विश्व स्वास्थ्य संगठनले भन्यो – ‘कोरोना सधैँ रहिरहने अर्को भाइरस बन्न सक्छ’



फिदिम । कोरोनाभाइरस संसारबाट ’कहिले पनि नहराउन सक्ने’ विश्व स्वास्थ्य सङ्गठनले बताएको छ । सङ्गठनका आपत्कालीन मामिलाका निर्देशक डा. माइक राएनले कोरोनाभाइरस कहिले हराउँछ भन्ने विषयमा कुनै अनुमान नगर्न भनेका छन् ।

उनले खोप बनेपछि पनि भाइरसलाई नियन्त्रण गर्न ‘निकै ठूलो प्रयत्न’ आवश्यक पर्ने बताए । संसारभरि अहिलेसम्म कोरोनाभाइरसका कारण तीन लाखभन्दा धेरै मानिसको मृत्यु भएको छ भने ४३ लाखभन्दा बढी सङ्क्रमित भएका छन् ।

यसैबीच संयुक्त राष्ट्रसङ्घले महामारीका कारण मानिसहरूमा व्यापक रूपमा मानसिक समस्या बढिरहेको बताएको छ । उसले सरकारहरूलाई मानसिक स्वास्थ्य एवम् मनोसामाजिक सहयोगलाई समेत महामारीसँग जुझ्ने योजनामा सामेल गर्न आग्रह गरेको छ ।

डा. राएनले बुधवार इन्टरनेट मार्फत गरीएको प्रेस सम्मेलनमा बोल्दै भने, “यो कुरा थाहा हुनु आवश्यक छ – “कोरोनाभाइरस हाम्रो समुदायमा रहिरहने अर्को भाइरस बन्न सक्छ र यो कहिल्यै नहराउन पनि सक्छ । एचआईभी हराएको छैन तर हामीले त्यससँग रहन सिकेका छौँ ।”

उनले कसैले यो भाइरस हराउने समय अनुमान गर्न सक्ने अवस्था नरहेको बताए । अहिले संसारमा १०० भन्दा बढी सम्भावित खोपहरू विकास भइरहेका छन् तर डा. राएनले खोप भएका कतिपय रोगहरू अझै पनि नहराएका उदाहरण दिए ।

डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससका अनुसार प्रयत्न गरे यो भाइरसलाई नियन्त्रण गर्न सकिने बताएका छन् । उनले भने, “यो कुरो हाम्रो हातमा छ र यो सबैको सरोकारको कुरो हो । हामी सबैले यो महामारी रोक्न सहयोग गर्नुपर्छ ।” (बीबीसी नेपालीबाट साभार)

प्रतिक्रिया दिनुहोस्