आरडिटी पोजेटिभ देखिएका पाँचथरका युवाको स्वाबको रिपोर्ट नेगेटिभ



फिदिम, २२ वैशाख

शीघ्र डाइग्नोष्टिक परीक्षण (आडिटी)मा पोजेटिभ नतिजा आएका एक पुरुष सहित पाँचथरका १६ जनाको स्वाबको रिपोर्ट नेगेटिभ आएको छ ।

स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीका अनुसार दुई दिनअघि भएको आडिटीमा पोजेटिभ नतिजा आएका जिल्लाको याङवरक गाउँपालिकाका ती पुरुष सहित उनका आफन्त र क्वारेन्टाइनमा बसेका सबैको स्वाबको परीक्षण गरिएको थियो ।

कोशी अस्पताल विराटनगरमा आइतवार बेलुकी गरिएको स्वाब परीक्षणमा सबैको नतिजा नेगेटिभ आएको सुवेदीले जानकारी दिनुभयो । काठमाण्डौँमा अलपत्र परेकाहरुलाई ल्याई यहाँका क्वारेन्टाइनमा राखेर आडिटी गर्ने क्रममा एक जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।

उनको रिपोर्ट पोजेटिभ आएपछि उनी सहित गणेश माध्यमिक विद्यालय याङवरक–६ को क्वारेन्टाइनमा बसेका ११ जनालाई फिदिम ल्याई आइसोलेसन कक्षमा भर्ना गरिएको थियो ।

पाँचथरमा चैत लागेयता विदेशबाट आएका ब्यक्ति, तिनको सम्पर्कमा पुगेका ब्यक्तिहरु, गत हप्ता काठमाण्डौँबाट जिल्ला ल्याइएका ब्यक्तिहरुको आडिटी गर्ने क्रम जारी छ । आइतवार साँझसम्म यहाँका ६५३ जनाको आडिटी परीक्षण गरिएको छ ।

आरडिटीपछि काठमाण्डौँबाट गाउँ ल्याइएकाहरुलाई होम क्वारेन्टाइनमा पठाइएको छ भने विदेशबाट आएका तथा तिनको सम्पर्कमा पुगेका ब्यक्तिहरुलाई दुई साता क्वारेन्टाइनमा राखेर मात्रै घर पठाउन स्थानीय तहहरुलाई भनिएको प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्