यी हुन् कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि याङवरक गाउँपालिकाका पहलहरु



फिदिम । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि पाँचथरको याङवरक गाउँपालिकाले फागुन तेश्रो सातादेखि निरन्तर कार्यहरु अघि बढाउँदै आएको छ ।

भारतको सिक्किम तथा छिमेकी जिल्ला ताप्लेजुङसँग सीमा जोडिएको यस गाउँपालिकाले सीमा क्षेत्रमा सतर्कता सहित, कोभिड–१९ नियन्त्रण, रोकथाम र सतर्कताका कार्यहरु, राहत वितरण, क्वारेन्टाइन निर्माण ब्यवस्थापन तथा सञ्चालन लगायतका कार्यहरु गर्दै आएको छ ।

याङवरकले सङ्क्रमण फैलनबाट रोक्न सीमा क्षेत्रबाट हुने आवात–जावतमा कडाई गर्ने, गाउँपालिका भित्र सङ्क्रमणबाट बच्ने उपायबारे गाउँपालिकावासीलाई सचेत तुल्याउने, बाहिरबाट आएका गाउँपालिकावासीलाई क्वारेन्टाइनमा राख्ने, जारी लकडाउनका कारण दैनिकी गुजार्न समस्या परेका गाउँपालिकावासीहरुलाई राहत दिने लगायतका कार्य गर्दै आएको गाउँपालिका अध्यक्ष लेखनाथ घिमिरेले जानकारी दिनुभयो ।

याङवरक गाउँपालिकाले कोभिड–१९ सँग जुध्न गाउँपालिका स्तरीय आपतकालीन ब्यवस्थापन समिति, शीघ्र उद्धार कार्य टोली, महामारी नियन्त्रण तथा रोकथाम समन्वय समिति लगायत समितिहरु गठन गरेको छ । यी समिति गाउँपालिका अध्यक्ष लेखनाथ घिमिरे, उपाध्यक्ष कमलकुमारी योङहाङ, प्रमुख प्रशासकीय अधिकृत रोहिणी आचार्य लगायतको नेतृत्वमा गठन भई सक्रिय रहेका छन् ।

यस्तै गाउँपालिका स्तरीय कोभिड–१९ नियन्त्रण तथा रोकथाम कार्यदल गठन गरी गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरु तथा गाउँपालिका भित्रका अन्य पक्षहरुको जिम्मेवारी बाँडफाँट समेत गरिएको छ ।

गाउँपालिकाको तत्ववधानमा गठित समितिहरुले कोभिड–१९ सँग जुध्ने कार्यक्रमहरु अगाडि बढाइरहेका छन् । यस्तै याङवरकका ६ वटै वडाहरुमा समेत कामको प्रकृतिअनुसारका समितिहरु गठन गरिएका छन् ।

गाउँपालिकाले फागुन ३० गते याङवरक–१ स्थित च्याङथापू बजारमा स्वास्थ्य सहायता कक्ष स्थापना गरेको थियो । गाउँपालिकाकै स्रोत साधनबाट हालसम्म सञ्चालित उक्त सहायता कक्षले नेपालसँग सीमा जोडिएको भारतको सिक्किमबाट चिवाभञ्ज्याङ नाका हुँदै नेपाल प्रवेश गर्नेहरुको स्वास्थ्य परीक्षण गर्ने, कोभिड–१९ सम्बन्धी जानकारी दिने तथा आवश्यक सतर्कताका लागि सहयोग गर्ने काम गर्दै आएको छ ।

याङवरक गाउँपालिकाले अन्य स्थानीय तहमा जस्तै विदेशबाट आएका ब्यक्तिहरुको लगत सङ्कलन, विदेशबाट आएका ब्यक्तिहरु सहित उनीहरुको सम्पर्कमा पुगेकाहरुलाई समेत क्वारेन्टाइनमा दुई साता राखी, शीघ्र डाइग्नोष्टिक परीक्षण गरी होम क्वारेन्टाइनमा बस्न घर पठाएको छ । उक्त कार्यमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम्सेविका लगायतको सक्रियता रहेको छ ।

बाहिरबाट आउनेहरुलाई राख्न याङवरकमा ७८ शै्य्याको क्वारेन्टाइन निर्माण गरिएको छ । जसअनुसार वडा नं. १ च्याङथापूमा १६ वेड, वडा नं. २ फलैंचामा ११ वेड, वडा नं. ३ ओयाममा १५ वेड, वडा नं. ४ र ५ का लागि थर्पुमा २१ वेड तथा वडा नं. ६ का लागि गणेश माध्यमिक विद्यालयमा १५ वेडको क्वारेन्टाइन निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोहिणी आचार्यले जानकारी दिनुभयो ।

यी क्वारेन्टाइनमा हालसम्म ७१ जना ब्यक्तिहरु बसेका छन् । पहिलो चरणमा चैत महिना लागेयता विदेशबाट आएका तथा तिनको सम्पर्कमा पुगेका २२ जना ब्यक्तिहरुलाई क्वारेन्टाइनमा राखिएको थियो । दुई साता क्वारेन्टाइनमा राखी शीघ्र डाइग्नोष्टिक परीक्षणपछि उनीहरुलाई घर फर्काइएको थियो ।

दोश्रो चरणमा काठमाण्डौँबाट फर्केका ब्यक्तिहरु, पाँचथर बाहिरबाट आएका ब्यक्तिहरु लगायतलाई क्वारेन्टाइनमा राखिएको थियो । उनीहरुको शीघ्र डाइग्नोष्टिक परीक्षणको कार्य भइरहेको छ । उनीहरुको परीक्षणपछि घर फर्काइने गाउँपालिकाले जनाएको छ ।

