नेकपा अध्यक्ष ओलीलाई एक कार्यकर्ताको पत्र



राजेन्द्र आङ्देम्बे

अध्यक्ष कमरेड केपी शर्मा ओली
नेकपा केन्द्रीय कार्यालय
धुम्बारही काठमाडौ

बिषयः बिचार गरियोस्

अध्यक्ष महोदय ।

आज हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बारेमा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा विभिन्न खाले टीका–टिप्पणीहरु भइरहेका छन् । यसबारे सबैभन्दा बढी जवाफदेही पार्टी अध्यक्ष र प्रधानमन्त्री भएको हिसाबले तपार्इं हुनुपर्छ ।

सबैभन्दा पहिले हामीले यो बुझ्नु आवश्यक छ, कमरेड आज नेपाल कम्युनिस्ट पार्टी छ अनि त तपाईसँग म जोडिएको छु । आजको हाम्रो मुल समस्या भनेको प्रधानमन्त्री फेर्ने वा नफेर्ने होइन् । केही थान मन्त्री वा मुख्यमन्त्री फेर्ने वा नफेर्ने होइन । कति जना अध्यक्ष हुने वा नहुने होइन ।

मुल समस्या त त्यहाँ हो, तपार्इँ कसरी चलिराख्नु भएको छ ? हाम्रोको पार्टीको मुख्य उद्देश्य के हो र तपार्इँ कता लागिराख्नु भएको छ ? तपाईँले पार्टीमा सामूहिक छलफल र निर्णय गराउनु हुन्छ कि हुन्न ? पार्टीमा गहन छलफलपछि हुने निर्णयको अक्षरस पालना गर्नु हुन्छ कि गर्नु हुन्न ? तपाईँले लिएको निर्णय तपाईँ जतिनै जिम्मेवारी लिइरहेको अरु कमरेडहरुलाई थाहा हुनुपर्छ पर्दैन ? हिजो सोभियत संघ कसरी ढल्यो मध्यनजर नगर्ने ? कतै हामी स्टालिनवादी त भइरहेका छैनौं ख्याल नगर्ने ?

आज हाम्रो मुख्य बिषय भनेको भर्खरै एकता भएको पार्टीलाई कसरी एकतावद्ध गर्दै शक्तिशाली भनाउने भन्ने हो । तपाईँलाई हेक्का होस्, कमरेड जब कार्यकर्ता भन्दा माथि पार्टी र पार्टी भन्दा माथि नेता हुन्छ अनि पार्टी सकिन्छ, यो पक्कै यहाँले बुझ्नु भएको छ । व्यक्ति एउटा अस्थायी पात्र हो, तर पार्टी स्थायी संगठन हो ।

हिजो क. पुष्पलाल, क. मनमोहन अधिकारी, क. मदन भण्डारी लगायत कमरेडहरुले बनाउनु भएको बाटोमा तपाईँ हिड्दै हुनुहुन्छ, अब तपाईँले बनाएको बाटोमा हामी हिड्ने हो कमरेड ? मात्र कुरा यति हो अब तपाईँहरुले बनाएको बाटो जहाँ हामी कतिको सुरक्षित महशुस गर्न सक्छौं ? मलाई विश्वास छ कमरेड तपाईँले भनेको जस्तै हाम्रो पार्टीले अझै ५० बर्ष यो देशको नागरिकहरुको सेवा गर्ने छ ।

राजेन्द्र आङ्देम्बे
पार्टी सदस्य, फाल्गुनन्द गाउँपालिका–१ भोगटेनी, पाँचथर

प्रतिक्रिया दिनुहोस्