सीमा अलपत्र नेपालीलाई केही दिनमै नेपाल ल्याइने



फिदिम । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले भारतमा अलपत्र परेका नेपालीहरू दुई चार दिनभित्रै स्वदेश फर्काउन तयारी भइरहेको बताएका छन् ।

कोरोना भाइरस संक्रमण रोकथाम, उपचार समन्वय तथा अनुगमन समिति झापाले शनिवार आयोजना गरेको सर्वपक्षीय बैठकमा सहभागी पश्चात् सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री कार्कीले झापा, इलाम, मोरङ र सुनसरीका सीमावर्ती क्षेत्रबाट २० देखि २५ हजार नेपाली स्वदेश भित्रिने र त्यसका लागि प्रदेश १ मा आवश्यक तयारी धमाधम भइरहेको बताए ।

नेपाल–भारत सरकारबीच यसबारे समन्वय भइरहेको बताउँदै उनले भने, “अहिले सीमावर्ती जिल्लाहरूमा धमाधम उनीहरूलाई राख्न क्वारेन्टाइन बन्दै छ, सीमापारि अलपत्र नेपालीलाई स्वदेश फर्काएर त्यहीँ राखिन्छ ।” झापाको काँकडभिट्टा सीमापारि भारतमा एक हजार बढी नेपाली अलपत्र रहेका बताइन्छ। उनीहरूलाई कसरी भित्राउने विषयमा जिल्लास्तरबाटै तयारी भइरहेको उनले बताए ।

“एकै पटक भित्र्याउने कि क्वारेन्टाइनको संख्या अनुसार भित्राउने विषयमा आवश्यक छलफल जारी रहेको छ । भारतबाट आउने सबैको कोरोना परीक्षण हुन्छ, आरडिटी वा पिसिआर दुवै माध्यमबाट उनीहरूको स्वास्थ्य परीक्षण गरिन्छ” मन्त्री कार्कीले भने ।

मन्त्री कार्कीले सीमा विवाद प्रसङ्गबारे भने, “प्रदेश १ को नेपाल–भारत सीमामा स्थायी सुरक्षा पोस्ट राख्ने बारेमा प्रदेश सरकार गम्भीर छ । काँडेतार वा पर्खाल लगाउने कुरा अहिले बोलेर मात्रै हुँदैन, त्यस सन्दर्भमा नेपाल भारतबीच सम्झौताबमोजिम नै हुन्छ ।”

प्रतिक्रिया दिनुहोस्