अलैंचीमा नयाँ किराको प्रकोप, पूरै बगान सुकेर सखाप हुँदै



फिदिम, २९ वैशाख

पाँचथरको याङवरक गाउँपालिकामा नयाँ प्रकारको किराले अलैंची नष्ट गर्न थालेको छ । नयाँ किराको प्रकोपले अलैंची सखाप हुँदै गएपछि यहाँका कृषक चिन्तित बनेका छन् ।

अघिल्लो वर्ष केही स्थानमा देखिएको सेतो किराले यस वर्ष अलैंचीको सबै पात खान खाएपछि अलैंचीका बगान सुक्न थालेका हुन् । गत वर्ष केही बोटमा देखिएको यो प्रकोपले यस वर्ष याङवरक गाउँपालिका वडा नं. २ फलैंचामा प्रकोपको रुप लिएको छ ।

अलैंचीको पात मुनि बसेर पात खाने किरा रातको समाय बढी सकृय हुन्छ । फागुनदेखि उक्त किराको प्रकोप सुरु हुन्छ । गत वर्ष नियमित वर्षा हुने समयसम्म किराको सामान्य प्रकोप रहेकामा यस वर्ष अलैंची बाली नै सखाप पार्दै लगेको याङवरक–२ का अलैंची कृषक प्रेमराज योङहाङले वताउनुभयो ।

उक्त किराको प्रकोपले स्थानीयवासी चिन्तित बनेका छन् । आफ्नो करीब दुई सय रोपनी क्षेत्रफलमा लगाइएको अलैंचीको बगान सुकेर गएको कृषक समीर बेघाको भनाई छ । प्रकोप शुरु भएको केही दिनमै सयौँ रोपनी क्षेत्रफलमा फैलिएको अलैंची बगान सुकेर गएको अर्का कृषक भीम केरुङको भनाई छ ।

यो किराले शुरुमा अलैंचीको पात खान्छ । किराले पातपछि डाँठ र फूल समेत खाएपछि यहाँका अलैंची धमाधम मर्न थालेका छन् । अलैंचीमा लागेको यो प्रकोप एक प्रकारको पुतलीको लार्भाबाट फैलिएको हो ।

पुतलीको फुलबाट बढेकोे लार्भा किराको रुपमा परिवर्तन भएपछि त्यसले अलैंचीको पात र अन्य भाग खाने गरेको पाइएको कृषि ज्ञान केन्द्र पाँचथरका प्रमुख सागर बिष्टले वताउनुभयो । यो समस्या गत वर्ष पाँचथरको फिदिम नगरपालिका वडा नं. ८ मा समेत फाटफुट देखिएको उहाँको भनाई छ ।

उक्त किराको प्रकोप बढ्दै गए केही महिनामै आफ्नो वडाका सबै अलैंची बगान सखाप हुने याङवरक गाउँपालिका वडा नं. २ का वडाध्यक्ष देउकुमार योङहाङले वताउनुभयो ।

नयाँ किराको प्रकोपले अलैंचीमा महामारीको रुप लिन नदिन आफूहरुले पहल थालेको वडाध्यक्ष योङहाङको भनाई छ । किराको प्रकोपले अलैंची बगान सुक्दा हालसम्म एकै वर्षमा करीब रु. ५० लाख बराबरको आम्दानी गर्ने अलैंची बगान सखाप भएको वडाध्यक्ष योङहाङले वताउनुभयो ।

अलैंचीमा नयाँ प्रकोप देखिएपछि कृषि ज्ञान केन्द्र पाँचथर र याङवरक गाउँपालिकाको प्राविधिक टोलीले स्थलगत निरीक्षण, रोग पहिचान र बिषादी छर्ने काम थालेको छ ।

यो समस्याबाट अलैंचीलाई जोगाउन गाउँपालिका र कृषि ज्ञान केन्द्रबाट आसपासको क्षेत्रमा विषादी छर्न तथा प्रकोप फैलनबाट बचाउन प्राविधिक टोली खटाइएको ज्ञान केन्द्रका प्रमुख विष्टले जानकारी दिनुभयो । किराको प्रकोप हालसम्म करीब १५ यस रोपनी अलैंची बगानमा फैलिएकाले नियन्त्रण गर्न सकिने प्राविधिकहरुले वताएका छन् ।

जिल्लाका अन्य क्षेत्रमा अलैंचीमा विभिन्न रोग र उत्पादन ह्रास आएपनि फलैंचामा यस्तो समस्या देखिएको थिएन् । “अन्न फल्ने बारीमा अलैंची रोपियो । तर यसपाली किराले पूरै बगान सखाप पा¥यो”, स्थानीय कृषक धनकुमार बेघाले भन्नुभयो ।

पाँचथरमा दुई हजार ९२० हेक्टर क्षेत्रफलमा अलैंची बगान रहेको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । यहाँ अलैंचीको उत्पादन बढाउन एक स्थानीय तहमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, एक स्थानमा अलैंची ब्लक विकास कार्यक्रम र पाँच स्थानमा अलैंची पकेट क्षेत्रका कार्यक्रम कार्यान्वयनको चरणमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्