देशभरि सङ्क्रमितको कुल संख्या २१७



फिदिम । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मङ्गलवार राति जारी गरेको प्रेस विज्ञप्तिमा थप नयाँ २६ जनाको परीक्षणमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।

यो वृद्धिसँगै नेपालमा कोरोनाभाइरस सङ्क्रमण देखिएकाहरूको संख्या २१७ पुगेको मन्त्रालयले जनाएको छ । अपराह्न ५७ जनामा कोभिड–१९ पुष्टि भएको थियो । मङ्गलवार एकै दिनमा ८३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यो अहिलेसम्मकै एकै दिनमा पुष्टि सर्वाधिक संख्या हो । मङ्गलवार राति सङ्क्रमण पुष्टि भएकाहरूको नमुना परीक्षण काठमाण्डूस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला गरिएको थियो ।

अब प्रदेश नं २ मा भेटिएका सङ्क्रमितको संख्या ९५ पुगेको छ । यो अहिलेसम्म सबै प्रदेशमा देखिएकोमध्ये सर्वाधिक संख्या हो । प्रदेश नं २ मा भेटिएका चार जना निको भइसकेका छन् ।

प्रदेश नं ५ मा ७० सङ्क्रमित छन् । कर्णाली प्रदेशमा भने अहिलेसम्म कसैमा पनि कोभिड–१९ पुष्टि भएको छैन ।

अपराह्न आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार देशभरि १२,७८५ जना क्वारन्टाइनमा र २२८ जनालाई आइसोलेशनमा राखिएको जानकारी दिएका थिए । मन्त्रालयको तथ्याङ्कमा मङ्गलवार अपराह्णसम्म पीसीआर विधिवाट १८,९६४ वटा परीक्षण भएको देखिन्छ ।

को हुन् नयाँ सङ्क्रमित ?

नयाँ सङ्क्रमण पुष्टि भएकाहरू पर्सा, महोत्तरी, धनुषा, भक्तपुर, काठमाण्डू र सर्लाही जिल्ला निवासी महिला तथा पुरुषहरू रहेका मन्त्रालयले जनाएको छ । मन्त्रालयले सबै नयाँ सङ्क्रमितहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका बताएको छ ।

अहिले सङ्क्रमण पुष्टि भएको घोषणा गरिएका २६ जनामा पर्साका छ महिला र १२ पुरुष गरी १८ जना, महोत्तरीका दुई जना पुरुष, धनुषाका एक पुरुष र एक महिला गरी दुई जना तथा सर्लाहीका एक पुरुष छन् ।

त्यसैगरी भक्तपुरकी एक महिला र एक पुरुष गरी दुई जना, काठमाण्डूकी एक महिला रहेका मन्त्रालयको विज्ञप्तिमा गरिएको उल्लेख छ ।

पर्सामा सङ्क्रमण पुष्टि भएकामध्ये दुई जना पत्रकार रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले बताए । सङ्क्रमितहरू वीरगन्ज महानगरपालिका र छिपहरमाई गाँउपालिकाका रहेका बताइन्छ ।

छिपहरमाई गाउँपालिकाका सङ्क्रमितहरू लकडाउनकै समयमा १७ दिनअघि बागलुङबाट बसमा वीरगन्ज आएका थिए । उक्त बसमा ४२ जना आएका थिए र ती सबैलाई छिपहरमाई गाउँपालिकाको क्वारन्टीनमा राखिएको थियो ।

तीमध्ये सङ्क्रमण देखिएका १४ जनामध्ये एक भारतीय नागरिक रहेको छिपहरमाई गाउँपालिकाका प्रमुख मनोज गुप्ताले जानकारी दिए ।

यसैबीच मङ्गलवार राति ८ बजेदेखि जेष्ठ ५ गतेसम्म पर्सा जिल्लामा निषेधाज्ञा जारी भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए । यसका साथै स्थानीय प्रशासन ऐन २०२८ अनुसार नेपाली सेनालाई परिचालन गर्ने निर्णय भएको उनले जानकारी दिए ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट उपाध्यायका अनुसार बाराका भनिएका दिउँसो पुष्टि भएका सङ्क्रमित पर्सामा बस्दै आएका व्यक्ति हुन् । थप सङ्क्रमण देखिएपछि बारामा पनि निषेधाज्ञा लगाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सीमावर्ती जिल्लामा सङ्क्रमण धेरै

पछिल्लो पटक सार्वजनिक गरिएका विवरणमा रूपन्देही र कपिलवस्तु जिल्लामा थप १७ जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको जनाइएको छ ।

प्रदेश नं ५ का स्वास्थ्य सेवा निर्देशक डाक्टर विनोदकुमार गिरीका अनुसार रूपन्देहीमा देखिएका ९ जना सङ्क्रमित लुम्बिनीस्थित लुम्बिनी विश्वविद्यालयमा बनाइएको क्वारन्टीनमा बस्दै आएका थिए ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका उनीहरू सबैजना केही दिनअघि मात्र भारतबाट नेपाल आएका थिए । यस्तै कपिलवस्तुमा सङ्क्रमण पुष्टि भएका आठ जना स्थानीय विद्यालयमा बनाइएका तीनवटा क्वारन्टाइनमा बस्दै आएका थिए ।

भारतबाट लुकीछिपी सीमावर्ती क्षेत्रमा मानिस भित्रिएका विवरणमाझ कतिपय सीमाक्षेत्रस्थित जिल्लाहरूमा सङ्क्रमितको संख्या बढ्दै गएको छ । सोमवार २४ जनामा कोभिड–१९ पुष्टि भएको थियो ।

स्वसि र चीन सरकारले पीसीआर परीक्षण किट नेपाल सरकारलाई सहयोगस्वरूप दिएसँगै परीक्षणले तीव्रता पाएको छ । अहिलेसम्म ३३ जना निको भएर अस्पतालबाट बिदा भएको बताइएको छ ।

तर पुनः परीक्षण गर्दा निको भएका भनिएकामध्ये तीन जनाको शरीरमा कोरोनाभाइरस देखिएपछि उनीहरूलाई फेरि अस्पतालमा भर्ना गरिएको छ । (बीबीसी नेपालीबाट)

प्रतिक्रिया दिनुहोस्