भाइरस कमजोर कि नेपाली बलिया ? यस्ता छन् लक्षण नदेखिनुका सम्भावित कारणहरू



फिदिम । नेपालमा कोरोनाभाइरस सङ्क्रमितको संख्या दुई सय नाघेपछि चिन्ता र त्रास बढेको पाइन्छ । तर अहिलेसम्म कसैको मृत्यु भएको छैन । अधिकांश सङ्क्रमितहरूमा लक्षण पनि नदेखिएको खबर आउने गरेका छन् ।

नेपालमा सङ्क्रमितलाई भाइरसको लक्षण नदेखिनुको कारणबारे कतिपयले अनौठो मानिरहेको पाइन्छ । कोभिड–१९ को निम्ति विश्व स्वास्थ्य सङ्गठनले बनाएको जिनिभास्थित विज्ञसमूहमा आवद्ध प्राध्यापक डा. प्रकाश घिमिरेका अनुसार यो नयाँ भाइरस हो र यसका लक्षणहरू दिनप्रतिदिन परिवर्तन हुनसक्छन् ।

नेपालमा अहिलेसम्म गरिएको परीक्षण धेरै नै कम भएको र अहिलेसम्म गम्भीर लक्षण भएर अस्पताल पुगेका भन्दा पनि सम्भावित सङ्क्रमितको सम्पर्कमा पुगेका व्यक्तिकै परीक्षण गरिएको बताइएको छ ।

‘आफूलाई बलियो नठानौँ’

राष्ट्रिय शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका विशेषज्ञ डा. अनुप बास्तोलाको धारणा पनि मिल्दोजुल्दो छ । उनका अनुसार अहिलेसम्म अधिकांश अन्य देशबाट फर्किएका युवामा सङ्क्रमण देखिएको छ ।

सुरुमै सक्रिय निगरानी गरिएका देशमा समुदायमा फैलिन पाएको छैन । जहाँ एक्कासी प्रकोप देखियो त्यहाँ दीर्घरोगी र वृद्ध वृद्धमा सरिसकेको देखिन्छ ।

तर नेपालमा बाहिरबाट आएका मानिसहरूलाई क्वारन्टाइन हुँदै आइशोलेसनमा राखिएकाले समुदायमा सर्न नपाएको उनको ठम्याइ छ ।

प्राध्यापक घिमिरे भन्छन्, “ठूलो संख्यामा लक्षण नदेखिएको भए अनुसन्धानको विषय हुनसक्थ्यो । त्यसैले अहिले नै हामी बलिया छौँ भन्ने भएन । लक्षण आएन, हामी फरक छौँ भन्नु वैज्ञानिक रूपमा उपयुक्त हो जस्तो लाग्दैन ।”

अहिलेसम्म सङ्क्रमण पुष्टि भएका २१९ जनाकै भरमा तीन करोड जनसंख्यालाई केही हुँदैन भनेर भन्न नसकिने उनको भनाइ छ । कतिपय सङ्क्रमितले आफूलाई कुनै लक्षण नदेखिएको भन्दै पुनः परीक्षणको हुनुपर्ने माग गरेको पाइन्छ ।

तर डा. बास्तोला पीसीआर विधिको परीक्षणले कोभिड–१९ कै भाइरस पहिचान गर्छ । उनी भन्छन्, “भोलि समुदायमा फैलिएर दीर्घरोगी र वृद्धवृद्धमा सरेमा निमोनिया वा जटिल खालको लक्षण देखिन सक्ने सम्भावना रहन्छ ।”

कतिपय सङ्क्रमित त लक्षण नदेखिएरै वा कुनै औषधी नखाएरै अस्पतालबाट निको भएर फर्किएको बताइन्छ । प्राध्यापक घिमिरेका अनुसार यो नयाँ भाइरस हो र यसका लक्षणहरू दिन प्रतिदिन परिवर्तन हुन सक्छन् ।

अहिलेसम्मको प्रमाण अनुसार करिब ८० प्रतिशतमा लक्षण देखिँदैन । चिकित्सकको परामर्श आवश्यक हुने बाँकी बिरामीमध्ये पाँच प्रतिशतलाई स्वासप्रश्वास सम्बन्धी सहायता यन्त्रको खाँचो पर्न सक्छ ।

तर बिरामीको गोपनीयताका कारण नेपालका अस्पतालमा भर्ना गरिएका कसैलाई पनि लक्षण नदेखिएको भन्न नसकिने उनको भनाइ छ । डा. बास्तोलाले पनि निको भइ फर्किएका आफ्नो निगरानीमा रहेका बिरामीलाई केही औषधि चलाउनु परेको जानकारी दिए ।

त्यसैले प्राध्यापक घिमिरे भाइरस कमजोर र मानिस बलियो भयो अनि सार्ने माध्यम भएन भने रोग नलाग्ने बताउँदै भन्छन्, “त्यसैले हामी अत्तालिन भएन तर चलाख र तयार रहनुपर्छ ।” (बीबीसी नेपालीबाट)

प्रतिक्रिया दिनुहोस्