अवैध उत्खननले तमोर नदीमा रहेको पुल जोखिममा



फिदिम, २४ वैशाख

लकडाउनको मौका छोपेर गरिएको अवैध उत्खननले पाँचथर–तेह्रथुम जोड्ने तमोर नदीको माझीटार स्थित पुल जोखिममा परेको छ ।

पक्की पुलको पाँच सय मिटर आसपासबाट नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने कानूनी ब्यवस्था भएपनि पुष्पलाल (मध्यपहाडी) लोकमार्गमा पर्ने माझीटार स्थित पुलको मुनि तथा आसपासबाट ठूलो परिमाणमा नदीजन्य पदार्थ उत्खनन गरिएपछि पुल जोखिममा परेको हो ।

पुलका तीन वटा पिल्लरको आसपासबाट ढुङ्गा, गिटी र बालुवा उत्खनन गरिएको पाइएको छ । उत्खननले पुल जोखिममा परेपछि पाँचथर स्थित सरोकारवाला तथा सुरक्षा निकायले उत्खनन रोकेर कारबाहीको प्रकृया अघि बढाएका छन् ।

पुलको मध्य भागमा रहेको पिल्लरमा पानीको बहावले क्षति पु¥याएपछि गत फागुन दोश्रो साता मर्मत गरिएको थियो । पुष्पलाल (मध्यपहाडी) लोकमार्ग आयोजना कार्यालयले मर्मतको जिम्मा एपेक्स निर्माण कम्पनीलाई दिएको थियो ।

यही क्षेत्रमा तमोर कोरिडोर सडक निर्माण गरिरहेकाले कार्यालयले उक्त कम्पनीलाई मर्मतको जिम्मा दिएको थियो । मर्मतका क्रमका सुरु भएको नदीजन्य पदार्थ उत्खननको कार्य नियन्त्रण नहुँदा पुल नै जोखिममा परेको पाइएको जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

“मर्मतका क्रममा पुलको मुनिबाट केही नदीजन्य पदार्थ निकाल्नै पर्ने भएको रहेछ । तर मर्मतपछि अवैध उत्खनन गरिएपछि पुल नै जोखिममा पर्ने अवस्था आएको पाइयो”, सापकोटाले रासससँग भन्नुभयो, “सम्वद्ध कार्यालय तथा स्थानीय तहले नियमित रेखदेख र अनुगमन नगर्दा समस्या आएको हो ।”

मंगलबार जिल्ला अनुगमन समितिको अगुवाईमा प्राविधिक सहित सरोकारवाला निकायका प्रतिनिधिहरुले उक्त क्षेत्रको स्थलगत गरेका छन् ।

अनुगमनमा पुल जोखिममा परेको पाइएपछि मंगलबार नै समितिको आकस्मिक बैठक बसी कारबाहीको प्रकृया अघि बढाइएको समन्वय समितिका प्रमुख सापकोटाले वताउनुभयो । पुल आसपासबाटै नदीजन्य सामग्री उत्खनन भएपछि पुलको पिल्लरको धेरै भाग जमिनभन्दा बाहिर निस्किएको छ ।

उत्खनन नरोकिए वर्षायामको बाढीले पुल भत्कनसक्ने प्राविधिकहरुले वताएपछि अनुगमन समितिले अनुगमन तथा कारबाहीको प्रकृया अघि बढाएको हो ।

तमोर कोरिडोर सडक निर्माण गरिरहेको उक्त कम्पनीबाटै अवैध उत्खनन भएको समितिको निश्कर्ष छ । समितिले पुष्पलाल (मध्यपहाडी) लोकमार्ग आयोजना कार्यालय फिदिम तथा पुल मर्मतको जिम्मा पाएको एपेक्स कम्पनीलाई बुधबारदेखि जोखिममा परेको क्षेत्रलाई नदीजन्य पदार्थले पुर्न निर्देशन दिएको छ ।

“भविश्यमा समेत जोखिम नहुनेगरी पुलको संरक्षणको कार्य अघि बढाउन निर्देशन दिइएको छ”, समन्वय समितिका प्रमुख सापकोटाले भन्नुभयो, “यस पटक सचेत गराई पुलको संरक्षण गर्न लगाउने र भविश्यमा यस प्रकारका गल्ती दोहो¥याए कानूनी कारबाही गर्ने निर्णय गरिएको छ ।”

लोकमार्ग आयोजना कार्यालयले उक्त कम्पनीलाई पुल मर्मतको जिम्मा दिएको प्रष्टिएपनि अवैध उत्खनन गर्नेको यथेष्ट प्रमाण नरहेकाले कारवाहीको प्रकृया अघि बढाउन नसकिएको सापकोटाले वताउनुभयो ।

अवैध उत्खननको कार्यमा नदी छेउका जग्गा धनी, स्थानीय तह, पुष्पलाल (मध्यपहाडी) लोकमार्ग आयोजना कार्यालय समेतको सम्लग्नताको आशङ्का गरिएको छ ।

माझीटारका स्थानीयवासी कुमार तामाङले भन्नुभयो, “पुलकै आसपासबाट दैनिकजसो नदीजन्य सामग्री उठाइन्छ । हामीले सोधिखोजी गर्दा प्रकृया मिलाएको वताइन्छ । तर पुल भने जोखिममा परिसकेको छ ।”

लकडाउनमा सबै सरकारी निकायको ध्यान कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा गएका बेला अवैध उत्खनन गरिएको हो । उक्त पुलदेखि करीब २ सय मिटर माथिसम्म नदीजन्य पदार्थ उत्खनन गरिएको पाइएको छ । उत्खनन गरिएको केही सामग्री नदी किनारमा रहेपनि अधिकांश सामग्री बाहिर भण्डारण गरिएको स्थानीयवासीको भनाई छ ।

पक्की पुलको पाँच सय मिटर तलमाथिबाट नदीजन्य सामग्री उत्खनन गर्न नहुने, नदीजन्य सामग्रीको भण्डारण गर्न तथा सवारीमा लोड अनलोड गर्न नहुने कानूनी ब्यवस्था छ । तर पाँचथरको फिदिम नगरपालिका तथा तेह्रथुमको आठराई गाउँपालिकाको सीमामा पर्ने यो पुलको आसपासबाट विगत तीन वर्षदेखि अवैध उत्खनन तथा भण्डारण जारी छ ।

गत वर्ष अनुगमन समितिको निरन्तरको अनुगमनका बावजुत पनि नदीको भङ्गालो नै बदलेर नदीजन्य सामग्री उत्खनन भएको थियो । यस वर्ष पुलसँगै नदीजन्य सामग्रीको भण्डारण गरिएको छ । यस पटक मर्मतको नाममा पुलको मुनि तथा पुलभन्दा करीब दुई सय मिटर माथिसम्मको क्षेत्रबाट ढुङ्गा, गिटी र बालुवा उत्खनन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्