पाँचथरमा लकडाउन उल्लङ्घन बढ्दो



फिदिम, २४ वैशाख

पाँचथरमा सर्वसाधारणबाट लकडाउनको प्रभावकारी कार्यान्वयनमा असहयोग भएको छ ।

सर्वसाधारणकै हितका लागि कोभिड–१९ सङ्क्रमणको जोखिम न्यूनिकरण गर्न लकडाउन जारी गरिएको भएपनि यहाँ सर्वसाधारणबाट लकडाउन उल्लङ्घन गर्ने क्रम बढ्दो छ । बजारी तथा ग्रामीण इलाकामा बढेको लकडाउन उल्लङ्घनले सङ्क्रणको जोखिम बढाएको छ ।

कोरोना भाइरस सङ्क्रमणको लामो समयपछि समेत कोभिड–१९ का लक्षणहरु देखिने हुँदा लकडाउन उल्लङ्घनले समस्या निम्तन सक्ने भन्दै प्रशासनले लकडाउनको प्रभावकारी कार्यान्वयनमा सघाउ पु¥याउन जिल्लावासीलाई अपिल गर्दै आएको छ ।

जिल्लाको सदरमुकाम फिदिममै अत्यावाश्यक बाहेकका बजार पसल समेत खोल्ने, अनावाश्यक भीडभाड गर्ने तथा सवारी साधन सञ्चालन गर्ने क्रम बढेको छ । सदरमुकाममा अत्यावाश्यक बाहेकका श्रृङ्गार, लत्ताकपडा, निर्माण सामग्री लगायतका पसल समेत आंशिक रुपमा खुल्न थालेका छन् ।

प्रहरीले कडाई गरेको समयमा यस्ता पसलहरु बन्द गर्ने र प्रहरीको आँखा छलेर खोल्ने क्रम बढ्दो छ । प्रहरीले दैनिक रुपमा गस्ती गर्नुका साथै सर्वसाधारण तथा ब्यवसायीहरुलाई समेत तुल्याउँदै आएको भएपनि लकडाउन कार्यान्वयनमा सर्वसाधारणबाट सहयोग भएको छैन् ।

यहाँका सानादेखि ठूलासम्म किराना पसलहरु विगतबाटै आंशिक रुपमा खुल्दै आएकामा पछिल्लो पटक अन्य पसलहरु समेत खुल्न थालेका हुन् । यहाँ धेरै किराना पसल तथा स–साना होटलहरु एकै स्थानबाट सञ्चालित छन् । जसकारण धेरै मानिसहरु भेला हुने तथा भीडभाड हुने गरेको छ ।

सुरक्षा निकाय, स्थानीय तहहरु, निजी क्षेत्र लगायतले लकडाउनको प्रभावकारी कार्यान्वयनमा सहयोग गरी कोभिड–१९ को सङ्क्रमणबाट बच्न सहयोग गर्न सर्वसाधारणलाई नियमितजसो अपिल गर्दै आएका छन् ।

यस्तै यहाँका ग्रामीण सडकहरुमा दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारी साधन सञ्चालन गर्ने क्रम समेत बढिरहेको छ । प्रहरीको आँखा छलेर अत्यावाश्यक काम नहुनेहरुले समेत सवारी साधन सञ्चालन तथा प्रयोग गरिरहेका छन् ।

यस्तै खाद्यान्न लगायत अत्यावाश्यकीय काममा खटिएका सवारीका साधनले समेत यात्रु बोक्ने गर्नाले सङ्क्रमणको जोखिम बढेको हो । प्रहरीले दैनिकजसो अत्यावाश्यक काममा बाहेक सञ्चालित सवारी साधन नियन्त्रणमा लिने गरेको छ ।

तर जनप्रतिनिधि तथा अन्य पहुँचवालाको दबावमा नियन्त्रणमा लिइएका सवारी साधन एक÷दुई दिनमै छाड्ने क्रमले सवारी साधन सञ्चालन निर्वाधजस्तै बनेको छ ।

लकडाउनको प्रभावकारी कार्यान्वयनका लागि सुरक्षा निकायले मेची राजमार्ग, पुष्पलाल (मध्यपहाडी) लोकमार्ग र अन्य मुख्य सडकहरुमा नियमित गस्ती तथा अनुगमन गर्दै आएको सहायक प्रमुख जिल्ला अधिकारी निर्मल तुम्रोकले जानकारी दिनुभयो ।

यस क्रममा सवारीका कारण राजमार्ग क्षेत्रमा कोभिड–१९ को सङ्क्रमण फैलन सक्ने भन्दै सुरक्षा निकायले सचेत तुल्याउन थालेका छन् ।

यद्यपी यहाँ निसङ्क्रमण, सचेतना तथा सतर्कता, लकडाउनको प्रभावकारी कार्यान्वयन, अत्यावाश्यक सवारी साधन सञ्चालनमा रोक लगाउने कार्यमा स्थानीय तहहरुको प्रभावकारी भूमिका देखिएको छैन् । अत्यावाश्यक क्षेत्रका लामो दुरीका सवारीका साधनमा निसङ्क्रमण गरिएको छैन् ।

सडक तथा बजारी क्षेत्रमा सचेतना र सतर्कताका लागि प्रभावकारी काम भएको छैन् । निसङ्क्रमण तथा सचेतना अभावले राजमार्ग क्षेत्रमा सङ्क्रमणको त्रास कायम रहेको छ ।

जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटाले स्थानीय तहहरुलाई कोभिड–१९ नियन्त्रण तथा रोकथाममा सबै शक्ति प्रयोग गर्न आग्रह गरिएको वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्