पाँचथरमा नौ सय बढीको आडिटी सम्पन्न



फिदिम, २९ वैशाख

पाँचथरमा हालसम्म नौ सय बढीको शीघ्र डाइग्नोष्टिक परीक्षण (आरडिटी) सम्पन्न भएको छ ।

दुई चरणमा गरी आइतवारसम्ममा यहाँका ९३६ जनाको आडिटी परीक्षण सम्पन्न भएको हो । यहाँ पहिलो चरणमा वैदेशिक रोजगारीबाट आएका तथा तिनको सम्पर्कमा पुगेका गरी करीव दुई सय जनाको आरडिटी सम्पन्न भएको थियो ।

पछिल्लो चरणमा लकडाउनको समयमा राजधानी काठमाण्डौं सहित जिल्ला बाहिरबाट जिल्ला भित्रिएकाहरु तथा विदेशबाट आई लुकिछिपी बसेकाहरुको शीघ्र परीक्षण गरिएको स्वास्थ्य कार्यालय पाँचथरले जनाएको छ ।

हालसम्मका परीक्षणमा यहाँका एक जनाको आडिटीको नतिजा पोजेटिभ देखिएको थियो । तर स्वाब परीक्षण गर्दा ती ब्यक्तिको नतिजा नेगेटिभ आएको थियो ।

जिल्ला स्थित कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समिति सहितका सरकारी निकायको पहलमा यहाँ १०५० थान शीघ्र डाइग्नोष्टिक परीक्षण किट मगाई परीक्षण गरिएको हो । प्रदेश तथा संघीय सरकारले किट उपलब्ध गराएका थिए ।

विदेशबाट आएका, काठमाण्डौँ तथा अन्य जिल्लाबाट आएका र तिनको सम्पर्कमा पुगेका अधिकांशको शीघ्र परीक्षण गरिएपछि यहाँका अधिकांश क्वारेन्टाइनहरु खाली भएका छन् । शीघ्र परीक्षणपछि सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गर्दै घर पठाइएको हो ।

पूर्वी तराईका झापामा समेत कोरोना भाइरसका सङ्क्रमित भेटिएपछि यहाँ विशेष सतर्कता अपनाइएको छ । विशेषत सीमा नाका क्षेत्रमा कडाई गरिएको छ । यहाँ कोरोना भाइरस सङ्क्रमणको त्रास कम हुँदै गएको छ ।

विदेश तथा जिल्ला बाहिरबाट आउनेहरु गाउँ केन्द्रीत भएपछि विशेषत ग्रामीण क्षेत्रमा सङ्क्रमणको त्रास बढेको थियो । तर ठूलो संख्यामा शीघ्र परीक्षणपछि यस्तो त्रास क्रमशः हटेको हो ।

सङ्क्रमितलाई अन्यको सम्पर्कमा पुग्न नदिन तथा ग्रामीण क्षेत्रमा सङ्क्रमणको त्रास कम गर्न ठूलो मेहनत गर्नु परेको जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटाको भनाई छ । सबै सरकारी निकायहरुको पहलपछि ठूलो संख्यामा शीघ्र परीक्षण सम्पन्न गरिएको उहाँले वताउनुभयो ।

“बाहिरबाट आउनेहरु सबैको शीघ्र परीक्षणले सङ्क्रमणको जोखिम त घटाएको छ नै, गाउँलाई सुरक्षित पार्न र ग्रामीण जनजीवन सहज बनाउन मद्दत मिलेको छ”, समन्वय समितिका प्रमुख सापकोटाले भन्नुभयो ।

यस्तै पाँचथरका ४२ जनाको स्वाबको परीक्षण समेत सम्पन्न भएको छ । कोशी अस्पताल विराटनगर र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वाब परीक्षण गरिएको हो ।

“एक कोरोना सङ्क्रमित युवतीसँगै एकै विमानमा नेपाल आएकादेखि आडिटी पोजेटिभ देखिएका समेतको स्वाब परीक्षण गर्दा नतिजा नेगेटिभ आएको छ”, स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीले भन्नुभयो, “आवश्यक पर्दा थप शङ्कास्पद स्वाब समेत परीक्षण गर्ने तयारी गरेका छौँ ।”

प्रतिक्रिया दिनुहोस्