सीमामा महिना दिनदेखि रोकिए नेपाली, देश छिर्न पाउने टुङ्गो छैन



फिदिम । कोरोनाभाइरस सङ्क्रमण नियन्त्रणका लागि गरिएको लकडाउनका कारण सीमाको भारतीय क्वारेन्टाइनमा रहेका नेपालीलाई तत्काल नेपाल ल्याउन सम्भव नभएको गृह मन्त्रालयले जनाएको छ ।

पूर्वदेखि पश्चिमसम्म दुई हजारभन्दा बढी नेपालीहरू भारतका क्वारन्टीनस्थलमा एक महिनादेखि रहँदै आएका छन् । क्वारेन्टाइनमा रहनुपर्ने म्याद सकिए पनि दुई देशबीचको समझदारीमा मात्र उनीहरुलाई नेपाल ल्याउन सकिने गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले वताउनुभयो । सीमाका क्वारेन्टाइनमा रहेका नेपालीहरूले भने आफूसँग भएका पैसा सकिँदै गएको बताएका छन् ।

कति छन् सीमामा नेपाली ?

जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार दार्चुला तथा बैतडी क्षेत्रमा मात्र करिब १,३०० नेपाली छन् । उनीहरू एक महिनादेखि त्यहाँ बस्दै आएका छन् ।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरका अनुसार भारतीय सीमामा रहेका नेपालीलाई ल्याउन पहल गर्दा भारतीय पक्षले एक साता समय मागेको छ । “हामीले छलफल गर्दा एक सातापछि मात्र नेपालीलाई ल्याउने र भारतीयलाई पठाउने कुरा भएको छ” कुँवरले भन्नुभयो ।

गृह मन्त्रालय स्रोतलाई उल्लेख गरेर कान्तिपुर दैनिकले पूर्वदेखि पश्चिमसम्म सीमावर्ती क्षेत्रका भारतीय क्वारन्टीनमा २,३१८ नेपाली रहेका बताएको छ ।

‘ल्याएर कहाँ राख्नु ?’

भारतीय सीमामा रहेका नेपालीहरूलाई नेपाल ल्याउनुअघि उनीहरूलाई राख्ने स्थान बनाइनुपर्ने गृह मन्त्रालयको तर्क छ । उनीहरूलाई नेपाल ल्याइए क्वारेन्टाइनमै राख्ने व्यवस्था मिलाउनुपर्ने प्रवक्ता शर्माले वताउनुभयो ।

“सीमामा कति छन् भन्ने तथ्याङ्क जिल्ला प्रशासन कार्यालयहरूसँग छ । तर उनीहरूलाई ल्याएर राख्ने ठाउँ पनि चाहियो” शर्माले भन्नुभयो ।

तर पश्चिमका सीमावर्ती क्षेत्रबाट महाकाली नदी पौडेर साढे दुई सयभन्दा बढी नेपालीहरू नेपाल आएका विवरणहरू आएका छन् । त्यसरी आएकाहरूलाई सम्बन्धित स्थानीय तहलाई जिम्मा लगाइएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

‘बेखर्ची भयौँ’

पूर्वी सीमा काँकरभिट्टासँग जोडिएको भारतको पानीटेंकी नाकामा ८७ जना नेपाली रहेको क्वारेन्टाइनमा बसिरहेका कालीकोटका सन्तोष बम ठकुरीले वताउनुभयो । त्यहाँ कालीकोट, दैलेख, सुर्खेत र बाजुरा जिल्लाका नेपालीहरू रहेको ठकुरीले वताउनुभयो ।

“हामी यहाँ बसेको एक महिना भइसक्यो । पैसा पनि सकियो । हामीसँग भारतीय पक्षले जाँदा हुन्छ भन्छ, तर नेपालले लगेको छैन” ठकुरीले भन्नुभयो ।

रक्सौल नाकामा १९ जना नेपाली रहेको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताउनुभयो । झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले गृह मन्त्रालयबाट कुनै आदेश नआएकाले सीमामा रहेका नेपालीहरू ल्याउन पहल शुरू नभएको वताउनुभयो । (बीबीसी नेपालीबाट साभार)

प्रतिक्रिया दिनुहोस्