नेपाल–भारत सीमाः ३२ वर्ष अगाडि कालापानीको भारतीय क्याम्प पुगेका भूतपूर्व प्रहरी प्रमुख के भन्छन् ?



नेपाली भूमि हुँदै भारतले तिब्बत जोड्ने सडकको शुक्रवार उद्घाटन गरेपछि अहिले दुई देशबीच कूटनीतिक विवाद उत्पन्न भएको देखिएको छ ।

नेपालको परराष्ट्र मन्त्रालयले भारतीय राजदूतलाई बोलाएर विरोध जनाएको छ र भारतीय विदेश मन्त्रालयले वक्तव्यमार्फत् आफ्नै भूमिबाट सडक बनाएको दाबी गरेको छ ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले धार्चुला–लिपुलेक लिङ्क रोडको उद्घाटन गरेपछि त्रिदेशीय विन्दुमा रहेको लिपुलेक क्षेत्रबारे विवाद उत्पन्न भएको हो ।

नेपाल र भारतबीच लिपुलेक र कालापानीको सीमा विवाद नयाँ होइन। तर लामो समयदेखि विवाद समाधान हुन सकेको छैन ।

करिब ३२ वर्षअघि कालापानी क्षेत्रमा रहेको भारतीय सुरक्षा क्याम्प पुगेर फर्किएका नेपाल प्रहरीका एक पूर्वप्रमुखले बीबीसी न्यूज नेपालीसँग त्यसबेलाको अनुभव सुनाएका छन् ।

नेपाल प्रहरीका पूर्वप्रमुख अच्युतकृष्ण खरेलसँग विष्णु पोखरेलले गरेको कुराकानीको सार उनकै शब्दमाः

विसं २०४४ पुस ८ गते नेपाल प्रहरीको सुदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालय दिपायलमा मेरो क्षेत्रीय प्रमुखको रूपमा सरुवा भयो ।

प्रहरीको क्षेत्रीय प्रमुख डीआईजी हुने भए पनि त्यसबेला एसएसपी रहेको मलाई क्षेत्रीय प्रमुखको जिम्मेवारी दिएर पठाइएको थियो । त्यही बेला म पहिलो पटक सुदूरपश्चिम गएको हो ।

कर्णाली पुल बनेकै थिएन । म नेपालगञ्जबाट भारतको रुपैडिया छिरेर गौरीफन्टा हुँदै धनगढी प्रवेश गरेर दिपायल पुगेको थिएँ । दिपायलमा हुँदा महिनामा एकाध पल्ट कैलाली–कञ्चनपुर गइरहनुपथ्र्यो ।

त्यसैक्रममा मैले सीमाको विषयमा पनि सुनेँ । कालापानी क्षेत्रमा भारतीय सेना आएर बसेको छ भन्ने सुनियो । नेपालको भूमिमा भारतीय सुरक्षाकर्मी बसेका छन् भन्ने कुराको जानकारी महाकालीका अञ्चलाधीशलाई पनि नहुने कुरा भएन ।

मेरो र तत्कालीन अञ्चलाधीश जोनदेन उक्याबबीच कुराकानी भइरहन्थ्यो । कालापानी जानका लागि कुनै निर्देशन त थिएन तर सीमामा विवाद छ भन्ने सुनेपछि हामीले कालापानी जाने निर्णय गर्यौँ ।

यो २०४५ सालको कुरा हो । मलाई कुन महिना थियो भन्ने चाहिँ याद छैन । तर त्यो गर्मी महिना पनि थिएन । हिउँ नपरेकाले त्यो जाडो महिना पनि होइन ।

त्यसबेला म, मेरो अङ्गरक्षक, अञ्चलाधीश, उहाँको अङ्करक्षक र नापी कार्यालयका एकजना सर्भेयर गएका थियौँ ।

हामी दार्चुलाबाट कालापानीतर्फ लाग्यौँ । महाकाली नदीको किनारैकिनार हिँड्दा थाहा भयो हाम्रोतर्फ भन्दा भारततर्फ बाटो सहज बनाइएको थियो । हामी त बाटोमै बास बस्ने बन्दोबस्तीका सामानहरू पनि लिएर गएका थियौँ ।

दार्चुलाबाट कालापानी पुग्न हामीलाई तीन दिन लाग्यो । त्यो क्षेत्रमा हिँड्न निकै नै कठिन थियो । म त लक्का जवान थिए । अञ्चलाधीश चाहिँ उमेर भइसकेको हुनुहुन्थ्यो ।

तर सीमा क्षेत्रको बारेमा जानकारी लिने उद्देश्यले हामी निकै कष्ट गरेर त्यतातर्फ गएका थियौँ । हामीलाई कहाँनेर कालापानी पर्छ भन्ने पनि पत्तो थिएन । हामी तल्लो कौवा र मल्लो कौवा भन्ने स्थान हुँदै त्यहाँ गएका थियौँ ।

बाटोमा रुखहरू काटेर ठुटै–ठुटा बनाइएको देख्यौँ । काठको तस्करी हुँदो रहेछ । हामी समथर स्थान हिँड्दाहिँड्दै एउटा ढिस्को जस्तो ठाउँ आइपुग्यो । त्यसमा चढेर हेर्दा त्यहाँबाट करिब पाँच सय मिटर उता त घरैघर देख्छौँ ।

टिनका गुम्बजजस्ता घरहरू थिए । जुन स्थानमा टिनका स्थायी संरचना थिए त्यो महाकाली नदी पूर्व नै पथ्र्यो । कालापानीमा भारतीय सैनिकले क्याम्प बनाएर बसेका रहेछन् भन्ने स्पष्ट भयो ।

