४० मुरीभन्दा बढी धान फलाए रु. एक लाख पुरस्कार



फिदिम, २९ वैशाख

पाँचथरको मिक्लाजुङ गाउँपालिकाले मुख्य खाद्य वस्तु ठूलो मात्रामा उत्पादन गरे मोटो धनराशीको पुरस्कार दिने भएको छ ।

कोभिड–१९ को महामारी तथा लकडाउनका कारण गाउँपालिका भित्र खाद्य सङ्कट हुनसक्ने भन्दै गाउँपालिकाले कृषि उपज उत्पादनमा उत्प्रेरणा ल्याउन पुरस्कारको ब्यवस्था गरेको हो । उक्त गाउँपालिकाले ४० मुरीभन्दा बढी धान उत्पादन गर्ने परिवारलाई रु. एक लाख पुरस्कार दिने भएको छ ।

यस्तै चार फुट उचाई र २० फुट लम्बाईको मकैको थाङ्ग्रो राख्ने कृषकलाई समेत सोही राशीको पुरस्कार दिइने भएको छ । यस्तै ३५ मन (प्रति मनमा ४० किलो) भन्दा बढी आलु उत्पादन गर्ने कृषकलाई प्रतिकिलो रु. २० पुरस्कार दिइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरुण राईले जानकारी दिनुभयो ।

शुक्रवार सम्पन्न गाउँ कार्यपालिकाको बैठकले ‘कोरोना सङ्क्रमणबाट उत्पन्न परिस्थितिमा कृषिजन्य उपज उत्पादन वृद्धिमा उत्प्रेरणा ल्याउन कृषकहरुलाई सम्मान तथा पुरस्कार वितरणसम्बन्धी कार्यविधि–२०७६’ पारित गरेको थियो ।

सोही कार्यविधिका आधारमा कृषकहरुलाई उक्त पुरस्कार दिने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत राईले जानकारी दिनुभयो । यो पुरस्कार आगामी आर्थिक वर्षमा मात्रै लागू हुनेछ ।

चालु आर्थिक वर्ष भित्रै उत्पादन हुने खाद्यान्नको खेती भइसकेकाले आगामी आ.व.बाट लागू हुने गरी पुरस्कार स्थापना गरिएको प्रमुख प्रशासकीय अधिकृत राईले जानकारी दिनुभयो ।

कार्यविधिमा एकै परिवारले उक्त परिमाणमा खाद्यान्न उत्पादन गर्नुपर्ने उल्लेख छ । उत्पादनको विश्वासनियताका लागि छुट्टै अनुगमन समिति समेत गठन गरिएको प्रमुख प्रशासकीय अधिकृत राईले वताउनुभयो ।

अधिकांश क्षेत्र खेती योग्य जमिन रहेको मिक्लाजुङमा अन्य स्थानीय तहको तुलनामा सिंचाईको समेत राम्रो ब्यवस्था छ । तर खेती योग्य जमिन बाँझिदै गएकाले गाउँपालिकाले प्रोत्साहनको ब्यवस्था गरेको हो ।

“धेरै खेती योग्य जमिन बाँझिएका छन् । गाउँपालिकालाई जोड्न मुख्य सडकहरु निर्माणाधीन अवस्थामा रहेकाले अभाव भएको बेला खाद्यान्न आपूर्ति गर्न पनि कठीन हुन्छ”, प्रमुख प्रशासकीय अधिृकत राईले भन्नुभयो, “यसैले कृषि उपज उत्पादनमा विशेष जोड दिएका हौँ ।”

यहि गाउँपालिकाले कोभिड–१९ को महामारी र लकडाउनका कारण खाद्य सङ्कट हुने भन्दै खाद्यान्न प्रयोग गरी मदिराजन्य पदार्थ उत्पादन गर्न रोक लगाएको छ । गाउँपालिकाले मदिराजन्य पदार्थ उत्पादनका लागि खाद्य वस्तु विक्री नगर्न स्थानीयवासी तथा ब्यवसायीहरुमा अपिल समेत गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्