नेपालमा कोभिड–१९ का कारण पहिलो मृत्यु पुष्टि



फिदिम । कोरोनाभाइरस सङ्क्रमणका कारण नेपालमा एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । उनी सिन्धुपाल्चोककी सुत्केरी महिला हुन् ।

कोभिड–१९ का कारण नेपालमा पुष्टि भएको यो पहिलो मृत्यु हो । उनी केही दिनअघि मात्र काठमाण्डूस्थित शिक्षण अस्पतालमा सुत्केरी भएर घर फर्किएकी थिइन् ।

घर फर्किएपछि ती महिला बिरामी परेकी र उनलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको बताइएको छ । मन्त्रालयले शनिवार साँझ थप दुई जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि गरेको छ ।

यो सहित शनिवार साँझसम्म १३ जनामा कोरोनाभाइरस पुष्टि भएको छ । नेपालमा पहिलो कोरोनाभाइरस सङ्क्रमित भेटिएको करिब चार महिनापछि कोरोनाभाइरसकै कारण कसैको मृत्यु भएको यो पहिलो पटक हो ।

के भन्यो मन्त्रालयले ?

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा सिन्धुपाल्चोक निवासी ती २९ वर्षीया महिला काठमाण्डूस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा वैशाख २३ गते भर्ना भएको र त्यसको भोलिपल्ट बच्चा जन्माएर वैशाख २५ गते घर फर्किएको उल्लेख छ ।

“ज्वरो, श्वासप्रश्वासमा समस्या भएपछि स्थानीय अस्पतालमा उपचार गराउनुभएको र स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उहाँ धुलिखेल अस्पतालमा थप उपचारका लागि आउँदै गर्दा मृत्यु भएको छ” विज्ञप्तिमा भनिएको छ ।

“यस सम्बन्धमा विस्तृत विवरण लिइएको र कोभिड–१९ सँग सम्बन्धित थप परीक्षणपश्चात् नेपालमा कोभिड–१९ बाट मृत्यु भएको यो पहिलो घटना भएको पुष्टि भएको छ ।”

अधिकारीका अनुसार साँझ पुष्टि भएका दुई सङ्क्रमित धनुषाका हुन् । मन्त्रालयका अनुसार शनिवार कपिलवस्तु, महोत्तरी, धनुषा, बर्दिया, सिराहा, सर्लाही, चितवन र काभ्रेका मानिसमा सङ्क्रमण देखिएको हो ।

अहिलेसम्म २६ वटा जिल्लामा सङ्क्रमण भेटिएको छ । तर कर्णाली प्रदेशमा कतै पनि कोभिड–१९ पुष्टि भएको छैन । प्रदेश नं ५ मा सङ्क्रमण पुष्टि भएका सबै जना अहिले आइसोलेशनमा छन् भने प्रदेश नं २ मा केही व्यक्ति निको भएर अस्पतालबाट फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिवार अपराह्णसम्म १६,३६६ व्यक्ति देशका विभिन्न स्थानमा क्वारन्टीन छन् । तीमध्ये प्रदेश नं ५ मा सबैभन्दा धेरै १०,२२२ जना र वाग्मती प्रदेशमा सबैभन्दा कम २०० जना छन् ।

मन्त्रालयले शनिवार सार्वजनिक गरेको तथ्याङ्कअनुसार अहिलेसम्म पीसीआर विधिवाट जम्मा २६,६९१ वटा र आरडीटी विधिबाट ६५,७४९ वटा परीक्षण गरिएको छ ।

अहिले काठमाण्डू उपत्यकामा ३२ जनासहित देशभरि कुल ३२० जना आइसोलशनमा छन् । यो सङ्क्रमित र सम्भावित व्यक्तिसहितको संख्या भएको मन्त्रालयले जनाएको छ । (बीबीसी नेपालीबाट)

प्रतिक्रिया दिनुहोस्