विश्वभरि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या दुई लाख नाघ्यो, २८ लाख सङ्क्रमित



फिदिम । विश्वभरि कोरोनाभाइरसबाट मृत्यु हुने मानिसहरूको संख्या दुई लाख नाघेको अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । विश्वभरि सङ्क्रमण पुष्टि भएका व्यक्तिहरूको संख्या २८ लाखभन्दा बढी रहेको उसको तथ्याङ्कमा उल्लेख छ ।

संयुक्त राज्य अमेरिकामा कोरोनाभाइरसबाट मृत्यु हुने व्यक्तिहरूको संख्या ५० हजार नाघेपछि विश्वभरिको पछिल्लो विवरण आएको हो । अमेरिकामा कोरोनाभाइरसले विश्वका अरू मुलुकमा भन्दा धेरैको ज्यान लिएको छ ।

चिनियाँ सरकारकी सञ्चारमाध्यमका अनुसार देशमा कोरोनाभाइरससँग सम्बन्धित पहिलो मृत्यु ज्यानुअरी ११ तारिखमा भएको थियो । त्यसयता २१० भन्दा बढी देश तथा भूभागमा कोरोनाभाइरससँग सम्बन्धित मृत्युका घटना भएका छन् ।

पाँचवटा देशले कोरोनाभाइरसका कारण अहिलेसम्म आ–आफ्नो देशमा २० हजारभन्दा बढी व्यक्तिहरूको ज्यान गएको जनाएका छन् । संयुक्त राज्य अमेरिका, इटली र स्पेनमा सबैभन्दा बढी मृत्युका घटना देखिएका छन् ।

ब्रिटेनको स्वास्थ्य मन्त्रालयले शनिवार घोषणा गरे अनुसार त्यहाँका अस्पतालहरूमा कोरोनाभाइरसबाट मृत्यु हुनेहरूको संख्या २० हजारभन्दा बढी छ । गृहमन्त्री प्रिती पटेलले त्यो संख्यालाई “दुःखद र नराम्रो कोसेढुङ्गा” को सङ्ज्ञा दिएकी छन् ।

यूकेको दैनिक तथ्याङ्कमा घर र स्याहार केन्द्रमा हुने मृत्युका घटनालाई नसमेट्ने भएकोले कोरोनाभाइरसबाट मृत्यु हुने व्यक्तिहरूको संख्या बढी हुने निश्चितप्रायः छ । स्याहार केन्द्रमा हुने मृत्युलाई पनि समेट्ने गरेको फ्रान्सले शनिवार मृतकको संख्या ३६९ ले बढेको बताए । उनले भने “केही गल्ती नगरौँः हामीले अगाडिको धेरै लामो बाटो तय गर्नुछ । भाइरस हामीहरूसँग लामो समयसम्म रहनेछ ।”

पछिल्ला विकासक्रममाः

– विश्व स्वास्थ्य सङ्गठनका अनुसार निको भइसकेका व्यक्तिहरूलाई पुनः सङ्क्रमित हुनबाट बचाउन नसकिने हुन सक्छ ।

– न्यूयोर्कका गभर्नरले स्वतन्त्र फार्मेसीहरूलाई कोभिड–१९ को परीक्षण गर्ने जिम्मा दिने बताएका छन् । न्यूयोर्कमा १६ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

– तस्वीरमार्फत गरिने यौन दुब्र्यवहारका घटनालाई हेर्ने ब्रिटेनको रिभेन्ज पोर्न हेल्पलाइनका अनुसार लकडाउनका बेला उजुरी गर्ने व्यक्तिहरूको संख्यामा वृद्धि भएको छ ।

– बेलारुसस्थित एउटा अनाथालयले अपाङ्गता भएका १३ बालबालिका र १० जना कर्मचारीमा कोरोनाभाइरस सङ्क्रमण देखिएपछि सहयोगका लागि सरकारलाई अपील गरेको छ ।

– यसै हप्ताको शुरूतिर डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले अफ्रिका, पूर्वी युरोप, मध्य अमेरिका र दक्षिण अमेरिकामा कोभिड–१९ बढ्ने क्रममा रहेको भन्दै चेतावनी दिएका थिए ।

– पश्चिम युरोपका धेरैजसो ठाउँमा सङ्क्रमण स्थिर हुन वा घट्न लागेको देखिएको पनि केही देशमा यो बल्ल शुरू हुने अवस्थामा रहेको उनले बताएका थिए । (बीबीसी नेपालीबाट साभार)

प्रतिक्रिया दिनुहोस्