ढिस्कोबाट हेर्दा क्याम्पमा खासै चहलपल थिएन । हामीले क्यामेरा लिएर गएका थियौँ । नापी कार्यालयका सर्भेयरले पनि नक्सा बनाउने सामानहरू लिएर गएका थिए ।

मैले सर्भेयरलाई भने तपाईं यो ढिस्कोमै बसेर नक्सा बनाउनुहोस् । मेरो अङ्गरक्षकलाई पनि त्यही बस्न भने । उनलाई फोटो पनि खिच्न भने । सर्भेयरले त्यो ढिस्कोमै लुकेर स्केच बनाउन थाले र मेरो अङ्गरक्षकले फोटोहरू पनि खिचे ।

अञ्चलाधीश, उनका अङ्गरक्षक र म चाहिँ क्याम्पतिर अघि बढ्यौँ । धेरैले भारतीयले त्यस क्षेत्रमा प्रवेश नै गर्न दिँदैनन् भन्थे । हामीलाई पनि केही गर्ने हुन् कि भन्ने डर थियो ।

मैले सर्भेयर र अङ्गरक्षकलाई क्याम्पबाट कोही ढिस्कोतर्फ आए भागिहाल्नु भन्ने निर्देशन दिएको थिए । तर क्याम्पमा पुग्दा वातावरण सौहार्दपूर्ण नै भयो । त्यहाँका कमान्डरले नै हामीलाई स्वागत गरे ।

चिया र फलफूल खुवाए । राम्रैसँग कुराकानी गरे । त्यसपछि मैले ढिस्कोमा रहेका सर्भेयर र मेरो अङ्गरक्षकलाई पनि बोलाए ।

उनीहरू पनि साथमा आएपछि मैले सोचेँ यहाँसम्म आइयो एउटा प्रमाण त लिनुपर्छ । अनि भारतीय अधिकारीहरूसँग मैले एउटा फोटो खिचौँ भने । उनीहरूले नाइनास्ती गरेनन् ।

मैले त्यसबेलाका त्यहाँका भारतीय कमान्डरको नाम बिर्सिएँ । तर उनीहरूले हामीलाई केही पनि त्यस्तो अफ्ट्यारो कुरा गरेनन् । हामीले सुनेअनुसार अञ्चलाधीसको तहमा त्यहाँ पहिलो पटक हामीनै पुगेका थियौँ ।

उनीहरूको क्याम्पभन्दा माथि एउटा मन्दिर बनाएका रहेछन् । त्यहाँ नजिकै एउटा सानो खोलो रहेछ । त्यसलाई कालीको मन्दिर भन्दा रहेछन् । सोही आधारमा उनीहरूले उक्त खोलालाई नै महाकालीको उद्गमस्थल भन्ने रहेछन् । खासमा त्यो खोलालाई स्थानीयस्तरमा पङ्खा खोला भनिन्थ्यो ।

हामीले यो त नेपाली भूमिमा पर्छ भन्ने कुरा राख्दा भारतीय सुरक्षा कर्मचारीले चाँदनी दोधारासँग साटेर नेपालले भारतलाई दिएको भूमि भने । उनीहरूलाई त्यस्तै भनिएको थियो होला ।

तर म पनि विज्ञ त होइन । उनीहरूकै भनाइमा पनि कालापानी क्षेत्र चाहिँ नेपालकै भूमि हो भन्ने त स्पष्ट नै भयो । त्यसपछि हामीले तस्बिर खिच्यौँ र बिदाबारी भएर उस्तै गरी फर्कियौँ ।

कालापानीबाट फर्केपछि हामीले केन्द्रमा प्रतिवेदन पठाउन डोटी मालपोत हुँदाका रसिदहरू पनि खोज्यौँ । ती रसिदहरूमा कालापानीभन्दा पनि पश्चिमका गाउँहरूको समेत तिरो तिरेको रसिद भेटियो ।

हामीले सर्भेयरले बनाएको स्केच, हामीले खिचेको फोटो र मालपोतबाट लिइएको रसिदहरू समेत सामेल गरेर नेपाली भूमि मिचिएको प्रतिवेदन बनाएर पठायौँ । मैले प्रहरी प्रधान कार्यालयमा पठाएँ । अञ्चलाधीशले पनि छुट्टै प्रतिवेदन बनाएर पठाएका थिए ।

त्यो प्रतिवेदनबारे के भयो भन्ने मलाई थाहा भएन । सायद कूटनीतिक तहमा कुरा भयो कि ? यो प्रसङ्ग छोटकरीमा मैले मेरो आत्मकथामा पनि उल्लेख गरेको छु ।

हामीले ३० वर्षभन्दा अघि नै कालापानीमै पुगेर स्थलगत अध्ययन गरी प्रतिवेदन पठाएका भए पनि हालसम्म यो मुद्दाको समाधान हुन सकेको छैन । यो खासमा दुई देशले कूटनीतिक तवरबाटै समाधान गर्नुपर्ने विषय हो ।

तर अहिले एउटा सरकारले पहिलेको सरकारले गरेन भन्ने अर्कोले फेरि अर्काले गरेन भन्ने गरिरहेका छन् । त्यो जिम्मेवारीबाट पर हटेको हो नि । कमसेकम यसलाई सरकारले राष्ट्रिय हितको मुद्दा ठानेर समाधानको पहल गरे हुन्छ नि ।

विज्ञहरूलाई राखेर र हाम्रा प्रमाणहरू खोजेर समाधान गर्न नसकिने त होइन नि । हामीले त्यसबेला खोज्दा भेटिएका प्रमाणहरू अहिले पनि त भेटिएलान् तर त्यसका लागि सरकारले गम्भीर भएर काम गर्नुपर्ने देख्छु । (बीबीसी नेपालीबाट)

प्रतिक्रिया दिनुहोस्