै भारतमा ९० हजार ६४८ जना संक्रमित भएका हुन् । अहिलेसम्म ३४ हजार २२४ जना उपचारपछि निको भएका छन् भने ५३ हजार ५५३ जना उपचाररत छन् ।

पछिल्लो समय कोरोना संक्रमण तिब्रतामा फैलिरहेको भारत विश्वका कोरोना प्रभावित मुलुकहरु मध्ये ११ औं स्थानमा आइपुगेको छ । पछिल्लो समय भारतले पेरु र इरानलाई पछाडि पारेको छ ।

दैनिक संक्रमित संख्या पनि भारतमा बढ्दै गएको देखिएको छ । अघिल्लो सातासम्म २५ सयदेखि ३ हजारसम्म नयाँ संक्रमित पुष्टि हुँदै आएकोमा अहिले त्यो संख्या करिव ५ हजार हाराहारीमा पुगेको छ ।

भारतले लकडाउनका कारण अलपत्र परेका करोडौं मजदुरहरुले घर पढाउनका लागि रेल सेवा सञ्चालनमा ल्याएपछि कोरोना गाउँगाउँसम्म फैलिने सम्भावना बढेको छ । संक्रमितको संख्या बढ्नुबाट त्यसको प्रारम्भिक नतिजा भने देखापर्न थालिसकेको छ ।

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या चीनभन्दा माथि पुगेकोपछि भारतसँग खुला सीमा भएको नेपालमा खतरा बढेको केही विज्ञहरूले बताएका छन् । खुला सीमाका कारण भारतमा रहेका नेपालीहरूका साथै तुलनात्मक रूपमा कम सङ्क्रमित रहेको भन्दै केही भारतीयहरू नै पनि नेपालमा आउन सक्ने हुँदा जोखिम बढेको उनीहरूको भनाइ छ ।

नेपाल र भारतबीच ‘रोटीबेटी’ अर्थात् निकै घनिष्ठ पारिवारिक सम्बन्ध विकसित भएका कारण पनि आवतजावत गर्न सहज छ । दुई देशका नागरिकबीच आवागमन नियन्त्रण गर्ने प्रयास प्रभावकारी हुन नसक्दा नेपालका लागि समस्या बढ्न सक्ने उनीहरूको धारणा छ ।

अहिले भारतबाट नेपालीहरू फर्किने क्रम बढेको र सीमावर्ती जिल्लामा सङ्क्रमित भेटिएकाले नेपालले कोरोनाभाइरस नियन्त्रण र रोकथामका लागि आवश्यक कदम चाल्न विलम्ब गर्न नहुने धारणा धेरैको छ ।

प्रतिक्रिया दिनुहोस्