कोभिड–१९ का कारण नेपालमा दोश्रो मृत्यु



फिदिम । आइतवार नेपालमा कोरोनाभाइरस सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बाँकेको नरैनापुरस्थित क्वारन्टाइनमा आइतवार बिहान मृत्यु भएको २५ वर्षीय पुरुष कोरोनाभाइरस सङ्क्रमित रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पुष्टि गरेका हुन् ।

नरैनापुरस्थित दिपेन्द्र प्राथमिक विद्यालयमा रहेको क्वारन्टाइनमा रहेका ती युवा बैशाख ३० गते भारतको मुम्बईबाट आएको बताइएको छ ।

नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख मोइन खानले उनलाई शनिवार राति वान्ता हुनुका साथै एक्कासी ज्वरो देखिएको र बिहान ६ बजेर ४० मिनेटमा मृत्यु भएको बताए ।

यसअघि शनिवार सिन्धुपाल्चोककी नौ दिनकी सुत्केरी महिलाको कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु भएको थियो ।

जिल्ला स्वाथ्य कार्यालय बाँकेको टोलीले ती युवा सहित नरैनापुरबाट शनिवार २६३ जनाको स्वाब सङ्कलन गरेको बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जनाएका छन् । तीमध्ये ३९ जना मृतक युवा बसेको क्वारन्टाइनका हुन् ।

योसँगै नेपालमा कुल मृतकको संख्या दुई पुगेको छ । सङ्क्रमितको संख्या २९२ छ। आइतवार बिहान अन्य १० जनाको सङ्क्रमण पुष्टि भएको थियो ।

भेरी अस्पताल नेपालगञ्जमा पीसीआर विधिबाट परीक्षण गर्दा ती युवाको कोरोनाभाइरसका कारण मृत्यु भएको देखिएपछि मन्त्रालयले पुष्टि गरेको हो ।

दुई दिनअघि उक्त क्वारन्टाइनमा रहेका छ जना सहित नरैनापुरमा आठ जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको थियो ।

नरैनापुरमा आठ जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएपछि उनको सम्पर्कमा रहेका ३०० भन्दा बढीको स्वाब सङ्कलन गर्ने स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । आइतवार पनि स्वाब सङ्कलनका लागि स्वाथ्यकर्मीको टोली नरैनापुरमा रहेको श्रेष्ठले बताए ।

नरैनापुरमा भारतबाट आएका सबैलाई क्वारन्टीनमा राखिएको बताइएको छ र बिहान युवकको मृत्युपछि सो क्वारन्टाइनलाई सुरक्षामा राखी आवतजावत बन्द गरिएको छ । (बीबीसी नेपालीबाट)

प्रतिक्रिया दिनुहोस्