नेपाली भूभागमा संरचना निर्माण गर्न भारतीय अवरोध, सीमा स्तम्भ गायब



फिदिम, १ जेठ
यहाँ नेपाली भूमिमा भौतिक संरचना निर्माण गर्न भारतीय पक्षले अवरोध गरेको छ ।

पाँचथरको फालेलुङ गाउँपालिका वडा नं. ६ आहालेमा नेपाल–भारत सीमाभन्दा झण्डै एक सय मिटर टाढा भौतिक संरचना निर्माण गर्न भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गरेको हो ।

उक्त स्थानमा आहालगैरी कबुलियती बन समूहले वहुजातीय सङ्ग्रहालय वनाउन लागेको थियो । डिभिजन वन कार्यालय पाँचथरको रु. १० लाख बजेटमा निर्माण गर्न लागिएको सङ्ग्रहालय काम अघि बढाउन एसएसबीले रोकेको हो । सङ्ग्रहालय निर्माण गर्न लागिएको क्षेत्र आफ्नो भूभागमा पर्ने झुठो दाबी भारतीय पक्षको छ ।

फालेलुङ गाउँपालिकाका प्रवक्ता जीवनकुमार राईका अनुसार उपभोक्ता समितिले भारतीय पक्षले अवरोध गरेको गुनासो गरेपछि गाउँपालिका अध्यक्ष सञ्चकुमार केरुङ तथा सुरक्षाकर्मीको टोली उक्त क्षेत्रमा पुगेको थियो ।

यस क्रममा भारतीय पक्षले सीमा अतिक्रमण गर्नुका साथै सीमास्तम्भ समेत गायब पारेको पाइएको प्रवक्ता राईले वताउनुभयो । यहाँ भारतीय पक्षले ५७÷४ नम्बरको सीमास्तम्भ गायब पारेको पाइएको उहाँको भनाई छ ।

फालेलुङ–५ प्राङबुङका सिल्प साम्पाङका अनुसार यहाँ एसएसबीले दैनिक रुपमा गस्ती गर्नुका साथै नेपालीहरुलाई हिँडडुल र काम गर्न समेत अवरोध गर्दै आएको छ । दैनिक करीब एक सय जनाको एसएसबीको टोली यस क्षेत्रमा आउने गरेको छ ।

सीमा क्षेत्रमा दुई वटा होटलहरु समेत रहेका छन् । एसएसबीले होटल सञ्चालकहरुलाई उक्त क्षेत्र भारतीय भू–भागमा परेको भन्दै मनोवैज्ञानिक दबाव दिने गरेको पाइएको साम्पाङको भनाई छ ।

भारतीय पक्षले नयाँ नक्सा नै निर्माण गरी सीमाभन्दा करीब एक सय मिटरभन्दा बढी क्षेत्र अतिक्रमण गरेको पाइएको गाउँपालिकाका प्रवक्ता राईको भनाई छ । जनप्रतिनिधिहरुले एसएसबीका स्थानीय कमाण्डरसँग सम्वाद समेत गरेका थिए ।

यस क्रममा भारतीय पक्षले नयाँ नक्साअनुसार उक्त क्षेत्र भारतमा परेकाले भौतिक संरचना निर्माण रोक्न माथिको आदेश आएको वताएको प्रवक्ता राईले वताउनुभयो ।

भारतीय पक्षले नेपाली भूमि अतिक्रमण गरेपछि फालेलुङ गाउँपालिकाले यस विषयमा पहल गर्न जिल्ला प्रशासन कार्यालय पाँचथरमा पत्र पठाएको छ । पत्र प्राप्त भएपछि सीमा मिचिएको तथा नेपाली भूभाग अतिक्रमण भएको विषय स्थलगत अवलोकन गर्न डिभिजन वन कार्यालयको टोली उक्त क्षेत्रमा पठाइएको प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले वताउनुभयो ।

“वन डिभिजनबाट सञ्चालित योजनामा अवरोध भएकाले स्थानीय सुरक्षाकर्मीसँगको समन्वयमा सीमा क्षेत्रको स्थलगत अवलोकन गर्न भनिएको छ”, प्रजिअ शर्माले भन्नुभयो । स्थानीय स्तरबाट प्राप्त सीमा अतिक्रमणसम्बन्धी सूचना गृह मन्त्रालयमा समेत पठाइएको प्रजिअ शर्माले वताउनुभयो ।

“एउटा सीमास्तम्भ समेत जानाजान हराएको भन्ने सूचना आएपछि संवेदनशील रुपमा लिई मन्त्रालयमा जानकारी गराइएको छ”, प्रजिअ शर्माले भन्नुभयो ।

भारतीय पक्षले नयाँ नक्सा देखाई ‘दादागिरी’ गरेको स्थानीयवासीको गुनासो छ । यहाँका होटल सञ्चालकहरुलाई होटल रहेको क्षेत्र भारतको भएपनि यहाँबाट विस्थापित हुनु नपर्ने, बरु भारत सरकारको सेवा सुविधाका लागि पहल गरिदिने आश्वासन दिई एसएसबीले सीमा अतिक्रमणमा स्थानीयवासीलाई मनाउने प्रयास समेत थालेका छन् । उक्त क्षेत्र पाँचथर, इलाम र भारतको पश्चिम बंगाल राज्यको सीमामा पर्दछ ।

पाँचथरमा भारतसँगको करीब ४५ किलोमिटर सीमा क्षेत्र रहेको छ । सीमा क्षेत्रमा नेपालका सुरक्षा निकायको कमजोर उपस्थितिको फाइदा उठाउँदै भारतीय सीमा सुरक्षा बलले वर्षेनि अतिक्रमण, चोरी शिकारी गर्दै आएको छ ।

पछिल्लो पटक कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि सीमा क्षेत्रबाट हुने आवत–जावत रोक्ने शसस्त्र प्रहरी बल सीमा क्षेत्रमा पुगेपछि भारतीय पक्षले नयाँ विवाद सिर्जना गरेका सन्दकपुर क्षेत्रका स्थानीयवासीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्