

फिदिम । लिपुलेक क्षेत्रको सीमा सुरक्षाका लागि बुधबारदेखि सशस्त्र प्रहरी बलको टोली खटिएको छ ।
नेपाली सेनाको हेलिकप्टरबाट सशस्त्र प्रहरी लगेर आज दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरूमा सीमा निगरानी चौकी (बिओपी) स्थापना गरिएको हो । नेपाली भूमि लिपुलेक हुँदै भारतले एकतर्फी सडक बनाएर उद्घाटन गरेपछि अहिले विरोध भइरहेको छ ।
सीमारक्षाका लागि सरकारले त्यस क्षेत्रमा सशस्त्रको टोली पठाएको हो । सीमा निगरानी चौकीमा २५ जना सशस्त्र प्रहरी छन् ।

सशस्त्र प्रहरी बल नेपाल ५० नं गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक डम्बरबहादुर विष्टका अनुसार प्रहरी निरीक्षक मिलीबहादुर चन्दको नेतृत्वमा २५ जनाको टोली आज पुगेको हो ।
सरकारले गत मंसिरमा नै बिओपी राख्ने निर्णय गरेको थियो । तत्कालीन अवस्थामा सीमा क्षेत्रमा सशस्त्र प्रहरीको १०७ बिओपी थियो ।
मंसिरमा सरकारले ११४ बिओपी स्थापना गर्ने निर्णय गरेको थियो । त्यसपछि जम्मा १३ स्थानमा मात्रै बिओपी स्थापना भएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता प्रहरी नायब महानिरीक्षक प्रविणकुमार श्रेष्ठले जानकारी दिए ।