प्रदेश १ का नाकामा ‘होल्डिङ एरिया’ बनाइने



विराटनगर । भारतमा रेल सेवा सुरु भएसँगै प्रदेश १ मा २० हजार भित्रिने अनुमान गरिएको छ ।

अहिले पनि केही मानिस आइरहेकोमा रेल सेवा सुरु भएसँगै ठूलो संख्यामा नेपालीहरू भित्रिने अनुमान प्रदेश सरकारले गरेको हो । रोजगारीका सिलसिलामा भारतका विभिन्न स्थानमा पुगेकामध्ये तत्काल २० हजार फर्कने सम्भावना रहेको प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की बताउँछन् ।

“२० हजार तत्काल फर्कन्छन् भन्ने हाम्रो प्रारम्भिक अनुमान हो” उनी भन्छन् “यसरी आउँदा होल्डिङ एरियामा राखेर सम्बन्धित जिल्लामा पठाउँछौं ।” प्रदेश १ का तीन सय २३ स्थानमा क्वारेन्टाइन निर्माण गरिएको छ ।

ती क्वारेन्टाइनमा ५ हजार ७५७ बेड छन् । त्यस्तै ५३ स्थानमा ४४९ बेडको आइसोलेसन तयार गरिएको छ । चार स्थानमा ४४ बेडको आईसीयू निर्माण गरिएको छ ।

भारतमा आंशिक रुपमा रेल सेवा सुरु भएसँगै प्रदेश १ मा क्वारेन्टाइन बेडको संख्या थप गर्ने तयारी छ । भारतबाट आउनेहरूलाई राख्न जिल्लास्थित सदरमुकाम आसपास क्वारेन्टाइन निर्माण गर्न १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिइएको आन्तरिक मामिला तथा कानुनमन्त्री कार्कीले बताए ।

“सम्बन्धित जिल्लामा आउनसक्ने संख्याको आकलन गरेर क्वारेन्टाइन तयार गर्न निर्देशन दिएका छौँ । भारतबाट आएकाहरूलाई सुरुमा नाकामै होल्ड गर्छौं, स्वास्थ्य जाँचपछि सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा पठाउँछौं” उनले भने ।

के हुन्छ होल्डिङ एरियामा ?

भारतीय सीमा क्षेत्र आसपास निर्माण गरिने होल्डिङ एरिया २ हजार जनासम्म अटाउने गरी बनाउन लागिएको उनले बताए । खाडी मुलुकबाट फर्कनेलाई पनि व्यवस्थापन गर्न पूर्वतयारी गरिएको उनको भनाइ छ ।

‘भारतबाट मात्र होइन मलेसिया र अन्य खाडी मुलुकबाट नेपालीहरू आउँछन् । प्लेन खुलेपछि आउनेहरूलाई पनि सम्बन्धित क्षेत्रमा राख्ने योजना छ” मन्त्री कार्कीले भने । नाकामा होल्डिङ एरिया निर्माण गर्न सार्वजनिक स्थान तथा शैक्षिक संस्था प्रयोग गरिने उनले बताए ।

मन्त्री कार्कीका अनुसार सीमा क्षेत्रमा निर्माण गरिने होल्डिङ एरियामा भारतबाट प्रवेश गर्नेहरुलाई राखिन्छ । प्रहरीको निगरानीमा राखिनेहरूको सबै विवरण टिपिन्छ । यसरी टिपोर्ट गर्दा उनीहरूको ठेगाना, परीक्षण गरे÷नगरेको अवस्था बुझेर अन्य स्वास्थ्य जाँच पनि गरिन्छ ।

किट उपलब्ध भएको अवस्थामा कोरोना परीक्षण हुन्छ । किट नभएको अवस्थामा सामान्य व्यक्तिलाई सम्बन्धित जिल्लामा निर्माण गरिएको क्वारेन्टाइनमा राख्न पठाइन्छ । शंकास्पद व्यक्तिलाई आइसोलेसनमा भर्ना गरिन्छ । (अनलाइनखवर डटकमबाट)

प्रतिक्रिया दिनुहोस्