काठमाण्डौँबाट उद्धार गरिएकाहरुको ब्यवस्थापनमा समस्या



फिदिम स्थित फिदिम माध्यमिक विद्यालयको भवन तथा अगुवा स्रोत केन्द्रमा रहेको क्वारेन्टाइन ।

फिदिम, १६ वैशाख

लकडाउनका कारण काठमाण्डौँमा अलपत्र पाँचथरका सर्वसाधारणलाई गाउँ फर्काइएपछि उनीहरुको ब्यवस्थापन कार्य चुनौतिपूर्ण बनेको छ ।

शुक्रवार र शनिवार गरी काठमाण्डौँमा रहेका २९२ जनालाई जिल्लामा ल्याइपु¥याइएको छ । स्थानीय तहको अनुमतिमा सवारी भाडामा लिई अलपत्र परेकाहरुलाई जिल्लामा ल्याइएको हो । उनीहरु सबैलाई क्वारेन्टाइनमा राखी शीघ्र डाइग्नोष्टिक परीक्षणपछि होम क्वारेन्टाइनमा पठाउने सरकारी तयारी छ ।

तर उनीहरुको ब्यवस्थापनमा समस्या परेको छ । शनिवार साँझसम्म जिल्लामा रहेका क्वारेन्टाइनमा २३३ वटा वेड थिए । तर शनिवार मध्यरातसम्ममा क्वारेन्टाइनमा बस्नेको संख्या ३९९ थियो । सिट संख्याभन्दा क्वारेन्टाइनमा बस्नेको संख्या बढी भएपछि एकापसमा चिनजानका एक बेडमा दुई ब्यक्तिसम्मलाई सुत्ने प्रवन्ध गरिएको थियो ।

आइतवारबाट सरकारी कार्यालय, विद्यालय तथा स्वास्थ्य संस्थाहरुमा क्वारेन्टाइन थप्ने कार्य अघि बढाइएको थियो । काठमाण्डौँबाट ल्याई सदरमुकाम केन्द्रीत गरिएका ब्यक्तिहरुलाई आइतवारदेखि गाउँपालिकातर्फ पठाउन थालिएको छ ।

तर स्थानीय तहहरुले समेत सहजै ठूलो संख्यामा ब्यक्तिहरुको ब्यवस्थापन गर्न नसकिने वताएका छन् । यस क्रममा निकै असहज हुनेगरी एकै कोठामा धेरै वटासम्म वेड राखेर क्वारेन्टाइन निर्माण गरिएका छन् । सदरमुकाम फिदिमकै क्वारेन्टाइन निकै साँघुरा र सङ्क्रमणको जोखिमका दृष्टिले चुनौतिपूर्ण छन् ।

क्वारेन्टाइनहरुमा सामग्रीको समेत अभाव छ । फाल्गुनन्द गाउँपालिका–३ स्थित जलसिंह माध्यमिक विद्यालयमा फाल्गुनन्दका ५२ जना र फिदिम नगरपालिकाका ५६ जनालाई क्वारेन्टाइनमा राखिएको छ । चिसो ठाउँ भएका कारण क्वारेन्टाइनमा बस्नेहरुलाई न्यानो कपडा समेत उपलब्ध गराउन नसकिएको फाल्गुनन्द गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल तित्रखीको भनाई छ ।

“रेडक्रसबाट प्राप्त भएका तथा खरिद गर्न भेटेसम्म कम्मल खरिद ग¥र्यौँ”, तिखत्रीले भन्नुभयो, “चिसो ठाउँ भएकाले क्वारेन्टाइनमा बस्नेहरुलाई समस्या छ ।” क्वारेन्टाइनमा बस्नेहरुलाई खाने र बस्नेको उचित प्रवन्ध गर्न कठिनाई परेको तिखत्रीको भनाई छ ।

काठमाण्डौँबाट ल्याइएकाहरुको शीघ्र डाइग्नोष्टिक परीक्षण गरी होम क्वारेन्टाइनमा बस्न आग्रह गरी घर पठाउने तयारी गरिएको जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विणुप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

“केही दिनमै किटको प्रवन्ध गरी शीघ्र परीक्षण सुरु हुन्छ”, सापकोटाले भन्नुभयो, “सबैलाई क्वारेन्टाइनमा राख्दा ब्यवस्थापनमा कठिनाई तथा ठूलो आर्थिक भार पर्ने रहेछ ।” घर पठाइएपछि उनीहरु सबैलाई होम क्वारेन्टाइनमा बसाइने तथा महिला स्वास्थ्य स्वयम्सेविकाबाट नियमित निगरानी राख्ने प्रयत्न गरिने सापकोटाले वताउनुभयो ।

जिल्ला बाहिर रहेका मानिसहरु जिल्ला भित्रने क्रम निरन्तर रहे सङ्क्रमणको जोखिम बढ्ने भएकाले यथास्थानमा राख्न आग्रह गरिँदै आएको प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले वताउनुभयो । “सङ्क्रमण फैलिएका जिल्लाबाट समेत पाँचथर आउन पाउनु प¥यो भन्ने माग आएका छन्”, प्रजिअ शर्माले भन्नुभयो, “अव कसैलाई पनि जिल्ला नपठाउन प्रदेश सरकारलाई लिखित आग्रह गरेका छौँ ।”

विगतमा छिमेकी जिल्ला झापाबाट आएकाहरुलाई समेत क्वारेन्टाइनमा राखिएको थियो । तर अहिले काठमाण्डौँबाट आउनेलाई समेत क्वारेन्टाइनमा राख्न नसक्ने स्थिति आउनु चिन्ताको विषय भएको प्रजिअ शर्माको भनाई छ ।

गाउँ सुरक्षित छ भन्ने भ्रममा अन्य जिल्ला तथा ठूला शहरहरुमा लामो समय रहन सक्ने सक्षम आर्थिक अवस्थाका मानिसहरु समेत गाउँ फर्कन थालेपछि स्थानीय स्तरमा समस्या आएको हो ।

प्रतिक्रिया दिनुहोस्