कोरोना सङ्क्रमणबाट मुक्त हुने आठ सदस्यीय नेपाली परिवारको कथा



फिदिम । कोरोनाभाइरस सङ्क्रमण भएर निको भएका एकै परिवारका आठ जना प्रवासी नेपालीले आफूहरूले अर्को जीवन पाएको अनुभव सुनाएका छन् ।

यसअघि सवारी दुर्घटनामा परेर बाँच्न सफल परिवारका मूलीले चाहीँ आफूले तेश्रो जीवन पाएको भन्दै बीबीसीसँगको कुराकानीमा सन्तोष व्यक्त गरे।

पश्चिम नेपालको अछाम जिल्लाको चैरपाटी ठेगाना भइ भारतको मुम्बईमा बस्दै आएका एकै परिवारका आठ जनामा अघिल्लो महिना कोरोनाभाइरसको सङ्क्रमण देखिएको थियो।

तीनवटा अलग–अलग अस्पतालमा झण्डै साढे तीन साताको उपचारपछि निको भएका उनीहरू हाल दक्षिण मुम्बईको आफ्नो घरमा आराम गरिरहेका छन्।

सङ्क्रमण भएको यसरी थाहा भयो

परिवारका मूलीका अनुसार कार चलाउने काम गर्ने उनका माइलो भाइलाई भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरस नियन्त्रणको प्रयासमा लकडाउन घोषणा गर्नु अघि नै ज्वरो आइरहेको थियो।

पारिवारिक चिकित्सकबाट परीक्षण अनि विभिन्न अस्पतालमा जाँच गराएर औषधि खाँदा समेत ज्वरो आउने, छाति दुख्ने र टाउको दुख्ने क्रम रोकिएन। त्यसपछि उनले भाइमा कोरोनाभाइरस रहे या नरहेको परीक्षण गराउने निधो गरे।

स्वास्थ्य परीक्षणमा भाइलाई कोभिड–१९ देखिएपछि उनलाई अस्पतालमा भर्ना गरियो। एउटै घरमा बस्ने भएकाले परिवारका सबै ११ जनाको परीक्षण गराएको उनले मुम्बईबाट बताए।

त्यसबेलासम्म परिवारका अरू सदस्यलाई पनि हात खुट्टा पोल्ने, श्वास प्रश्वासमा बाधा हुने जस्ता लक्षण देखिन थालेका थिए। जाँचपछि उनकी श्रीमती, दुई छोरी, तीन भाइ र एक भतिजामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको थियो।

आफ्ना १२ वर्षे छोरा, भाइबुहारी र भतिजी बाहेक परिवारका सबैमा संसारलाई त्रसित बनाइरहेको भाइरस देखिँदा आफूले जिन्दगीकै ठूलो कष्ट भोगेको उनी बताउँछन्।

उनले भने, “सानोतिनो रोगबाहेक अस्पतालको गेट नै नदेखेका श्रीमती, छोरीहरू अनि सिङ्गो परिवारलाई नै कोरोनाभाइरसको सङ्क्रमण देखिँदा डर र चिन्ता दुवै लाग्यो। माहामारीको रूप लिएको रोग परिवारमा देखिँदा म आफूभन्दा पनि परिवारको बारेमा सोचेर धेरै चिन्तित भएँ।”

उनले थपे, “विश्व कोरोनाभाइरसको चपेटामा परेको बेला एकैचोटि परिवार नै तितरबितर हुने गरी सङ्क्रमण देखिएपछि हामीलाई अप्ठेरो र चिन्तित बनाएको यतिबेलै हो। जिन्दगीमा अहिलेसम्मकै सबैभन्दा ठूलो कष्ट बेहोरेको अनुभूति भयो।”

अलग–अलग स्थानमा उपचार

मुम्बईका ट्रमा, कस्तुरवा र पी. डब्लू अस्पतालमा उनका परिवारका सदस्यहरूको उपचार गरिएको थियो। उनीहरू २२ देखि २५ दिनसम्म अस्पतालमा बसेका थिए। परिवारका सदस्यहरूलाई अलग–अलग राखेकाले एक अर्काको स्वास्थ्यलाई लिएर परिवारका सदस्यहरूमा चिन्ता देखिएको घरमूली बताउँछन्।

तर उनले रोग लागेपछिको अवस्थामा पनि आत्मबल बलियो बनाएकाले कोरोनाभाइरसबाट आफ्नो परिवारले पार पाएको बताए। उनका अनुसार उनी भर्ना भएको एउटै वार्डमा उनी जस्तै कोरोनाभाइरसको सङ्क्रमण देखिएका ४८ बिरामी भर्ना गरिएका थिए।

