एकैदिन १६ जनामा कोरोना सङ्क्रमण पुष्टि, कुल संख्या ७५ पुग्यो



फिदिम । नेपालमा थप १६ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको सरकारले आइतवार पुष्टि गरेको छ ।

योसँगै नेपालमा कुल सङ्क्रमितको संख्या ७५ पुगेको छ । तीमध्ये १६ जना निको भइसकेका छन् ।

प्रदेश नं ५ को बाँके जिल्लाको नेपालगन्जमा १५ र प्रदेश नं २ को पर्सा जिल्लाको वीरगन्जमा एक गरी कुल १६ जनामा कोभिड–१९ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

दिउँसो १० जनामा सङ्क्रमण भएको पुष्टि भएकोमा साँझ मन्त्रालयले एक विज्ञप्ति प्रकाशित गर्दै थप छ जना सङ्क्रमित फेला परेको जनाएको हो । उनीहरू सबै नेपालगन्जका हुन् । अहिलेसम्म देशका सातमध्ये छवटा प्रदेशमा कोभिड–१९ भएका व्यक्ति फेला परेका छन् ।

को हुन् सङ्क्रमित व्यक्ति ?

वीरगन्जमा ३६ वर्षीय पुरुषमा र नेपालगन्जमा आठ पुरुष र सात महिलासहित १५ जनामा सङ्क्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरू सातदेखि ६० वर्ष उमेरका रहेको जानकारी मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

वीरगन्जमा यसअघि फेला परेका सङ्क्रमित व्यक्तिहरूको सम्पर्कमा रहेका मानिसहरूको पहिचान गर्ने क्रममा केहीबाट गत शुक्रवार नमुना सङ्कलन गरी परीक्षणका लागि काठमाण्डूस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

तीमध्ये एक जनाको कोरोनाभाइरस देखिएको हो । उनलाई आइतवार नै घरबाट नारायणी अस्पताल लगिएको छ । यसअघि वैशाख १४ मा सङ्क्रमण पुष्टि भएका वीरगन्ज महानगरपालिकाका सरसफाइ कर्मचारीसँगै उनी पनि राहत वितरणमा खटिएको बताइएको छ ।

सङ्क्रमित व्यक्तिको संख्या बढेपछि छपकैयाको वडा नम्बर ३ तथा अन्यक क्षेत्र सील गरिएको प्रदेश नं २ को सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले बताएका छन् ।

नेपालगन्जमा फेला परेका नयाँ सङ्क्रमितहरू शुक्रवार सङ्क्रमण पुष्टि भएका ६० वर्षीय व्यक्तिको सम्पर्कमा आएका व्यक्ति भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । उक्त कार्यालयका नरेश श्रेष्ठका अनुसार उनीहरू नेपालगन्ज–८ जोल्हनपुर्वास्थित मदरसावरिपरिका स्थानीय बासिन्दा हुन् ।

श्रेष्ठका अनुसार सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका १०५ जनाबाट नमुना सङ्कलन गरिएको छ । तीमध्ये आइतवार ६० जनाको नमुना परीक्षण गरिएको थियो ।

के छ नेपालगन्जका सङ्क्रमितको स्थिति ?

उनीहरुलाई बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा लैजाने तयारी गरिएको छ । सङ्क्रमण भएको पुष्टि भएकाहरूको घरघरमा गएर उनीहरूलाई अस्पताल लैजाने तयारी गरिएको श्रेष्ठले जानकारी दिए ।

“सङ्क्रमितहरूलाई अहिलेसम्म आफूलाई कोरोनाभाइरस सङ्क्रमण भएको थाहै छैन। हामी उनीहरूको परीक्षणको प्रतिवेदन लिएर घरघरमै गएर पहिचान गर्ने काम गरिरहेका छौँ,“ श्रेष्ठले भने । उनीहरू कसैमा पनि सङ्क्रमणको गम्भीर लक्षण भने नदेखिएको बताइएको छ ।

कति परीक्षण भयो ?

मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा पीसीआर विधिबाट हालसम्म १३,४२० वटा परीक्षण गरिएको छ भने द्रुत परीक्षण विधिमा आरडीटी किट प्रयोग गरेर ४९,६८८ वटा परीक्षण सम्पन्न भएको छ ।

गत २४ घण्टामा १,४७९ जनाको परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा बताए । अहिले देशभरि २१,९५८ क्वारन्टाइनमा रहेको र ७७ जना आईसोलेशन अर्थात् चिकित्सकीय निगरानीमा अलग्गै रहेको जानकारी पनि उनले दिए ।

क्वारन्टीनमा प्रदेश नं ५ मा सर्वाधिक र वाग्मती प्रदेशमा सबैभन्दा कम मानिस छन् । अहिले आईसोलेशनमा भएका ७७ जनामध्ये काठमाण्डू उपत्यकामा चार जना भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश नं १ मा अहिले सबैभन्दा धेरै अर्थात् ३१ जना सङ्क्रमित छन् । कर्णाली प्रदेशमा भने सङ्क्रमणको संख्या शून्य छ । देशभरि भएका सबै सङ्क्रमितको स्वास्थ्यस्थिति सामान्य भएको मन्त्रालयले जनाएको छ । (बीबीसी नेपालीबाट)

प्रतिक्रिया दिनुहोस्