घर जान पाउँदा …



फिदिम, १६ वैशाख

पाँचथरको कुम्मायक–१ यासोकका टेकवीर लावती हिउँद भरी काठमाण्डौँमा ज्यामी काम गर्नुहुन्छ । बर्खा लागेपछि गाउँ फर्कनुहुन्छ, खेतीपाती गर्नुहुन्छ । छ जनाको परिवार पाल्ने लावतीको आधार यासोकको खेतीपाती र काठमाण्डौँको रोजगारी हो । चैत लाग्दै थियो, गाउँ जाने तयारी गर्दै हुनुहुन्थ्यो उहाँ ।

“चैत ९ गते साथीहरुले सुनाए– अब पूरै देश बन्द हुन्छ रे । गाउँ जाने तयारी गरौँ”, लावतीले सम्झनुभयो, “तर मालिकले चैत १२ गते स्यालरी (पारिश्रमिक) दिने वताए । हामी त विलखबन्दमा प¥यौ ।” चैत ११ गतेबाट लकडाउन सुरु भयो । उहाँ काठमाण्डौँमै अड्किनुभयो ।

“परिवार एकातिर छन्, आफू अर्कातिर छु । परिवार चलाउन जम्मा गरेको पैसाले महिना दिन खाएँ । भाग्यले आज घर जान पाएको छु”, आइतवार फिदिममा भेटिनुभएका लावतीले भन्नुभयो, “अझै कतिदिन क्वारेन्टाइनमा बस्नुपर्ने भन्छन् । पैसा नलिए त राम्रै हुन्थ्यो । पक्कै रोग सरेको छैन् होला ।”

पाँचथरका स्थानीय तहहरुले काठमाण्डौँमा अलपत्र परेका स्थानीयवासीलाई उद्धार गरी ल्याउने क्रममा लावतीले घर आउने अवसर पाउनुभएको हो ।

“काठमाण्डौँमा खोजेर यहाँसम्म ल्याउनुभयो । एक पैसो खर्च पनि भएको छैन्”, लावतीले स्थानीय तहका जनप्रतिनिधि र काठमाण्डौँमा उद्धार गर्ने ब्यक्तिहरुलाई धन्यवाद दिँदै भन्नुभयो, “परिवारसँग छुटेर कोठामा थुनिएर बस्नुपर्दा साह्रै दुःख भयो । आज घर आउन पाउँदा खुशी भएँ । अब त नानीहरु (छोरा छोरी)लाई यासोक (क्वारेन्टाइन)मै भएपनि देख्न पाउँछु ।”

काठमाण्डौँ उपत्यकामा अलपत्र परेका जिल्लावासीहरुलाई काठमाण्डौँमा सक्रिय पाँचथरवासीका सामाजिक संघ संस्थाको पहलमा जिल्ला ल्याइएको हो । उक्त कार्यमा यहाँबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ सहित पूर्व सांसद्हरु, प्रदेशसभा सदस्यहरु तथा स्थानीय तहले विशेष पहल गरेका हुन् ।

शुक्रवार र शनिवार मात्रै काठमाण्डौँ रहेका २९२ जना जिल्ला आइपुगेको सहायक प्रमुख जिल्ला अधिकारी निर्मल तुम्रोकले जानकारी दिनुभयो ।

यसरी आउनेमै पर्नुहुन्छ जिल्लाको मिक्लाजुङ गाउँपालिका वडा नं. ८ दुर्दिम्बाकी मञ्जु लिम्बू पनि । “घर आउने तयारीमै थियौँ । नानीको परीक्षा सकिँदै थियो । श्रीमानको विदा मिलेको थिएन्”, घर जाने क्रममा फिदिम आइपुग्नु भएकी लिम्बूले भन्नुभयो, “सानो नानीसँग रातारात हिँड्नुप¥यो । अझै घर पुग्ने टुङ्गो छैन् ।”

लकडाउन लागू गर्ने निर्णय समयमै नहुँदा काठमाण्डौँ तथा जिल्ला आउने क्रममा बाटोमा ठूलो सास्ती भोग्नुपरेको उहाँको अनुभव छ । “नानीसँग क्वारेन्टाइनमा छु । छिटो परीक्षण गरी होम क्वारेन्टाइनमा पठाइदिनु भए हुन्थ्यो”, लिम्बूले भन्नुभयो ।

काठमाण्डौँबाट घर फर्किनेहरुमा पीडा र खुशीको सम्मिश्रण भेटिन्छ । कोही साँच्चै समस्यामा परेर गाउँ फर्केका छन् त कोही आफन्त र छरछिमेकी गाउँ जाने भएपछि काठमाण्डौँमै बस्न सक्ने हुँदाहुँदै पनि घर फर्केका छन् ।

घर जाने क्रममा काठमाण्डौँबाट फिदिम आइपुग्नु भएका जिल्लाको मिक्लाजुङ–३ आरुबोटेका धनकुमार फियाकले भन्नुभयो, “रासन सकिएको थियो । प¥याप्त राहत पनि पाइएको थिएन् । धन्न घर आउने मौका पाएँ । निकै दुःख भएपनि गाउँ आउन पाउँदा बेग्लै आनन्द भयो ।”

कोभिड–१९ सङ्क्रमणको जोखिम न्यूनिकरणका लागि लकडाउन घोषणा भएको एक महिनापछि काठमाण्डौँ उपत्यकामा अलपत्र जिल्लावासीको उद्धार गरिएको हो । यसरी उद्धार गरिएकाहरुलाई जिल्लामा ल्याई यहाँ स्थित क्वारेन्टाइनमा राखिएको छ ।

“गाउँमा सङ्क्रमण फैलने त्रास हुने हुनाले सबैलाई क्वारेन्टाइनमा राख्ने प्रवन्ध गरेका हौँ । शीघ्र डाइग्नोष्टिक परीक्षण (आरडिटी) गरेपछि होम क्वारेन्टाइनमा बस्ने गरी घर फर्काउन स्थानीय तहहरुलाई आग्रह गरेका छौँ”, प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले भन्नुभयो । ग्रामीण क्षेत्रमा बढेको सङ्क्रमणको जोखिमलाई ध्यान दिन प्रशासनले सबै पक्षसँग आग्रह समेत गरेको छ ।

पाँचथर जस्तै छिमेकी ताप्लेजुङ घर भई काठमाण्डौँमा अलपत्र परेकाहरुको उद्धार गरी जिल्ला पठाउने कार्य सम्पन्न भएको छ ।

ताप्लेजुङ सरोकार केन्द्र काठमाण्डौँमा अध्यक्ष चित्रगुप्त साँवाका अनुसार काठमाण्डौँमा अलपत्र परेका ज्यालादारी गर्ने ब्यक्तिहरु तथा तिनका परिवार, विद्यार्थी, वैदेशिक रोजगारीको शिलशिलामा काठमाण्डौँमा अड्केकाहरुलाई उद्धार गरी जिल्ला ल्याइएको हो । उनीहरुलाई शीघ्र डाइग्नोष्टिक परीक्षणपछि होम क्वारेन्टाइनमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्