चिकित्सकहरूले अरू कोरोनाभाइरसका बिरामीलाई जस्तै गर्ने व्यवहार आफूलाई गरेको र एक हप्तासम्म नियमित औषधि दिएको उनले सुनाए। पुनः परीक्षणमा सङ्क्रमण नदेखिएपछि औषधि बन्द गरिएको उनले बताए।

तर कोरोनाभाइरसको सङ्क्रमण देखिएका बिरामी भन्दै कतिपय अस्पतालका स्टाफ डराउने, खाना लिन लाम लाग्नुपर्ने र परिवारसँग टेलिफोनमा मात्रै कुराकानी गर्नुपर्ने अवस्था रहेको उनी सम्झिन्छन्।

“एउटै अस्पतालमा हुँदा पनि अलग–अलग वार्डमा भएकाले बोल्न सक्ने अवस्था थिएन। पछि त हाम्रो अस्पताल लगभग आठ देखि १० किलोमिटर सम्म परको दूरीमा थियो। त्यही भएर टेलिफोनबाटै एक अर्कालाई चिन्ता नलिउँ भनेर सम्झाउने गथ्यौँ ।”

सबैभन्दा सुरूमा आफू कोरोनाभाइरस सङ्क्रमणमुक्त भएको रिपोर्ट आएको र सबैभन्दा अन्त्यमा आफ्नी श्रीमती, दुई छोरी र भाइमा कोरोनाभाइरस नेगेटिभ देखिएको उनले सुनाए।

आठैजना निको भएपछिको खुसी

परिवारका सबैजना कोभिड–१९ को सङ्क्रमणबाट निको भएपछिको खुसी आफूले शब्दमा व्यक्त गर्न नसक्ने उनी बताउँछन्। उनले हिन्दु विधि अनुसार पूजापाठ गरेर परिवारका सबै सदस्यहरू दक्षिण भारतको मुम्बई स्थित गिरगाउँ चौपट्टीमा रहेको घरमा प्रवेश गरेको र पहिलाजस्तै एकजुट भएर रमाएको उल्लेख गरे।

उनी भन्छन्, “सबैजना पहिला जस्ता घरमा जुटेपछि मैले आत्मबल कायम राख्नुपर्छ कुनै पनि चिन्ता लिनुहुँदैन भनेर सम्झाएँ। आफ्नो दुख लुकाएर भएपनि अरूहरूलाई हौसला दिनुपर्छ भन्ने कुरा छोरीहरूसँग गरेँ।”

उनले थपे, “हाम्रो परिवारका लागि यो अर्को जुनी पाएको जस्तै कुरा भयो। मेरो लागि यो तेश्रो जुनी हो। सन् २००७ मा एउटा ठूलो सवारी दुर्घटनामा परेपछि म आठ महिना अस्पताल बसेको थिएँ। यतिबेला मेरो समग्र परिवारले दोस्रो जुनी र मैले तेश्रो जुनी पाएको महसुस गरेका छौँ।”

दिन चाहेको सन्देश

हाल ४२ वर्षका उनी झण्डै तीन दशक अघि बाल्यकालमा नै घरबाट भागेर रोजगारीका लागि मुम्बई पुगेको बताउँछन्। पढ्ने उमेरमा त्यहाँ पुगेका उनी हाल व्यवसाय चलाउँछन् जसले सुरक्षा गार्डहरूको आपूर्ति गर्छ।

त्यसबाहेक भारतभरि झण्डै २ सय वटा नेपाली साँस्कृतिक कार्यक्रम आफूले आयोजना गरेको उनले जानकारी दिए। कोरोनाभाइरसको सङ्क्रमणबाट मुक्त भएपनि अहिले उनको परिवार आफ्नो घरमै क्वारन्टीनमा बसिरहेको छ।

लकडाउन खुलेर अवस्था सामान्य भएपछि अछामस्थित आफ्नो गाउँ आउन आफूले चाहेको पनि उनी बताउँछन्। “सम्पुर्ण नेपालीहरूलाई आआफ्नो ठाउँमा सुरक्षित बस्नुहोस भन्न चाहन्छु। अहिले लकडाउन छ त्यसलाई पालना गर्नुहोस्।”

“कसैलाई कोरोनाभाइरसको सङ्क्रमण नहोस् भन्ने मेरो प्रार्थाना छ। तर भइहालेपनि डराउनुहुँदैन र अस्पताल गएर उपचार गराउनुपर्छ।” उनले थपे, “डराएर वा लुकाएर भाइरसको सङ्क्रमण फैलाउने र आफू अनि अरूलाई पनि जोखिममा पार्ने काम कतैबाट हुनुहुँदैन। हामी मानव भइसकेपछि अरूलाई पनि सम्झाउनुपर्छ र सबैलाई सुरक्षित बनाउनुपर्छ।” (बीबीसी नेपालीबाट)

प्रतिक्रिया दिनुहोस्