बेलायतमा कोरोना संक्रमणबाट ६० जना नेपालीको मृत्यु



फिदिम । बेलायतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने नेपालीहरुको संख्या ६० जना पुगेको छ ।

सोमबार साँझसम्म बेलायतमा ६० जना नेपालीहरुको कोरोनाका कारण मृत्यु भएको नेपाली दूतावास लन्डनका प्रवक्ता शरदराज आरनले जानकारी दिए ।

मृत्यु हुनेहरुमा ५० जना पुरुष र १० जना महिला रहेका छन् । सबैभन्दा बढी मृत्यु हुनेहरुमा भूतपूर्व गोर्खा सैनिकहरु रहेका छन् । अहिलेसम्म ४९ जना पूर्वगोर्खा सैनिक तथा ११ जना गैरगोर्खाको मृत्यु भएको उनले बताए । यस्तै २० जनाको लन्डनभित्र र बाँकी ४० जनाको लन्डनभन्दा बाहिरका विभिन्न स्थानमा मृत्यु भएको दूतावासले जनाएको छ ।

मृत्यु हुनेमा धेरैजसो ७० वर्षमाथिका छन् । नेपाली दूतावास लन्डन र गोर्खा वेल्फेयर ट्रष्ट, भूतपूर्व गोर्खाका संघसंस्था लगायतको संयुक्त प्रयासमा उक्त तथ्यांक सार्वजनिक गरिएको हो । विश्वभरिमा हालसम्म कुल ८७ जना नेपालीहरुको कोरोनाको कारण ज्यान गैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्