खचाखच भरिए क्वारेन्टाइन



फिदिम स्थित फिदिम माध्यमिक विद्यालयको भवन तथा अगुवा स्रोत केन्द्रमा रहेको क्वारेन्टाइन ।

फिदिम, १८ वैशाख

विदेशबाट आई गाउँ–घरमा लुकेर बसेका तथा काठमाण्डौँबाट गाउँ फर्काइएकालाई राखिएपछि यहाँका क्वारेन्टाइनहरु खचाखच भरिएका छन् ।

चैत लागेयता पाँचथरका १२९ जना विदेशबाट फर्केका थिए । ती मध्ये झण्डै एक तिहाई मानिस क्वारेन्टाइनमा नबसी गाउँ–घरमै लुकेर बसेका थिए । पाँचथरका पहिलो चरणमा विदेशबाट फर्केका तथा तिनको सम्पर्कमा पुगेका १०४ जनालाई क्वारेन्टाइनमा दुई साता राखेर शीघ्र डाइग्नोष्टिक (आरडिटी) परीक्षणपछि घर फर्काइएको थियो ।

पछिल्लो पटक प्रशासनले विदेशबाट फर्केर लुकिछिपी बसेका, तिनको सम्पर्कमा पुगेका, रातारात अन्य जिल्लाबाट आएका तथा काठमाण्डौँबाट ल्याइएकाहरुलाई क्वारेन्टाइनमा राखेको छ । हाल यहाँका क्वारेन्टाइनमा ५२५ जना रहेका छन् ।

यहि साता काठमाण्डौँबाट २९२ जना जिल्लामा आइपुगेका थिए । उनीहरु सबैलाई शीघ्र परीक्षणपछि मात्रै घर फर्काउने प्रशासनको निर्णयपछि क्वारेन्टाइनहरु खचाखच भरिएका हुन् । क्वारेन्टाइनमा नौ जना बालबालिका समेत रहेका छन् ।

एकैसाथ झण्डै ३०० जनालाई क्वारेन्टाइनमा राख्नु परेपछि यहाँका स्थानीय तहहरुले सरकारी कार्यालय, विद्यालय तथा स्वास्थ्य संस्थामा भवनहरुमा अस्थायी क्वारेन्टाइन निर्माण गरेका छन् । यस क्रममा क्वारेन्टाइनमा बस्नेहरुले समस्या समेत भोग्नुपरेको छ ।

स्थानीय तहहरुलाई ब्यवस्थापनमा समस्या आएको छ । निकै असहज हुनेगरी एकै कोठामा धेरै वटासम्म वेड राखेर अस्थायी क्वारेन्टाइन निर्माण गरिएका छन् । सदरमुकाम फिदिमकै क्वारेन्टाइन निकै साँघुरा र सङ्क्रमणको जोखिमका दृष्टिले चुनौतिपूर्ण छन् ।

क्वारेन्टाइनहरुमा सामग्रीको समेत अभाव छ । फाल्गुनन्द गाउँपालिका–३ स्थित जलसिंह माध्यमिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा फाल्गुनन्द र फिदिम नगरपालिकाका १२३ जनालाई राखिएको छ ।

चिसो ठाउँ भएका कारण क्वारेन्टाइनमा बस्नेहरुलाई न्यानो कपडा समेत उपलब्ध गराउन नसकिएको फाल्गुनन्द गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल तित्रखीको भनाई छ । “रेडक्रसबाट प्राप्त भएका तथा खरिद गर्न भेटेसम्म कम्मल खरिद ग¥र्यौँ”, तिखत्रीले भन्नुभयो, “चिसो ठाउँ भएकाले क्वारेन्टाइनमा बस्नेहरुलाई समस्या छ ।” क्वारेन्टाइनमा बस्नेहरुलाई खाने र बस्नेको उचित प्रवन्ध गर्न कठिनाई परेको तिखत्रीले वताउनुभयो ।

जिल्ला बाहिर रहेका मानिसहरु जिल्ला भित्रने क्रम निरन्तर रहे सङ्क्रमणको जोखिम बढ्ने भएकाले यथास्थानमा राख्न आग्रह गरिँदै आएको प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले वताउनुभयो । “सङ्क्रमण फैलिएका जिल्लाबाट समेत पाँचथर आउन पाउनु प¥यो भन्ने माग आएका छन्”, प्रजिअ शर्माले भन्नुभयो, “अव कसैलाई पनि जिल्ला नपठाउन प्रदेश सरकारलाई लिखित आग्रह गरेका छौँ ।”

विगतमा छिमेकी जिल्ला झापाबाट आएकाहरुलाई समेत क्वारेन्टाइनमा राखिएको थियो । तर अहिले काठमाण्डौँबाट आउनेलाई समेत क्वारेन्टाइनमा राख्न नसक्ने स्थिति आउनु चिन्ताको विषय भएको प्रजिअ शर्माको भनाई छ । गाउँ सुरक्षित छ भन्ने भ्रममा अन्य जिल्ला तथा ठूला शहरहरुमा लामो समय रहन सक्ने सक्षम आर्थिक अवस्थाका मानिसहरु समेत गाउँ फर्कन थालेपछि स्थानीय स्तरमा समस्या आएको हो ।

क्वारेन्टाइनहरु राखिएका ब्यक्तिहरुको बुधवारदेखि शीघ्र डाइग्नोष्टिक परीक्षण गरिने भएको छ । जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटाका अनुसार उक्त परीक्षणका लागि जिल्लामा मंगलबार मात्रै ९०० थान किट प्राप्त भएका छन् । बुधवारदेखि डाइग्नोष्टिक परीक्षण गरी घर फर्काउन थालिने सापकोटाले जानकारी दिनुभयो ।

हालसम्म पाँचथरमा २०६ जनाको शीघ्र परीक्षण गरिएको छ भने ३७ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारदमुनि सुवेदीले जानकारी दिनुभयो । हालसम्मका परीक्षणमा कसैको पनि नतिजा पोजेटिभ आएको छैन् । सङ्क्रमणको जोखिम अझैपनि उत्तिकै रहेकाले अझैपनि सतर्कतामा कमी हुन नदिइने प्रजिअ शर्माको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्