शीघ्र परीक्षणकै क्रममा याङवरकका एक ब्यक्तिको शीघ्र डाइग्नोष्टिक परीक्षण (आडिटी) पोजेटिभ देखिएको थियो । ती ब्यक्ति सहित उनीसँग क्वारेन्टाइनमा सँगै बसेका ब्यक्तिहरुको स्वाब परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको याङवरक गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख रविन खत्रीले जानकारी दिनुभयो ।

याङवरक गाउँपालिकामा स्वास्थ्यकर्मी तथा एम्बुलेन्स चालकका लागि अत्यावाश्यक स्वास्थ्य सुरक्षा सामग्रीको प्रवन्ध, गाउँपालिकावासीलाई स्वास्थ्य सामग्री एवम् सुरक्षाका सामग्रीको प्रवन्ध गर्ने प्रयत्न समेत भएको छ । गाउँपालिकाले खरिद गरेका ४ हजार ५ सय थान, नेकपा पाँचथरले उपलब्ध गराएका तीन हजार थान र एनएलआरले उपलब्ध गराएका १५० थान गरी ७ हजार ६५० थान मास्क वितरण गरिएको छ ।

यस्तै तीन सय थान सेनिटाइजर वितरण गरिएको छ भने कोभिड–१९ बाट बच्ने उपायसम्बन्धी जानकारीमुलक प्रचार सामग्री निर्माण गरी वितरण गरिएको छ । यस्तै गाउँपालिकाले माइकिङ मार्फत प्रचार–प्रसारको कार्य समेत जारी राखेको छ ।

याङवरक गाउँपालिकाले क्वारेन्टाइन तथा कोभिड–१९ सँग सम्बन्धित क्षेत्रमा खट्ने ३४ जना स्वास्थ्यकर्मीहरुलाई आवश्यक स्वास्थ्य सुरक्षा उपकरणको प्रवन्ध गरेको छ । गाउँपालिकामा हाल छ थान ब्यक्तिगत सुरक्षा उपकरण (पीपीई) मौज्दात रहेको छ ।

गाउँपालिकाले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि आकस्मिक कोष समेत खडा गरेको छ । उक्त कोषबाटै गाउँपालिकाले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका काममा रकम खर्च गर्दै आएको छ ।

उक्त कोषमा गाउँपालिकाको आकस्मिक कोषमा रहेको १० लाख रुपैया, प्रदेश सरकारले उपलब्ध गराएको ५ लाख रुपैयाँ, याङवरक गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुबाट सङ्कलित ३ लाख ७ हजार रुपैयाँ, साहरा नेपाल सहकारीबाट २५ हजार रुपैयाँ, ओयाम वचत तथा ऋण सहकारी संस्थाबाट २० हजार रुपैयाँ र पाँचथर उद्योग वाणिज्य संघबाट ५१ हजार रुपैयाँ गाउँपालिकाको उक्त कोषमा जम्मा भएको छ ।

गाउँपालिकाले जारी लकडाउनका कारण दैनिकी गुजार्न समस्या परेका परिवारहरुलाई राहत समेत वितरण गरिसकेको छ । गाउँपालिकाले सात हजार पाँच सय किलो चामल, तीन सय लिटर तेल, छ सय किलो दाल, छ सय थान साबुन र तीन सय किलो नुन गाउँपालिका भित्रका ३३१ परिवारलाई वितरण गरेको छ । यस क्रममा पाँचथर उद्योग वाणिज्य संघ थर्पू शाखाले सवै वडासम्म निःशुल्क रुपमा राहत सामग्री ढुवानी गरिदिएको थियो ।

गाउँपालिकालाई प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय पाँचथर, स्वास्थ्य कार्यालय पाँचथर, नेकपा पाँचथर, एनएलआर विराटनगर लगायत निकाय तथा संस्थाबाट पीपीई, थर्मलगन, ग्लोब्स, सर्जिकल ग्लोब्स, सिमकार्ड, सेनिटाइजर, क्लोरिन लगायत सामग्री प्राप्त भएको गाउँपालिका कार्यपालिको कार्यालयका सूचना अधिकारी गणेश खतिवडाले जानकारी दिनुभयो ।

सवै पक्षको सक्रियतामा कोभिड–१९ बाट बच्न सचेतना, सतर्कता, रोकथाम तथा नियन्त्रणका कार्यहरु प्रभावकारी रुपमा अघि बढेको गाउँपालिका उपाध्यक्ष कमलकुमारी योङहाङले वताउनुभयो ।

सङ्कटको घडिमा गाउँपालिकावासीले सरकारले घोषणा गरेको लकडाउनको प्रभावकारी कार्यान्वयन गर्न सघाउ पु¥याउन, कोभिड–१९ सँग लक्षण मिल्ने विरामी भेटिए चाँडो स्वास्थ्य संस्थामा पु¥याउन, जिल्ला वाहिरबाट फर्केका सबै ब्यक्तिहरुको स्वास्थ्य परीक्षण एवम् क्वारेन्टाइनमा बस्ने ब्यवस्था मिलाउन, समस्यामा पर्ने छरछिमेकीलाई सहयोग गर्न, सामाजिक दूरी कायम गरी काम गर्न सहयोग गर्ने उपाध्यक्ष योङहाङको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्